काठमाडौं, ४ माघ । शीतल निवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा अर्कै रह्यो– निम्ता मान्न पूर्व राजा शीतल निवास आउलान् कि नआउलान् ?
राष्ट्रपति कार्यालयको कोसी हलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोका बाहिरै थियो । धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे, ‘पूर्वराजा कति बजे आउँछन् ?’ राष्ट्रपति कार्यालयका कर्मचारी पनि भन्दै थिए, ‘उहाँ आउने कार्यक्रम छ।’
लामो समय राष्ट्रप्रमुख भएका पूर्वराजा ज्ञानेन्द्र धेरैको उत्सुकतालाई चिर्दै सोमबार मध्यान्ह साधारण निम्तालुसरह शीतल निवास प्रवेश गरेर वरबधुलाई बधाई दिए। त्यसपछिका २० मिनेट पूर्वराजा नै त्यहाँका प्रमुख आकर्षण बनिरहे। उपस्थित धेरैले मोबाइलबाट उनको तस्वीर खिचे।
मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा राष्ट्रपति कार्यालय पुगेका पूर्वराजा गाडीबाट ओर्लिएर सीधै कोसीहल प्रवेश गरे। त्यसबेला राष्ट्रपति भण्डारी विवाहित जोडीसँगै बधाई र शुभकामना ग्रहण गर्न व्यस्त थिइन। पूर्वराजाले वरबधुलाई बधाइ र शुभकामना दिए। त्यसपछि भण्डारी सामून्ने पुगे । दुबैले एकअर्कालाई नमस्कार गरे ।
ज्ञानेन्द्रले राष्ट्रपतिलाई पनि बधाइ दिए। जवाफमा उनले ‘धन्यवाद’ भनिन्। यत्तिकैमा सकियो बधाइ कार्यक्रम। विज्ञप्ति जारी गर्दा विरोध जनाउने दलका नेताहरुले विवाहमा उनको धेरै चासो दिनुले पूर्वराजाको विषयमा धेरै रहस्य लुकेको पाइएको छ ।
0 Comments