Ticker

6/recent/ticker-posts

तिरिरी मुरली बज्यो बनैमा...’ अर्थात पन्नाकाजीको निधन

काठमाडौ,माघ ।
वरिष्ठ गायक पन्नाकाजी शाक्यको ८६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । लामो समयदेखि बिरामी परेका उनको उच्च रक्तचापका कारण निधन भएको हो ।
‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता दर्जनौं कालजयी गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा ठूलो गुन लगाएका पन्नाकाजी नेपाली सांगीतिक क्षेत्रको गर्व गर्न लायक स्रष्टा मानिन्छन् ।
वि.सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले राणकालमै नाटकसमेत खेलेका थिए ।
उनी नाटककार बालकृष्ण समकासमेत प्रिय मानिन्थे । साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले शाक्यलाई गायककोरुपमा जागिर दिएका थिए ।
२००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति लिएर उनले ४० सालसम्म काम गरेका थिए । रेडियो नेपालले २०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नारायणगोपाल संगीतमा प्रथम हुँदा पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए ।
‘किन–किन तिम्रो तस्वीर’ र ‘लोलाएका ती तिम्रा आँखा’को पुरानो मेलोडी,‘नौलाखे तारा’,‘एकानी दुवानी’,‘रात यो नबित्ला’,‘लालीगुराँस फुल्यो है’ लगायत सिर्जना दिएका उनका आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी करिब चार सय गीत रेकर्ड भएका छन् ।
पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबारै टेकु दोभानमा अन्त्येष्टि गरिएको छ ।

Post a Comment

0 Comments