Ticker

6/recent/ticker-posts

फास्ट ट्रयाक


–वसन्तप्रकाश
'बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न ।' यात्राक्रममा यो सन्देश जोकोहीले पढेको, देखेको र सुनेको हुनुपर्छ। सामान्य अर्थले यो सन्देश सवारी साधनको गतिसँग जोडिएको छ । तर, गम्भीर भएर हेर्दा यो सवारीमा सवारहरूसँगै सांसारिक मति र प्रवृत्तिमा देखिने विडम्बनासँग गएर जोडिन पुग्छ।

अनियन्त्रित गतिमा चल्ने सवारी साधनहरू जसरी ठोकिन्छन्, उसैगरी असीमित अपेक्षा र महत्वाकांक्षाको हतारोले मान्छेलाई दुर्घटित बनाएरै छाडेको पाइन्छ । महत्वाकांक्षा पूरा गर्ने हतारोले जन्मिएका र जन्माइएका विसंगत उदाहरणको फेहरिस्त किन बनाउनु यतिखेर ? जेजे आउँछन् लेख्दै जाऊँ र भोगाइका पाटाहरूलाई केलाउँदै जाऊँजस्तो लाग्यो ।

हतारलाई जहीँतहीँ बदलिँदो जीवनशैलीको एउटा गतिलो निहुँ बनाइन्छ अचेल । निष्काम–बेकाम घरबाट निस्केका मान्छे पनि भेटमा बेफुर्सदको ढोँङले हतार गर्छन् । यात्राको गन्तव्य र अभीष्टबीच लाग्ने समयको पत्तो भएका बटुवाहरू हिँडाइमा दौडको हतारो देखाउँछन् । सवारी गुडाउनेहरू सडक संरचनाको खुल्लापनभन्दा बेतोड गतिमा हिँड्न र कर्कश हर्न थिचाइकै हतारोमा देखिन्छन् । बाटोमा देखिने र भेटिने मात्रै होइन, थुप्रै प्रसंग र सन्दर्भ छन् हतारोका । हतारोको कारण जे होस्, त्यसले सबैलाई गाँजेको छ । हतारोले कसैलाई कुनै अजर, अमर र अजम्बरी प्राप्ति देओस् या नदेओस्, सबैलाई छिट्टै पुग्नु छ । चाँडो पाउनु छ । अनि अरुलाई उछिन्नु नै छ । यसरी यो जगका सबै हतारमा छन् ।

मैले यस्ता धेरै मान्छे देखेको छु, थुप्रै यस्ता प्रवृत्ति भेटेको छु । स्वीकार्नै नसकिने त्यस्ता सत्य आत्मसात गरेको छु । जसले आफ्नो गति र मति बुझेको भए, ती त्यत्तिकै पलायन हुँदैनथे । नाम चल्ने लोभको हतारोले अर्काको कविता चोर्ने कवि, पैसा कमाउने हतारोले राजस्व छल्ने व्यापारी, मन्त्री बन्न पार्टी फुटाउने नेता, उच्चांक ल्याउन चिट चोर्ने विद्यार्थी, मनग्य खेती उमार्न माटोको उर्वरता मार्ने रासायनिक विषादी प्रयोगकर्ता किसान, फुटबलमा गोल गर्नुभन्दा म्याच फिक्सिङ गर्ने खेलाडी, कति छन् कति यस्ता... ! भो, अर्काको भन्दा आफ्नै कुराबाट प्रसंग अघि बढाऊँ, यसो गर्दा अलिक न्यायिक र वस्तुनिष्ठ होला विवेचना ।

मेरो छोरो पूरा ९ महिना श्रीमतीको गर्भमा बस्यो । उसलाई हामीले हतारमा प्रसूति गराउन परेन । छोरीलाई चाहिँ समयभन्दा पहिले 'नर्मल–डेलिभरी' छाडेर 'सिजरिङ'को फास्ट–ट्र्याक समाउनुप¥यो । यो हतार हामीले हाम्रा कारणले देखाएका थिएनौँ । डाक्टरहरू बारम्बार गर्भको अवस्थामा 'डर' देखाएर, हामीलाई 'अप्रेसन'मै समस्या समाधान देखाउँथे । डाक्टर र अस्पतालका प्रशासन नै जानून् त्यो 'प्रेस्किप्सन' विज्ञानको अपरिहार्य मिसन थियो कि ? स्वार्थमिश्रित कमिसनको चक्करमा लेखिएको थियो ? हामीमा भय–आतंकबीच बच्चाको सहज र स्वस्थ्य अवतरणको खोजी थियो । हामीले स्वीका¥यौँ र छोरी समयभन्दा अगावै जन्मिइन् । यस्ता 'फास्ट –ट्र्याक' शैली र सोच, विज्ञान र प्रविधि तथा फाइदा–बेफाइदाका अनेकौँ आयाम होलान्... ! तर, परेपछि स्वीकार्नैपर्ने र आफ्ना बुद्धि, क्षमता र अपेक्षाभन्दा परको कुरामा बाध्यतबस स्वीकारोक्ति जनाउनैपर्ने मान्छे यहाँ थुप्रै छन् । मान्छेका कमजोर मनोदशा, विचलित मानसिकता र अपरिहार्य आवश्यकताका 'हतार– बुझाइ'मा स्वार्थसिद्धि गर्ने 'दलाल'हरू यतिखेर मेरो मस्तिष्कभरि घुमिरहेका छन् । नागरिकता, लाइसेन्स र पासपोर्ट छिटो बनाउन चोर बाटोे सिकाउनेहरूदेखि आस्थाको मन्दिरमा धाउने भक्तजनलाई छाडेर 'नगदनारायण' लिई लाइन मिचेर भगवानको दर्शन गराउने धुर्त पूजारी सम्झन्छु यतिखेर ।

