Ticker

6/recent/ticker-posts

परिर्वतन र रुपान्तरणको लागि तरुण दलको अध्यक्षमा मेरो उम्मेद्वारी : टेकराज पौडेल

टेकराज पौडेल नेपाली कांग्रेसभित्र बौद्धिक र जुझारु युवाको रुपमा चिनिन्छन् । बाग्लुङबाट आफ्नो बिद्यार्थी राजनीति शुरु गरेका उन्ले अहिले नेपाली कांग्रेसभित्र आफ्नो स्थान बनाई सकेकाछन् । 

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल बिद्यार्थी संघको भूतपूर्व केन्द्रीय सह महामन्त्री, तरुण दलको सदस्य हुदै अहिले उन्को नेपाली कांग्रेसभित्र राम्रो प्रभाव छ । 

बाग्लुङको क्षेत्र नम्वर–३ बाट कांग्रेस भित्रको राजनीति यात्रालाई अगाडि बढाएका उन्ले मुख्य गरेर कांग्रेसमा युवा नेताको रुपमा आफ्नो छवी बनाएकाछन् । लामो समयसम्म नेपाली कांग्रेसको भातृसंगठनको निर्वाचन हुन नसकी रहेको अवस्थामा पौडेलले भातृसंगठनको निर्वाचन गर्नकोलागि दवाब दिदै आएका थिए । 

नेपाली कांग्रेसभित्रको शक्ति केन्द्रको रुपमा रहेको तरुण दलको आसन्न महाधिवेशनसंगै तरुण दलको अध्यक्षमा उन्को नाम पनि अग्रपंक्तिमा छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डाक्टर शशांक कोइरालाको युवा विश्वासपात्रका रुपमा रहेका उन्को तरुण दलको अध्यक्षमा उम्मेद्वारी दिने चर्चा छ । 

प्रस्तुत छ, उनै युवा नेता टेकराज पौडेलसंग तरुण दलको महाधिवेशनको बारेमा गरीएको कुराकानी संक्षेप । 

–निकै दौडधुपमा देखिनुहुन्छ, के मा व्यस्त हुनुहुन्छ आजकाल ?
लामो समय सम्म भातृ संगठनको निर्वाचन हुन नसक्दा नेपाली कांग्रेस पार्टी गतिशिल हुन सकिरहेको थिएन् । युवाहरु आफ्नो भूमिकाबाट बिमुख हुनु परि रहेको अवस्था थियो । त्यसैलाई मध्यनजर गर्दे हामी तरुण दलमा आए लगत्तै भातृ संगठनको महाधिवेशन गर्नु पर्छ भनेर लाग्यौ र पार्टी नेतृत्वलाई दबाव दिदै आयौ । लामो समय भए पनि त्यसैको फल स्वरुप आजसम्म हुन नसकी रहेको नेपाल बिद्यार्थी संघको निर्वाचन ९ बर्ष पछि उत्साह र भव्यताकासाथ सफल भएको छ । हामी युवाहरुको दौडधुपको एउटा उपलब्धी यसलाई पनि मैले लिएको छु । तमाम युवा शक्ति नलागेको र नखटेको भए यति सजिलै महाधिवेशन सम्पन्न हुने थिएन् । तर, आज नेपालकै बलियो र ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको भातृसंगठन नेबिसंघको निर्वाचन सम्पन्न भएको छ । यसले देशभर एउटा तरंग र उर्जा प्राप्त गरेको छ । यसलाई उपलब्धिको रुपमा लिदै हामीले अन्य भातृसंगठनको निर्वाचन पनि सम्पन्न गर्नु परेको छ । त्यो युवाको जिम्मेवारी निर्वाह गर्नकैलागि अहिले देश भर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संगठनको काममा छु । युवा साथिहरुको गुनासा सुन्न पुर्वका धेरै जिल्ला पुगेको छु भने पश्चिमका जिल्लाहरुमा पनि पुगेर आईसकेको छु । अव तमाम देशभरका युवा साथिहरुको चाहनालाई मुर्त रुप दिनको लागि परामर्शमा छु ।

