Ticker

6/recent/ticker-posts

नेपाली क्रिकेट खेलाडी अभ्यासमा व्यस्त

काठमाडौं । आइसीसी विश्व क्रिकेट च्याम्पियन लिगको चौथो चरणमा नेदरल्याण्ड्सविरुद्ध हुने खेलको लागि नेपालले बन्द प्रशिक्षण थालेको छ । यतिवेला नेपाली खेलाडीहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा व्यस्त छन् ।
नेपाली टिमका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटा अरू खेलाडीलाई अभ्यास गराउन व्यस्त छन् । बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट भएका छन् । नामिबियाविरुद्धको टोलीमा रहेका १८ र थप ६ जना गरी २४ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन प्रतिस्पर्धा गर्ने प्रशिक्षक टमाटाले भने, ‘नामिबियाविरुद्ध खेल्दा टीममा रहेका सबै खेलाडीलाई क्याम्पमा समावेश गरिएको छ । त्यसबेला टीममा नरहेका थप छ जनालाई हामीले क्लोज क्याम्पमा सहभागी हुने मौका दिएका छौं ।’

नेदरल्याण्ड्सविरुद्ध उसकै घरेलु मैदानमा खेल्नु पर्नेभएको हुँदा यसपटक फास्ट बलरहरूलाई प्राथमिकताका साथ क्याम्पमा बोलाइएको उनले बताए । विश्व क्रिकेट लिगको चौथो चरणमा नेपालले साउन २९ र ३१ गते नेदरल्याण्ड्सकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा रहेको टोली हो । १० अंक जोडेको नेदरल्याण्ड्सले ६ खेलमध्ये चारमा जित हात पारेको छ र दुई खेल रद्ध भएपछि अंक बाँडेको छ ।

८ मुलुक सहभागी भएको प्रतियोगितामा नेपाल ४ अंकसहित छैठौं स्थानमा छ । प्रतियोगिताको तेस्रो चरणमा किर्तिपुरमा नामिबियाविरूद्धका दुवै खेल जित्दै नेपालले चार अंक जोडेको हो । यसअघि स्कटल्याण्ड र पपुवान्युगिनीविरुद्धका सबै खेलमा नेपाल पराजित भएको थियो । प्रतियोगिताका शीर्ष चार टोलीले सन् २०१९ मा हुने एकदिवसीय क्रिकेट विश्वकप खेल्न पाउनेछन् । विश्वक्रिकेट परिषद (आइसिसि) ले क्यानको सदस्यता निलम्बन गरेपछि केहिदिन अघि सिइओ भावना घिमिरेलाई पत्र पठाएर खेलको तयारी थाल्न आइसिसिले निर्देशन दिएको थियो । आइसीसीको निर्देशनसँगै नेपाली खेलाडीले अभ्यास तीव्र पारेका हुन् ।

Post a Comment

0 Comments