Ticker

6/recent/ticker-posts

पानी परेपछि काठमाडौसहित देशभरि चिसो बढ्यो,हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना

काठमाडौ, पुस ।
भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले काठमाडौसहित देशभर चिसो बढेको छ। शनिबार भारत हुँदै सुदूर पश्चिमबाट नेपाल छिरेको पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा वर्षा र तराईमा  बाक्लो कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव सोमबारसम्म रहने छ ।‘आइतबार र सोमबार देशका विभिन्न भागमा हल्काफुल्का वर्षा हुने देखिन्छ, मंगलबारबाट मौसममा दुई दिन सुधार हुने छ।’ महाशाखाका एक मौसमविद्ले भने ।
बिहीबारदेखि पश्चिम क्षेत्रमा फेरि वर्षा  हुनेछ। फेरि आउने पश्चिमी वायुले काठमाडौंको मौसम पनि प्रभावित पार्न सक्छ।  महाशाखाले पानी लगातार पर्ने नभई केहीबेर परेर रोकिने र फेरि पर्ने जनाएको छ ।
महाशाखाका एक अधिकारीले भनेः‘नेपालमा बर्खामा बंगालको खाडीबाट आउने वायु प्रभावले वर्षा हुन्छ भने हिउँदमा पश्चिमी वायुको प्रभावले पानी पर्छ।’
महाशाखाका अनुसार आइतबार बिहान उपत्यकामा ०.१ मिलिमिटर पानी परेको छ भने ताप्लेजुङमा ६ मिलिमिटर वर्षा भएको छ।महाशाखाका अधिकारीले भनेः‘ताप्लेजुङमा स्थानीय सिस्टम बनेकाले  त्यहाँ पानी धेरै परेको हो, आज अन्य हिमाली जिल्लामा  भारी हिमपात हुने सम्भावना छ।’
हिजो पनि  बाजुरा, हुम्ला र डोल्पाका उच्च भेगमा हिमपात भएपनि त्यसको विवरण महाशाखामा आईसकेको छैन् ।
पानी परेसँगै देशभरिको अधिकतम तापक्रम घटेको छ।
यो वर्ष पश्चिमी वायु आउन ढिला भएका कारण डिसेम्बर महिनामा  काठमाडौंमा वर्षा हुन सकेको थिएन भने हिमालमा हिउ पनि परेको थिएन।

Post a Comment

0 Comments