–तरुण दलको अध्यक्षमा तपाईको पनि चर्चा छ, उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो ?
मैले बिद्यार्थीको रुपमा गरेको राजनीतिको परिणाम स्वरुप अहिले मैले पार्टीका बिभिन्न ठाउँमा रहेर भूमिका निर्वाह गरी रहेको छु । बाल्यकालदेखिकै राजनीतिमा लागेकाले मैले पार्टीका गाउँ, वडादेखि सबै क्षेत्र र तहका कार्यक्रममा आफ्नो जिम्मेवारी निर्वाह गरी सकेको छु । वर्तमान अवस्थमा  तरुण दलको सदस्यको रुपमा आफूलाई प्रस्तुत गर्दा र तरुण दल भित्र सकरात्मक काम गरेको परिणामलाई हेर्दा अवको तरुण दलको अध्यक्षको भूमिका आफूले निर्वाह गर्नु पर्छ भन्ने मलाई लागेको छ । भातृसंगठको महाधिवेशन समयमा नहुँदा लाखौं तरुण युवाहरुमा यसको असर परेको छ । लामो समयको ग्यापका कारण पार्टी भित्रको आन्तरिक राजनीतिमा युवाहरुको भुमिका फितलो रहदै आएको छ । तर, अव हामीले यसरी पार्टी चल्दैन र युवाहरुलाई पनि भूमिकामा ल्याउनु पर्छ भन्ने दृष्टिकोणबाट दबाव दिदै आयौ । यसलाई अहिले तमाम कांग्रेसका शुभेच्छुकहरुले सकरात्मक रुपमा लिएकाछन् । त्यसैले पनि अहिले परिर्वतन र रुपान्तरणको लागि मेरो राजनीति हुन्छ । त्यसैले जिम्मेवारी पाएको खण्डमा भदौमा हुन लागेको तरुण दलको अध्यक्षमा उम्मेद्वारी दिने सोंचमा छु । यसमा सबै साथिहरुको सहयोग रहने छ भन्ने पनि विश्वास लिएको छु । 

– अध्यक्षमा उम्मेद्वारी दिने तपाईको चाहि के एजेण्डा छ नी ?
पार्टी भित्र मैले निरन्तर रुपमा काम गर्दे आएको छु । कहिले पनि पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि प्रयोग गरेको छैन् । मुख्य गरेर तल्लो स्तरदेखिको मेरो पार्टी भित्रको निरन्तरता हो भने अर्को कुरा युवाहरुको मुद्धा अहिले ओझेलमा छन् । लाखौ युवाहरु बेरोजगार छन् । उनीहरुको क्षमता, दक्षता र योग्यता अनुसारको रोजगारी तथा स्वरोजगारी ग्यारेण्टी मेरो पहिलो प्राथमिकतामा पर्छ । खाडिमुलुकमा दैनिक रुपमा जाने युवा शक्तिलाई स्वदेशमै रोजगारीको सृजना गर्नु पर्छ । त्यो काम सरकारले गर्नु पर्छ र त्यसमा हामी तरुण साथिहरुको पनि सहयोग रहन्छ । त्यसैले यी साझा बहषका बिषयसंगसंगै महिले पार्टीभित्र पनि युवाकेन्द्रीत राजनीतिलाई प्राथकितमा राखेको छु । जसले युवावर्गलाई सधैव जिवन्त राख्छ । यो संगै शिक्षा, स्वास्थ्य र युवा अधिकारका एजेण्डा पनि यहिसंगै जोडिएर आउछन् ।     

