Ticker

6/recent/ticker-posts

कुखुराको भालेको पनि बन्ध्याकरण.....

पाल्पा, माघ ।
सुन्दा अनौठो लाग्न सक्छ, तर कुखुराको बन्ध्याकरण हुन थालेको छ। कुखुराको भालेमा बन्ध्याकरण सफल बनेपछि पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्त निकै खुसी छन्।
‘भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुन्छ, त्यसैले म खुसी छु’ मासु व्यापारी समेत रहेका उनले भनेः‘कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्छ,व्यापार राम्रो हुन्छ ।’
कुखुराको भालेको अण्डकोष निकालेर उनले  परिवार नियोजन गर्न थालेका हुन्। कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो।
भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्न छाड्ने गरेको पन्तको भनाइ छ।
पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनले बताए। पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताए।
सुरुसुरुमा केही कुखुरा मरेपनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ। कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनले बताए। पन्तका अनुसार स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुन्छ। ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन्।
पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन्।

Post a Comment

0 Comments