Ticker

6/recent/ticker-posts

मौसम समेत ‘बेइमान’ छ यहाँ



 "झम झम पानी पर्‍यो असारको रात
बारीबाट बज्न थाल्यो मकैको पात ... "


यो गीति अंश पत्रकार कृष्ण मल्लले हिजो सम्झेपछि मलाई केही थप्न मन लाग्यो । विषय विवेचना गम्भीर दृष्टिकोण राख्नु हुने मल्लसँग आत्मीय सम्बन्ध छ मेरो । त्यस्तो त वेमौसमी वादलहरुले लक्ष्य, कर्तव्य र सिद्धान्त ढाकिने वर्तमानमा गीत सम्झे पनि स्रष्टा सम्झने चलन छैन । मौसम समेत बेइमान छ यहाँ । पानी चाहिँदा, ‘अनावृष्टि’ हुन्छ । पानी नचाहिँदा ‘अतिवृष्टि’ देखापर्छ ।

यही परिवेशमा माष्टर रत्नदास प्रकाशका यीनै गीत हरफहरु सम्झदा के नमिलेको, कता के भए जस्तो लागिरहेछ अचेल । असारको वर्षामा मकैका पात बजेको कहाँ सुनिन्छ र ?! कतै कर्कट पाताका कर्कश आवाजहरु, कतै फाइवरका फोस्रा बजाइहरु नै सुनिन्छ । मकैले ढाकिने जमिन अहिले सिमेण्टको जंगल बनेको छ ।

‘गीत’ शाब्दिक सत्य हो र ‘स्वर’ शाश्वत माधुर्य हो । यस दृष्टिमा रत्नदास प्रकाश जीवन्त हुनुहुन्छ । स्वर तन्काउने न प्रविधि थियो हिजो । न त मादल विर्सेर ‘सेक्सोफोन’ नै खोज्न सकिन्थ्यो । सत्कर्म र समर्पणले स्टूडियो छिर्नासाथ ‘मूच्र्छना’ देखाउनैपथ्र्यो । सांगीतिक इतिहासका ती साक्ष्य–पुरुषसँग मैले धेरैपटक अन्तर्वार्ता लिने र उहाँका बारेमा लेख्ने अवसर पाएको थिएँ ।

‘स्वर– किन्नर’ माष्टर रत्नदास प्रकाश भन्नुहुन्थ्योः ‘हामीले त बाटो मात्रै कोरेका हौं । भोलि गीत–संगीत सुललित यात्रामा छाडेर विसंगत बाटोतिर दौडियो भने नेपाली गीत–संगीतको भविष्य गर्व गर्न लायक नरहन सक्छ ।’ उहाँ लोक गीत–संगीतको चिन्तामा धेरै कुरा गर्नुहुन्थ्यो । आधुनिक सांगीतिक माहोलबारे चिन्तन गर्नुहुन्थ्यो । लिनु केही थिएन उहाँलाई । अनि दिँदादिँदै उहाँ जानुभयो ।

शायद धेरै कमले चिन्छन् उहाँलाई । हुन त पछिल्लो अवस्थामा आएर भीम तुलाधर, हरिश माथेमा, सुनिल उप्रेती जस्ता ‘वाहवाही’ पाएका युवा सर्जकहरु गुमनाम प्रायः भइसकेका छन् । जी.पी. ¥याप र जगदीश समालका गजल नै थन्किसकेको यस अवस्थामा रत्नदासको ‘प्रकाश’ खोज्ने फुर्सद कसलाई होला र ? यहाँ स्रष्टा खोज्न कि उसको दरसन्तानले ‘प्रतिष्ठान’ खोल्नुपर्छ नभए कही कतैबाट मनग्गे पैसा जुटाइदिएको ‘फाउण्डेसन’ चाहिन्छ । अलि अलि पार्टीको झण्डा समाएका स्रष्टाहरु भए उनीहरुले मात्रै ‘मरणोपरान्त’ ठूला पदक पाउन सक्छन् । राज्यले कला, साहित्य र संगीत साधकका लागि खोलेका छ केही संस्था र प्रतिष्ठान । त्यहाँ कोही कसैको योगदान र मूल्यांकनको दस्तावेज छैन । पिछलग्गु र आसेपासेहरुको ‘वही–खाता’ स्वरुपमा ‘कोश’ बनाइएका छन् ।

जे होस् मल्लजीले गीत सम्झनुभयो । हामीले ‘स्रष्टा’ सम्झियौं । मन मस्तिष्कमा सम्झन योग्य कामहरु गरेपछि कोही कसैले अवश्य सम्झन्छ । जीवन भन्नु विगतको स्मरण र वर्तमानको भोगाइभन्दा पृथक् अरु केही रहेनछ । भोलिको पत्तो त कसलाई कसरी हुन्छ र ?!

 वसन्तप्रकाश उपाध्याय,  साभार: फेसबुक

Post a Comment

0 Comments