Ticker

6/recent/ticker-posts

गोप्यवार्तामै दाहाल–ओलीबीच चर्काचर्की

काठमाडौ,पुस ।
सरकारले प्रधानमन्त्रीको निर्वाचनअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको सहमतिअनुसार संविधान संशोधन विधेयक टेबुल गर्ने अन्तिम तयारी गरिरहेको छ । सरकारको यो तयारीसंगै सत्तारूढ र प्रमुख प्रतिपक्षीबीचको दूरी झनै बढेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको गोप्य वार्तामा चर्काचर्की भएको छ।
संविधान संशोधन विधेयक दर्तापछि देखिएको गतिरोध अन्त्य गरेर संसद् सुचारु गर्ने विषयमा भएको दुई नेताबीचको वार्तामा सहमतिको साटो झनै तिक्तता बढेको हो। प्रधानमन्त्री दाहालले मोर्चासमेत तीनवटै निर्वाचनमा आउँछु भनिरहेको अवस्थामा संशोधन विधेयक अगाडि बढाउने विषयमा विरोध गरेर समस्याको बाधक नबन्न ओलीलाई आग्रह गर्दा ओलीले राष्ट्रिय हितविपरीत रहेको र संविधानको ठाडै उल्लंघन गरी ल्याइएको संशोधन दर्ता गर्न खोजे कडा प्रतिवाद हुने बताएपछि बैठकमा चर्काचर्कीसमेत भएको थियो।
प्रधानमन्त्री दाहालले बैठकमा सोमबार संशोधन विधेयक टेबुल गर्न लागेको र मोर्चासमेत संशोधन प्रक्रिया अगाडि बढाए पछि तीनै तहको निर्वाचनमा आउने भएकाले विरोध नगर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको र निर्वाचनमा मोर्चालाई सहभागी गराउन संशोधन प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको भन्दै संशोधनसहित अन्य विषय प्याकेजमै सहमति गरेर अगाडि बढ्न ओलीसँग आग्रह गरेका थिए।
तर, ओलीले देशभन्दा कोही ठूलो नरहेको र देशमाथि आक्रमण हुँदा कुनै सम्झौता नहुने भन्दै राष्ट्रिय हितविपरीत रहेको संविधान संशोधन विधेयक फिर्ता नहुँदासम्म समर्थन गर्नै नसकिने प्रस्ट पारेका थिए ।

Post a Comment

0 Comments