–हैन, तपाँहरुको पार्टीभित्र अहिले पछिल्लो समयमा पनि गुट उपगुट र भागवण्डाको राजनीति चलीरहेको छ ? तपाँइहरुको तरुण दलको अधिवेशन पनि भागबण्डाबाटै त चल्ने होला नी ?
हिजो एक हदसम्म नेपाली कांग्रेसभित्र भागवण्डाको राजनीति चलेकै हो । अहिले पछिल्लो समयमा आएर हामीले कांग्रेसभित्रको भागवण्डाको राजनीति अन्त्य हुनु पर्छ भनेर भन्दै आएका छौ । तर, पनि स्वभाविक रुपमा नेपाली राजनीतिमा भागवण्डाको राजनीति हावी भएकै छ । महिले व्यक्तिगत रुपमा पनि एउटा क्षमताको आधारमा, योगदानको आधारमा साथिहरुले प्रतिश्प्रधा गर्न पाउनु पर्छ भन्ने मान्यता राख्दै आएको छु । मुख्य गरेर पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथिहरु प्रतिश्प्रधामा आउनु पर्छ भन्ने हो । अर्कातिर गुट, उपगुट, यो पक्ष  र उ पक्ष भन्ने दृष्टिकोणबाट साथिहरु प्रभावित हुनु हुदैन् । स्वच्छ प्रतिश्प्रधा लोकतान्त्रिक पद्धति हो । यसैलाई आत्मसाथ गरेर नै तरुण दलको महाधिवेशन अगाडि बढ्छ र हुन्छ ।

– महाधिवेशन गर्ने सम्बन्धमा तरुण दलभित्र पनि बिवाद छ की छैन् ?
महाधिवेशन गर्ने सन्दर्भमा साथीहरुबीच कुनै पनि बिवाद छैन । सबै युवा साथीहरु महाधिवेन सम्पन्न गर्नु पर्छ भन्ने पक्षमा हुनुहुन्छ । तर, महधिवेशन सम्पन्न गर्ने कुरामा केहि बिषयहरु महत्वपूर्ण छन् । ति बिषयहरुलाई हामीले केन्द्रीय समिति बैंठकमा राखि सकेका छौ । नेपाली कांग्रेस संघीय संरचना अनुसार  अगाडि बढी रहेको अवस्थामा विधानमा त्यहि अनुसारको व्यवस्था हुनु पर्छ । समावेशी प्रतिनिधित्व र प्रान्तिय प्रतिनित्वलाई ध्यान दिएर विधान संशोधन गरीनु पर्छ । केन्द्रीय निर्वाचन समितिको विषयमा संस्थागत रुपमा लोकतान्त्रिक कानुन व्यवसायी संघ ( डिएलए) लाई जिम्मा निु पर्ने लगायतका बिषयहरु समायोजन होस भन्ने चाहेका छौ । यस्ता कुराहरुमा सम्बन्धित पक्षको ध्यान पुगेन भने बिवाद सिर्जना भई महाधिवेशनलाई प्रभाव पार्छ । अझै पनि देशका झण्डै २७ जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ भने ३ वटा जिल्लामा बिवाद कायम छ । तराई, पहाड  र हिमालका सबै जिल्लाको अधिवेशन सकेर र बिवाद अन्त्य गरेर तरुण दलको महाधिवेशन समयमै हुनु पर्छ ।

–महाधिवेशन सम्पन्न गर्न पार्टीको चासो र सहयोग कति आवश्यक छ ?
पार्टीको सहयोग विना महाधिवेशन हुन सक्दैन् । विगतमा पनि महाधिवेशन सम्पन्न गर्नको लागि पार्टी र नेतृत्वले सम्पूर्णखालको सहयोगको वचन दिएको अवस्थामा अहिले पनि पार्टीले सहयोग गर्छ नै । पार्टी नेतृत्वले कसलाई बनाउने भन्दा पनि कसरी तरुण दलको अधिवेशन सम्पनन गर्ने भन्ने मान्यताले अगाडि बढ्नु पर्छ । तरुण नेतृत्वमा जो आए पनि आफ्नै संगठन भित्रको नेतृत्व आउने हो । त्यहि विश्वासले नै महाधिवेशन सम्पन्न हुने हो । नेपाल बिद्यार्थी संघको निर्वाचन सम्पन्न भएको अवस्थामा तरुण दलको निर्वाचन नहुनेमा संका छैन् । वरु भव्य र सभ्य रुपमा तरुण दलको महाधिवेशन गर्नु पर्छ भन्नेमा तरुणसाथिहरु लाग्नु पर्छ । नेपाल तरुण दलमा ४५ बर्षको उमेर हदबन्दी विधानमा छ त्यसलाई बिचार गरेर सबै साथीहरु खुल्ला प्रतिस्प्रधामा आउनको लागि नेतृत्वले वातावरण बनाउनु पर्छ ।

