Ticker

6/recent/ticker-posts

संविधान संशोधनमा कांग्रेस–एमाले जुहारी

काठमाडौं, माघ । संविधान संशोधन विधेयकका बारेमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच चर्को मतभेद देखिएको छ । सोमबार राजानीमा आयोजित साक्षात्कार कार्यक्रममा दुबै दलका प्रतिनिधिले संशोधन विधेयकका बारेमा मततान्तर प्रकट गरेका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधन विधेयक संसदमा टेबुल भएको यो स्वामित्वको विषय भएकोले प्रमुख प्रतिपक्षी दल एमाले र मधेशी मोर्चा दुवैले लचकता अपनाउनुपर्ने बताए ।
उनले मधेश केन्द्रित दलहरुलाई पनि सहमतिमै लैजाने र मुलुकलाई चुनावमा केन्द्रित गर्नका लागि आफ्नो पार्टीले पहलकदमी लिइरहेको जनाउँदै भने, ‘चुनाव गर्नका लागि कांग्रेसले पहलदकमी लिइरहेको छ, स्थानीय तहको हुन्छ भने तहको नभए स्थानीय निकायको चुनाव गर्नुपर्छ, जुनमा सहमति हुन्छ, त्यसको चुनाव गराउनुपर्छ ।’
उनले आगामी माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गर्नुपर्ने बाध्यतालाई सबैले मनन् गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘सम्भव हुन्छ भने स्थानीय तहको निर्वाचन चैतमै गर्नुपर्छ ।’
साउदले अहिले संघको वा प्रदेश सभाको चुनाव गर्छु भन्नु बलमिच्याँई बाहेक अरु केही नहुने समेत जिकिर गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोजेको आरोप लगाए । उनले प्रश्न गरे, ‘यो सरकार चुनावबाट किन भाग्न खोज्दैछ ?’
उनले स्थानीय तहको निर्वाचन नै पहिले गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘पहिले स्थानीय तहकै निर्वाचन गर्नुपर्छ, अनि दोस्रो चरणमा संघीय प्रदेश र प्रादेशिक सभाको चुनाव गराउनुपर्छ वा यी दुई तहको चुनाव एकैपटक पनि गर्न सकिन्छ ।’
उनले संविधानप्रति अपनत्व हो भने सरकारले हिम्मतका साथ चुनावको लागि लाग्नुपर्ने सुझाव दिए । पण्डितले भने, ‘तर चुनावको लागि सत्ताधारी दलको इच्छा नै छैन, दिन बताउनेबाहेक अरु काम भएकै छैन ।’
उनले आफ्नो पार्टी चुनावको पक्षमा दृढ रहेको बताउँदै त्यसको लागि चुनाको मिति सरकारले घोषणा गर्नुपर्ने बताए । पण्डितले भने, ‘ऐन तथा कानूनहरु फाष्ट ट्रयाकबाट पारित गराउने हो भने पनि एमालेले साथ दिन्छ ।’
उनले मधेशी मोर्चाले अहिले हठको राजनीति गरिरहेको समेत आरोप लगाए । उनले थपे, ‘मोर्चाले पनि हठको राजनीति छोड्नुप¥यो नि ! उहाँहरुले तराई–मधेश र पहाडमा दुई राष्ट्रियताको कुरा गर्नुभएको छ, यो हठ हो ।’
त्यस्तै उनले सरकारी कामकाजको भाषा हिन्दी बनाउने कसैको सपना पूरा नहुने चेतावनी दिए । यद्यपी उनले नागरिकताको सवालमा बुहारी भित्र्याउनेहरुको हकमा एमाले लचकता हुने विश्वास दिलाए । उनले तराई–मधेशका जनताहरुले शान्ति, स्थिरता र आर्थिक समृद्धि चाहेको भए पनि मधेशका केही व्यक्तिहरुले त्यस्तो नचाहेको आरोप लगाए ।
उनले भने, ‘मधेशका केही व्यक्तिहरु संविधान कार्यान्वयन हुन नदिने र चुनाव पनि गर्न नदिने षड्यन्त्रमा लागेका छन्, यो भनेको कता–कता संघीयता नै कमजोर पार्ने त खेल भरहेको छैन भन्ने आशंका मलाई लागिरहेको छ ।’
उनले निर्धारित मितिभित्रै तीनवटै निकायको चुनाव नभए संवैधानिक तथा राजनीतिक संकट आउनेतर्फ सचेत गराउँदै भने, ‘एमाले पनि केही विषयमा लचिलो बन्न तयार छ, हामी सहमतिबाटै अघि बढ्न चाहन्छौं ।’

Post a Comment

0 Comments