Ticker

6/recent/ticker-posts

‘मधेशबिनाको काठमाडौं कल्पना गर्न सकिदैन’

दुबई– प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन्। आइतबार दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो नहुने बताए।

भने, 'पहाड र मधेशका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन। हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो।'

मधेशका लागि काठमाडौं र काठमाडौंका लागि मधेश दुवै अभिन्न रुपमा जोडिएको उनले बताए। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताका लागि भएको उनले बताए।

सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीको भनाइ थियो। भने, 'मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु।'

साउदी अरबको विकास र चमत्कार देखेपछि नेपालको विकास गर्न सकिन्छ भन्ने अनुभूति भएको प्रधानमन्त्रीले बताए। 'यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर (सगरमाथा) छ। यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ’, उनले भने।

उर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत नेपालमै खपत गर्न सकिने र साझा संकल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताए।

Post a Comment

0 Comments