Ticker

6/recent/ticker-posts

सबै माग पूरा नभएसम्म अनशन नतोड्ने

काठमाडौं– चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)का नवनियुक्त डीन केपी सिंहले पदबाट राजीनामा दिएका छन् । सिंहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसमक्ष शुक्रबार राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले सिंहलाई बीस दिनअघि कात्तिक २८ गते आईओएमको डिन नियुक्त गरेको थियो ।
सिंहलाई डीन नियुक्त गरेकै दिनदेखि त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक प्राडा गोबिन्द केसीले कनिष्ठ ब्यक्तिलाई डीन नियुक्त गरिएको भन्दै आमरण अनसन थालेका थिए । केसीको अस्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सिंहले केसीको जीवन रक्षाको लागि पदबाट राजिनामा दिएका छन् । केसीको स्वास्थ्य भन्दा आफ्नो पद ठूलो नभएकोले राजिनामा दिएको सिंहले बताएका छन् ।
त्रिविले सिंहलाई डीन नियुक्त गरेकै दिन केसीले नवनियुक्त डीन र त्रिबि उपकुलति खनियाँलाई बर्खास्त गर्नुपर्ने लगायतका ९ बुँदे माग राखी दशौं पटक आमरण अनसन थालेका हुन् । सिंहले राजिनामा दिएपछि पनि केसीले भने सबै माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन् ।
सिंहले डीनबाट राजिनामा दिएपछि नयाँ डीन नियुक्त नगरिएसम्म अन्य मागमा छलफल नै नगर्न केसीले आफ्ना वार्ता टोलीलाई आग्रह गरेका छन् । केसीले बरिष्ठताका आधारमा जगदीश अग्रवाललाई डिन नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् ।
अनशनरत डा. केसीले नवनियुक्त डीन सिंहको राजीनामालाई सकारात्मक सुरुवात भएको प्रतिक्रिया दिएका छन् । स्वास्थ्य र शिक्षा सचिव स्तरीय सरकारी वार्ता टोलीले केसी पक्षलाई छैठौं पटक वार्ताका लागि बोलाए पनि केसीको पहिलो बुँदाको माग पूर्ण रुपमा पूरा नभइ अन्य मागमा छलफल नै नगर्ने बताएका छन् । 
डा. केसीको पहिलो मागमा डीन र त्रिवि उपकुलपति खनियाँको बर्खास्तगी रहेको छ ।
डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको समितिले तयार पारेको मापदण्डका आधारमा नयाँ डीन नियुक्त गरिने भएको छ । सो मापदण्डअनुसार आइओएमका प्राध्यापक डा. अग्रवाल नयाँ डिन हुनुपर्ने केसीको माग छ ।
२० दिनदेखि अनसनरत केसीको स्वास्थ्य गम्भीर हुँदा पनि राज्य जिम्मेवार नभएको भन्दै सरकारी अस्पतालका चिकित्सकहरुले देशैभरका सरकारी अस्पतालमा इमर्जेन्सीबाहेका सेवा ठप्प पारेका छन् ।

Post a Comment

0 Comments