–तपाँई युवाहरुमै खिचातानी हुन्छ अनि नेतृत्वलाई दोष दिनुहुन्छ नी ?
युवाहरुमा आन्तरिक प्रतिष्प्रधा छ । त्यसलाई नराम्रो भन्न मिल्दैन । प्रतिष्प्रधाबाटै सहि नेतृत्व आउने हो । हामी चाहन्छौ नेतृत्वले हाम्रो भन्दा पनि राम्रो नेतृत्वको लागि निश्पक्ष भूमिका खेलिदियोस् । तर, अहिले पनि हामीमा बिभिन्न समूहको ह्याङ्ओभर बाँकी नै छ । तर, बिस्तारै पार्टीबाट समूह र गुट किनारा लाग्नेछन् । त्यो काम अव आउने नयाँ युवा नेतृत्वले गर्ने पर्छ । तरुण दलको उद्धेश्य पनि पार्टीको बिचारलाई जनताको घरदैलोमा पु¥याई लोकतन्त्र र नेपाली कांग्रेसलाई मजवुद बनाई देशको आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउनु हो । युवाहरु विचारको संवाहक भएको हुनाले तरुण दललाई त्यहि शक्तिको रुपमा अगाडि बढाउनु आवश्यक छ ।  आगामी दिनमा तरुण दल युवाहरुको बैचारिक रुपमा स्पष्ट र जनताको सहयोगी, लोकतन्त्रको पहरेदार संस्थाको रुपमा परिचित र भरोसायोग्य संगठनको रुपमा अगाडि बढ्ने छ । वीपी कोइराला, गणेशमान सिंह, शुवर्ण शमशेर, गिरिजाप्रसाद, सुशील कोइरालाले पु¥याएको एतिहाँसीक योगदानको स्मरण गर्दे हामी अगाडी बढ्नु पर्छ । पार्टीका अन्य भातृसंठनको अधिवेशन र बिस्तार समयमै गराएर पार्टीलाई गतिशिल बनाउन भूमिका खेल्नु हामी सबैको दायित्व पनि हो । मुलुकमा वामपन्थी र दक्षिणपन्थिहरुको अपवित्र गठबन्धन लोकतन्त्रलाई कमजोर बनाउन सकृय रहेको अवस्थामा हामी अझ संगठीत, मर्यादित र अनुशासीत ढंगले अगाडि बढ्नु आजको आवश्कता हो ।

–अहिलेको राजनीतिलाई युवा नेताको दुष्टिकोणबाट कसरी नियाल्नु भएको छ ?
अहिलेको राजनीति चुनौतिपूर्ण अवस्थामा छ । त्यतिकै सम्भावना पनि छ । राजनीतिलाई जनता केन्द्रीत बनाउन नसक्नु हाम्रो बिडम्बना हो । परिर्वतन भएकाछन् तर, तिनलाई संस्थागत बनाउने बिषयमा नेतृत्वले ढीलाई गरीरहेकाछन् । सरकार परिर्वतन भन्दा पनि जनतालाई राहत दिने खालका कार्यक्रमहरु तय गर्न सक्नु अहिलेको चुनौति हो । नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्नु र पुर्ननिर्माणका कामलाई अगाडि बढाउनु अहिलेको सरकारको कार्यभार हो । त्यसैगरी मधेशी दलसंग समन्वय गरी उनीहरुको मागको उचित सम्बोधनबाट मात्र मुलुकले निकास पाउँछ । यतातिर पनि यो सरकारले आफ्नो ध्यान केन्द्रीत गर्न सक्नु पर्छ । त्यसैगरी बढ्दो बेरोजगार अहिलेको मुख्य चुनौति हो । मुलुकमा राजनीतिक क्रान्ति धेरै भए अव समृद्धि तर्फ लम्कनको लागि आर्थिक क्रान्तिको खाँचो छ । यसलाई हाम्रो देशको पर्यटन, कृषि र उर्जालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुको बिकल्प छैन् । यता तर्फ पनि सरकार र नेतृत्वले ध्यान दिउन् ।


Post a Comment

0 Comments