Ticker

6/recent/ticker-posts

प्रचारमुखी मात्र होइन, विवादित छन् भट्टराई

काठमाडौं । पार्टी घोषणाको जतिसुकै तडक भडक गरे पनि, ठूलो संख्यामा कार्यकर्ताको सहभागिता भए पछि नयाँ शक्ति पार्टीलाई राजनीतिक विश्लेषकहरुले नजिकबाट नियाली रहेका छन् । उच्च मध्यम वर्गीय, एलिट र पेशागत परिचय कमाएका व्यक्तिहरुको निकै ठूलो आकषर्ण भए पनि जनयुद्धबाट आएको रुपान्तरित पार्टी तत्कालीन एमाओवादीको दोस्रो वरियताका नेता डा। भट्टराईले किन पार्टी छोडे भन्ने कुरा पार्टीको औपचारिक घोषणा हुन अघिसम्म रहस्यको रुपमा लिइएको थियो ।

नेपाली जनताका प्रतिनिधिमूलक प्रमुख दलहरुले विभिन्न राजनीतिक विमति हुँदा हुँदै पनि आफ्नै बलबुतोमा संविधान जारी गरेको साता नपुग्दै पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले दल त्यागको घोषणा गरेका थिए । कतिपयले भारतसँगको निकट सम्बन्धका कारण भारतकै ईशारामा तत्कालीन एमाओवादीबाट भट्टराई बाहिरिएको भनिरहेका बेला भारतले लगाएको नाकाबन्दीले शंकालुहरुलाई पुष्टि गर्न थप बल पुगेको हो ।

तत्कालीन एमाओवादीको तर्फबाट आजसम्म अध्यक्ष प्रचण्ड र भट्टराई मात्रै मूलुकको सर्वाधिक शक्तिशाली कार्यकारी पद प्रधानमन्त्री बन्ने अवसर पाएका नेता हुन् । भट्टराईले अहिले सोही पूर्व प्रधानमन्त्रीको पदीय आकर्षणलाई भरपूर उपभोग गरिरहेका छन् । शुरुमा माओवादीमै रहेका राजनीतिक विश्लेषक भनिने मुमाराम खनाल संविधान निर्माण अघिसम्म अध्यक्ष प्रचण्डको चर्कोे विरोधीको रुपमा देखिएका थिए । तर, उनीसमेत नयाँ शक्तिमा प्रवेश गरेपछि विरोधको रहस्य केही हदसम्म खुलेको हो ।

भट्टराईले पार्टी फुटाउन चाहे पनि संसदमा आफ्नो पार्टीको एक तीहाई सदस्य जुटाउन नसक्दा नयाँ पार्टी खोल्नुपरेको अर्को तर्क वाम विश्लेषकहरुको छ ।  उनका निकट भनिएका टोपबहादुर रायमाझीदेखि प्रभु शाहसमेतले उनलाई साथ नदिएपछि चलचित्रकर्मी, एनजीओकर्मी, पूर्वकर्मचारी, खेलाडी, व्यापारी तथा सामाजिक सञ्जालको साथ लिएर यो भीड जम्मा गर्न उनी सफल भएका हुन् । स्मरण रहोस्, तत्कालीन एमाओवादीका तर्फबाट सभासद् बनेकाहरुमध्ये एक जना पनि भट्टराई नेतृत्वको नयाँ शक्तिमा हाम फालेनन् ।

कतिपयले नयाँ शक्तिले के नाप्छ भनेर पूर्वाग्रह गरिरहेका बेला मिडियाबाजी गर्न माहिर, बौद्विक तप्काका स्वनामधन्य भट्टराईको भविष्य खासै खराब नभएको नेपालको चुनावी पद्धतिले स्पष्ट पार्दछ । १८ महिनापछि हुने संसदीय चुनावमा ढ्वाङ थाप्ने भट्टराईको पार्टीले प्रत्यक्षमा कति सीट ल्याउछ भन्ने कुरा चानचुने विश्लेषणले पुग्दैन । तर यो निश्चित पनि छ कि समानुपातिक तर्फ भने यिनले प्रस्तावित ७ वटै प्रदेशबाट कमल थापाकै हाराहारीमा मत प्राप्त गर्न सक्छन् भनेर भविष्यवाणी गर्नेहरुको पनि पल्लाभारी भेटिएको छ ।

Post a Comment

0 Comments