Ticker

6/recent/ticker-posts

इटालीले स्पेनलाई पन्छ्याउँदा आइसल्याण्डसामु इंग्ल्याण्ड निरिह

युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पुरा
काठमाडौं । जारी युरोकप फुटबलमा इटली र आइसल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति अन्तिम १६ को खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई २–० ले हराएर इटालीले अन्तिम ८ मा स्थान बनाएको हो । यसअघिको लगातार दुई पटकको विजेता स्पेनलाई हराउन इटालीका जर्जियो चिलिनी र ग्रासियानो पेलेले एक एक गोल गरे ।

 ३३ औं मिनेटमा चिलीनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० पछि परेको स्पेनले खेलमा फर्किने प्रयास गरेको थियो । इन्जुरी समयमा पेलेले गोल गर्दै इटालीलाई २–० को जित दिलाए । स्पेनका गोलरक्षक डेविड डी हेयाले राम्रो बचाउ गरेपछि टिमले गोल गर्न नसक्दा हारबाट जोगाउन सकेनन् । स्पेनका सर्जियो रामोसले हेडमार्फत प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

यस्तै आन्द्रे इनिएस्टा र जेराड पिकेको प्रहार इटालीका गोलरक्षक जियानलुइजी बुफोनले रोके । इटालीले दोस्रो गोल गर्नु अघि बुफोनले पिकेको पोस्ट प्रहारको बल डाइभ हानेर बचाउ गरेका हुन् । इटलीले अब क्वार्टरफाइनलमा विश्व विजेता जर्मनीसंग खेल्नेछ ।


अर्को खेलमा पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड इंग्ल्याण्डलाई हराउंदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको छ ।  आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । पछाडि परेको स्थितिलाई उल्टाउंदै आइसल्याण्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छ्रैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो ।

कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए । क्वाटरफाइनलमा आइसल्याण्डले फ्रान्ससंग प्रतिष्पर्धा गर्नेछ । यो खेलसंगै युरोकपको क्वार्टरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

Post a Comment

0 Comments