Ticker

6/recent/ticker-posts

क्षमता छाडेर दाइभक्तिमा ‘जय नेपाल !’


 -वसन्तप्रकाश उपाध्याय

नेपाल विद्यार्थी संघको नेतृत्वमा पुग्न चाहने विद्यार्थी नेताहरु देश–दौडाहामा देखिएका छन् । तरुण दलमा नेता हुन चाहने पनि उत्तिकै असिनपसिन छन् । गणेश–परिक्रमा छाडेर सुमेरु–कुमारको आँट देखाउनु राम्रो कुरो हो । महाधिवेशन सम्मुख उम्मेदवारले दौडधूप गर्नु ठिकै हो । दुर्भाग्य यहाँ त सरकार निर्माण क्रमको ‘दुवाली’ छोप्ने क्रममा सबैभन्दा बढी क्लान्त र भ्याइ नभ्याई मन्त्री बन्न चाहने सांसदहरुलाई छ । कोही ‘लोगो’ लुकाउँदै ‘धोको’ फुकाएर अनुनय–विनयमा लागेका छन् । कसैलाई लोगोसँगै झण्डा पाउने अत्यासले सताएको छ ।

‘मौसम अनुसारको ट्युनिक’ लागउने हाम्रो पुरानै संस्कृति हो । कुमाले इच्छा बाढी आएपछि ‘खुँवा’ मार्फत पूरा हुन्छ । छाला होस् या खुर्सानी, त्यो सुकाउन भदौरे घाम नै कुर्नुपर्छ, असमेल नारायणी–किनारमा बाढीसँगै ‘सेल्फी’ अहिले लिन मिल्छ । पछि त मलेखु बजारमा ‘जनकपुरे’ माछा देखिने हो । स्वादसँगै सत्ताको चटनी चाहनेले बहुमतको आह्वानसँगै रुमाल विछ्याइ हाल्नुपर्ने बझुेर यसतर्फ आकृष्ट भएका छन् ।

हिजो हामीले पनि गरेका हौं विद्यार्थी राजनीति । त्यतिखेर विद्यार्थीको नेता हुन अमुक गुरुका घरमा धाउनु पर्दैनथ्यो । न त दाइ भक्तिमा सवेरै पुगेर ‘जयनेपाल !’ गर्नुपर्दथ्यो । काविल, होनहार र लगनशील समक्ष अवसर आफै आउँथ्यो । अचेल त अवसर टुकुचादेखि तिनाउ नदी जस्तो भएको छ । कमजोरलाई बगाउने र बलियासँग ठोक्किएर विपरित दिशातिर फर्कने । हिजो हामी हाम्रो क्षमता माथि विश्वस्त भएर ‘गन्तव्य’ तय गर्दथ्यौं । अहिले त पढ्नुभन्दा बढी चीटमा विश्वस्त हुन्छन् । चीटबाट पास नभए झण्डासँगै बाहुवलमा स्थापित हुने कोसिस गर्छन् ।

कलममाथि विद्यार्थीको विश्वास हराएपछि, चकभन्दा डष्टर शिक्षकले बढी समाएपछि त्यसले पढ्ने र पढाउनेभन्दा मेट्ने र मेटाउने काम बढी गर्छ । बढो आश्चर्यजनक सत्य यही मेट्ने कामले व्यक्ति–योगदानका इतिहास विर्सन थालिएको छ । देशान्तर र भूगोलको वास्तविकता भुलेर समर्पणलाई ‘ब्ल्याक होल’मा पु¥याइएको छ । कत्रो सम्मान र समर्पण थियो हिजो काठमाडौंका राजन केसीदेखि रुपन्देहीका बालकृष्ण खाँडमाथि ।

कति विघ्न भरोसा राख्दथे सोलुका बलबहादुर केसीदेखि भोजपुरका ज्ञानेन्द्रबहादुर कार्कीसम्मलाई । अनि एनपी साउद हुँदै विश्वप्रकाश र बद्री पाण्डेसँग सबैको आशा र अपेक्षा थियो । दुर्भाग्य अहिले त कलेज क्याम्पस र विश्वविद्यालयमा विद्यार्थी नेताहरुको चर्चाभन्दा चरित्रको आतंक छाएको देखिन्छ ।

सबैथोक खिइएको छ । बरु नखिइने चीज त्यही सबैको घर–घरमा रहने ‘सियो’ मात्रै रहेछ कि क्या हो ? लामा–लामा धागाका लरियालाई घिसार्दै–घिसार्दै फगत् सियोले जोडिरहेछ– च्यातिएका लुगादेखि प्वाल परेका इज्जत समेत । हामी चाहिँ भएको टीसर्ट खोलेर, सर्टका टाँक फुस्काएर अनुकरण र अनुशासनहिनताको ‘ट्याटु’ देखाइरहेका छौं ।

सबैलाई थाहा छ, तीन करोडको भीडमा जम्मा ६ सय एकले सम्मान, सद्भाव र सर्वोच्च उपलब्धिको टलक्क टल्कने ‘लोगो’ पाएका छन् । मुलुकको विधायिकी संरचनामा त्यो चानचुने होइन, अकल्पनीय प्राप्ति हो । यसलाई विर्सेर कोही कसैले सिंहदरबारमा कैद हुने झण्डाका खातिर क्षणिक राहतको मोहमा लाग्नु निन्दनीय काम हो ।

यो मुलुकमा कति मन्त्री भए ? त्यसको लेखाजोखा कोही कसैले राखेको छैन । तर इतिहासमा मन्त्री नहुने थुप्रै नेताहरुको फेहरिस्त सबैले मन मस्तिष्कमा सजाएर राखेका छन् । यथासमयमा ती नामहरु एकदिन सार्वजनिक हुने नै छन् । 

Post a Comment

0 Comments