संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सात पटक अवरुद्ध र तीन पटक स्थगित भइसकेको संसद वैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । प्रतिपक्षी दलहरुको असहमतिबीच संशोधन प्रस्तावलाई टेबुल गर्ने सत्तापक्षले तयारी थालेको छ । पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षी दलबीच टकराव बढिरहेका बेला आज बस्ने संसद वैठकलाई चासोपूर्वक हेरिएको छ ।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले निरन्तर संसदमा अवरोध गरिरहेका छन् । सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म वा स्थगीत गरेर निर्वाचनसम्बन्धी विधेयकलाई अघि नबढाएसम्म संसद वैठक चल्न नदिने प्रतिपक्षी दलहरुको अडान छ ।
सरकारले भने संविधान संशोधन र निर्वाचन सम्बन्धी विधेयकलाई सँगैसँगै अघि बढाउने तयारी गरेको छ । संविधानसभाबाट संविधान जारी हुनुपूर्व नै संविधानप्रति विमति राख्दै मधेशमा आन्दोलन गरेको र अहिले पनि आफ्नो माग पूरा नभए आन्दोन गर्ने चेतावनी दिइरहेको मधेश केन्द्रित दलहरुको माग सम्बोधन गर्नका लागि भन्दै मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो ।
एमालेलगायत प्रतिपक्षी दलहरुले संविधान संशोधनका बुँदा राष्ट्रहितविरीत भएको भन्दै विरोध गरिरहेका छन् ।
0 Comments