पत्रकारिता गर्छु म । पहिले पत्रकारिताले निर्वाह गर्नुपर्ने धर्म र मर्मबारे धेरै कुरा हुन्थ्ये र सुनिन्थे । क्रमशः समाचार–सूत्रपछि पाँच 'डब्लु' र एउटा 'एच' परिभाषित गरियो र भयो । को–के, कहाँ–कहिले, किन...र कसरी भयो ? घटनादेखि परिघटनामा तथ्य तथ्यांकसहितको अनुसन्धान र पुष्ट्याइँ खोजिन्थ्यो पहिले । यसैकारण हुनुपर्छः पीत–पत्रकारिताका प्रसंग त्यतिविघ्न प्रचारित र प्रतिविम्बित थिएन एकताका । विज्ञान–प्रविधिसँगै

छापिने पत्रकारिता बोलिने र देखिने हुँदै जुन 'फास्ट–ट्र्याक'मा विकसित भयो, त्यसपछि ब्रेकिङ–न्युजको लोभ र हतारमा हामीले धर्म–कर्म र मर्म भुल्यौँ । नाम बताउन नचाहने 'स्रोत'ले समाचार बताउन थालेपछि हाम्रा कलम सतही बने । दुर्घटित र विरोधाभाषी खबरहरूले हाम्रो 'बाइलाइन' विवादस्पद भए–बनाइए ।

हो, सुतेर बस्दा समाचार छुट्न सक्छ । आँखा, नाक, कान र घाँटी सबै खुल्ला गरेर तेज गतिमा समाचार प्रकाशन र प्रसारण गर्न सके त्यसले छुट्टै चिनारी दिन्छ । पेट भोकै रहोस्, प्रशंसित हुन 'स्कुप' खोज्छ पत्रकारले । हिजोझँै माइक्रो चढेर हयात रिजेन्सी पुग्ने, राति साढे नौ बजे मिस नेपाल भएको देख्ने र फेरि हिँडेर आएर मध्यरातमा समाचार लेख्ने सोचको काम छैन अहिले । साइकल रफ्तारको पत्रकारिताले स्कुटर–दौडधूपलाई पछ्याउन सक्दै–सक्दैन ।

कार्यसम्पादनमा 'हतार गर्नुपर्छ, काममा चाँडो हुनु राम्रो कुरा हो । हतारसँग थोरै सावधानी अपेक्षित हुन्छ । बेफुर्सदमा भोक मार्न दुई मिनेटे चाउचाउका सयौँ संस्करणले ज्यानमा थोरै प्राण भर्छ । ५–७ घन्टा थकित–गलित हुँदै हिँडेर मनकामना पुग्नुभन्दा १३ मिनेटको केबुलकार प्रभावकारी ठहर्छ । हिजोका आवा –आकाशवाणी, ट्रंक–कलभन्दा अहिलेको इमेल र इन्टरनेटको 'फास्ट–स्पिड'ले सम्बन्ध सम्पर्क र साथलाई ताजा बनाइरहेकै छ । समयसापेक्ष गतिमा हिँड्नुमा कसैको किन विमति होला र ! हो, मान्छे भएपछि उसले मनन् गनैपर्छ युगीन बदलावका चेतनालाई । नुन लिन १०–१२ दिन हिँडेर ठोरी पुग्ने हाम्रा पितापूर्खाकालीन 'एकादेश...' सुनेर हुँदैहुँदैन । आयोडिनको उपलब्धतामा मात्रै गलगाँड निर्मूलको सम्भावना छ । यो बुझिएकै कुरा हो ।

