Ticker

6/recent/ticker-posts

गीत– 'हुन्छ... हुन्छ सबै भन्छन् ...'

मैले ‘कलम’ नचलाएको एउटै विधा थियो– गीत । मान्छेका शान्त मनको तलाउमा ढुंगा हान्नु जस्तै हो गीत लेखन भन्ने ठानेर मैले गीत रच्ने दुस्साहस गरेको थिइनँ । 

अपितु केही समय यता आफ्नै मन उद्वेलित र छट्पटीमा थियो । त्यसैले जन्मायो यो गीत । संगीत संयोजनको क्रम जारी छ । 

शिव परियारको स्वर सुहाउँदिलो हुन्छ कि भन्ने ठानेको छु । बाँकी यस्तै हो, सुझाव, सल्लाह र मन्थन केही भए त्यसका लागि मैले तपाईंहरु समक्ष निवेदन गरें ।

गीत यस्ताे छ–

हुन्छ, हुन्छ सबै भन्छन् 
हुँदैन त कस्ले भन्ने ? 
खुशीको त जगै छैन 
सुखी घर कहिले बन्ने ? 


.......................

काम हुन्छ भनेपछि 
उत्साहले विहान दङ्ग ।
मीठा–मीठा कल्पनामा 
स्फूर्तीले मनै चङ्ग ।
कल्पना चै यथार्थमा 
अनुवाद कहिले हुने ? 
खुशीकोे त जगै छैन 
सुखी घर कहिले बन्ने ? 


.......................

दौडधूपमा साथी छुट्छन् 
एक्लो बन्छु हतारमा ।
तोक सदर नभएर 
साँझ मात्छ थकानमा ।
हुन्छ, हुन्छ आफै भन्छु
हुँदैन त किन भन्ने ?
खुशीको त जगै छैन 
सुखी घर कहिले बन्ने ? 


.......................

दुःख पीडा आफैसँग 
समस्याको आकाशभित्र ।
मान्छेभन्दा अर्को छैन 
निरीहको कुनै चित्र ।
हुन्छ, हुन्न थाहा हुन्न 
हुन्छ चाहिं किन भन्ने ? 
खुशीकोे त जगै छैन 
सुखी घर कहिले बन्ने ?

Post a Comment

0 Comments