Ticker

6/recent/ticker-posts

संसदमा भिडन्त हुने संकेतःसंशोधन प्रस्ताव संसदमा पेश गरेर देखाउन प्रतिपक्ष दलको चुनौति

काठमाडौ, पुस ।
सत्तापक्षले जसरी पनि सोमबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले थप आक्रामक बन्दै गएको छ । सत्ता पक्ष र प्रतिपक्षको तयारीले संसदमा भिडन्तसम्मको स्थिति आउनसक्ने संकेत देखिएको छ । सत्ता पक्ष जसरी पनि संशोधन प्रस्तावलाई संसदमा पेश गर्ने तयारीमा रहेको छ । 
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर देखाउन चुनौति दिएको छ। महासचिव ईश्वर पोखरेलले संविधानको किटानी व्यवस्था विपरित गएर सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गराएको हेर्न आफूहरु आतुर रहेको टिप्पणी गरे। सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चाको साथ लिएर सोमबार संविधान संशोधन प्रस्ताव संसदमा पेस गराउने तयारी गरिरहेको छ।
महासचिव पोखरेलले आईताबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संविधान संशोधन विधेयक संविधानको धारा २७४ को किटानी व्यवस्थाविरुद्ध रहेको उल्लेख गर्दै संवैधानिक व्यवस्था विरुद्ध सरकार आफैं गएको हेर्न आफूहरु आतुर रहेको प्रतिक्रिया दिए।  उनले सरकार कसरी संबैधानिक व्यवस्था विरुद्ध उभिँदो रहेछ भनेर हेर्न आफूहरु प्रतिक्षारत रहेको पनि स्पष्ट पारे।
महासचिव पोखरेललले संविधानको रक्षा गर्दै देश र जनताको हितका लागि आफूहरु संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको प्रष्टिकरण पनि दिए।
उनले निर्वाचन बाहेकका कुनै पनि विषयमा छलफल गर्न नसकिने अडान पनि दोहोर्‍याए। संविधान कार्यान्वयनका लागि सत्तारुढ दलहरु तयार भए आवश्यक छलफलमा बस्न सकिने बताए। एमाले सहितका विपक्ष दलहरुले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै सदन र सडक दुवै संघर्षलाई तीव्र बनाउँदै आएका छन्।

Post a Comment

0 Comments