यही कुरो बुझेर परिवर्तित परिवेशभित्रको प्राप्तिलाई आत्मसात गर्ने कैयौँ छन् । यही समाजमा समयसँग हिँड्ने घडी लगाउने पनि छन् । आफ्नो अनुकूलतामा रोकिने र दौडने 'स्टप वाच' बाँध्ने उत्तिकै छन् । पानी नछिर्ने भ्रमदेखि ससुरालीको दाइजोमा पाएका आयातित महँगा स्विस घडी लगाएर देखावटी समय पछ्याउनेको कमी छैन । केही छन् समयसँग हिँड्न नचाहेझैँ देखिने गरी घडी नबाँध्ने मानसिकताका मान्छे । यस्तैमा, हालै मैले पशुपति आर्यघाटको एउटा घटनाक्रम सम्झेँ । म एक मित्रको आफन्तको निधनमा त्यहाँ पुगेको थिएँ । मान्छे त्यहाँ शवलाई विद्युत्गृहमा 'दाह' गर्नु सान्दर्भिक हुने बताइरहेका थिए । मृतकका अर्धबैँसे छोराले चाहिँ आफ्नो बुवालाई परम्परागत तवरमा दाउराले जलाउने अडान देखाएर भन्दै थिए– 'म धर्म–संस्कृति, मान्यता र परम्परा मिचेर बुवालाई 'नर्क' पठाउन चाहन्न ।' उनको कुरो सुनेर म अचम्मको सोचमा परेँ । समयले सुविधा दिएरमात्रै हुँदो रहेनछ । सुविधा स्वीकार्ने र भोग्ने मानसिकता उत्तिकै समयसापेक्षित हुनुपर्दोरहेछ ।

छिटो पाक्छ ब्रोइलर कुखुराको मासु, अनि सस्तो पनि छ । स्वास्थ्यका लागि फाइदाजनक भएको बताइन्छ पनि । तर, खसी–स्वाद र परम्पराले गाँजिएपछि लाग्दो रहेछ के ? ज्यान गए भान्सामा पस्न दिइँदैन कुखुरालाई । कोलेस्टोरोल बढोस् बरु पुरातन जिब्रोले 'खसी' नै खोज्छ । लसुन–प्याज वर्जित समाजबाट गोलभेडा खाँदै फ्रिजमा बियर राख्नेसम्मको अवस्थालाई हामीले कति हतारमा स्वीका¥यौँ ? त्यसको लेखाजोखा के गर्नु ? स्वीकार्दै गएपछि क्रमशः स्वीकारिँदैछ घरभित्र वाइन र ह्विस्की पनि ! र, त्यसको सट्टा हतारमा हामीले सन्ततिलाई 'लागुपदार्थ'को कुलतमा नलाग्नमात्रै प्रेरित गरेका छौँ ।

केही कुरा समयले सिकाउँछ । केही हामीले नै सिक्नुपर्छ । हाम्रा पूर्खाहरूले घाँटीअनुसारको हाड निल्न त्यसै भनेका होइन रहेछन् । म यस्तै सोच्दैछु, समयले स्वीकारेको 'बेगवान–स्कोर्पियो' हुर्रिरहेको छ । गाडीभित्र 'पहाडे–पुत्र' म छु । 'हिमाली–भाइ' तेञ्जिङ छन् । चालक सिटमा 'परियार–दाइ' छन् । हामी चौधरी साथीको बिहेमा निजगढतिर लागेका छौँ । राजधानीबाट एक घन्टा नलाग्ने निजगढसम्मको स्वप्निल 'फास्ट ट्र्याकको कुरा गर्दागर्दै गाडी घ्याच्च रोकियो । आँखा अगाडि 'स्टप–लुक, एन्ड गो' लेखिएको बोर्ड ठडिएको थियो । हामी रोकियौँ । हामी रोकिनुसँगै पछाडि धेरै रोकिए । एक छिनअघि बेगवान कुदेको गाडीको इन्जिन नै रोके परियार दाइले र भने– 'जति कुदाउँदा पनि मुग्लिनको जाममा परिहालियो ।' झसंग भएँ म । अगाडि बोर्डमा लेखिएको सूचना पढ्दापढ्दै हतारले अगाडि बढ्ने आँट हामीमा भएन । आखिर रोकिनैपर्ने भएपछि मान्छे रोकिँदा रहेछन् । हेर्नैपर्ने भएपछि अवस्था हेरेर अगाडि बढ्दा रहेछन् । हो, कुनै हतारबाट प्रेरणा लिँदै, कहीँ हतारले दुर्घटित भएपछि चेत्दै अगाडि बढिरहेको हाम्रो यात्रा यतिखेर पर देखिएका ट्राफिकले बोलाउने इशारा नपाएर रोकिएको छ । जति हतार गरे पनि प्राप्ति कहाँ हाम्रो हातमा हुँदो रहेछ र ? साभारः नागरिक ।

Post a Comment

0 Comments