Ticker

6/recent/ticker-posts

पोल्याण्डले जर्मनीलाई बराबरीमा रोक्यो

काठमाडौं । जारी युरो कप २०१६ मा पोल्याण्डले विश्व विजेता जर्मनीलाई गोलरहित बराबरीमा रोकेको छ ।
गएराति फ्रान्सको सेन्ट डेनिसमा भएको समूह सी अन्तर्गतको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । युरोकपको यस संस्करणमा गोलसहित बराबरी भएको यो पहिलो हो । समूह सीमा रहेका दुबै टोलीको समान चार अंक भएको छ भने समूह चरणको अन्तिम खेल खेल्न बांकी रहेको अवस्थामा दुबै टिम नकआउट चरण नजिक छ । खेलमा पोल्याण्डका स्ट्राइकर मिलिकले गोल गर्ने निकै राम्रो मौका खेल फाले ।

जर्मनीका मारियो गोट्जे र ओजिलको गोल गर्ने प्रयासलाई पोल्याण्डका किपरले असफल पारे । पोल्याण्ड र जर्मनीको गोलरहित बराबरीले अंकविहीन रहेको युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ । हिजै भएको अर्को खेलमा युक्रेनलाई नर्दन आयरल्याण्डले २–० गोलअन्तरले पराजित गरेको छ ।

नर्दन आयरल्याण्डका ग्यारेथ म्याकुलेले खेलको ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको इन्ज्युरी टाइममा नाइल म्यागिनले गोल गर्दै २–० को जित दिलाएका हुन् । युरो कपमा पहिलो जितसंगै नर्दन आयरल्याण्डले ३ अंक जोडेर अन्तिम १६ मा पर्ने सम्भावना कायम राखेको छ । यसैगरी हिजो सांझ इङ्ल्याण्ड र वेल्सवीचको खेलमा इंग्ल्याण्डले वेल्सलाई हराएको छ ।

डेनियल स्टुरेजले इन्जुरी समयमा गरेको गोलको मद्दतमा इंग्ल्याण्डले युरो कपको आफ्नो दोश्रो खेलमा वेल्सलाई हराएको हो । वेल्सलाई २–१ ले हराएको इंग्ल्याण्डले युरो कपको नक आउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ । लिभरपुलका स्ट्राइकर स्टुरेजले डी बक्समा डेली अलीबाट पाएको पासलाई बांया खुट्टाले प्रहार गर्दै गोल गरेका हुन् ।

यसअघि वेल्सका लागि ग्यारेथ बेलले ४२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको भए पनि त्यसलाई जोगाउन नसक्दा उ पराजित भयो । ५६ औं मिनेटमा जेमी भर्डीले इंग्ल्याण्डका लागि गोल गरे । उनले पोष्टको नजिकैबाट गरेको दाहिने प्रहार गोलमा परिणत भएको थियो । भर्डी इंग्ल्याण्डका लागि गोल गर्ने प्रिमियर लिग विजेता लिसेष्टर सिटीको पहिलो खेलाडी हुन् ।

Post a Comment

0 Comments