Ticker

6/recent/ticker-posts

चकटीको खोलले सिरकको इज्जत धान्दैन

केहीले ‘बिजुली’ चोरिरहेको प्रसंग सुन्दा मन उद्वेलित भयो । राम्रो–नराम्रो भन्नुपूर्व सोचेँ– ‘चोरेरै सही बिचरा ! उनीहरुले ‘अँध्यारो’विरुद्ध ‘उज्यालो’ त रोजेका रहेछन् ।’ जसले चोरेर कारोबार गरे ती दण्डलायक छन् । भेद छुट्याउनुपर्छ । 

हुन त न्याय खोजिरहेको दौरा–सुरुवालविरुद्ध अराजकताको टाई–सुटले अखडा जमाउँदै जुन हिटरको राप–ताप लिएका छन् । त्यहाँ कसले इमान्दारिताको ‘मिटर’ चेक गर्छं र ?! छ्याक्क काटिनेलाई मूला झैँ काटेर अनि नचुँडिएको गर्धनलाई रेटेर ‘सत्ता–वार्वक्यू’ सेकाइरहे छन् महाशयहरु । यिनीहरुको लाइन काट्ने आँट कसलाई ?

हाम्रा नदीनालाका पानी भ्रष्ट मति र गतिका जल्लादहरुलाई वातानुकूलित कोठामा तातो गरी राख्न बहेका थिएनन् । गण्डकी र कोशी बेचिएको निहुँमा घोक्रो सुकाउनेहरुलाई मुलक–बेच्ने तमसुकमा सही गर्नका लागि ‘टेबुल–ल्याम्प’ले उज्याले दिएको होइन । गज्जब लाग्छ– पारिबाट ढल्केवर हुँदै अंगीकृत विजुली ल्याउने अनि नाकाम शैलीमा वंशजको स्वाङ् गर्ने ?

मिल्दै–मिल्दैन । जति गरे पनि चकटीको खोलले सिरकको इज्जत धान्दैन । कट्टु लगाएर कुस्तीको दंगलसम्म ठिकठिकै हुन्छ । तर यहाँ त शिवरात्री नआउँदै ‘नांगा बाबा’ होइन  ‘विचित्र वाणिका हावा’हरुको राजनीतिक ढावा देख्नु परिरहेछ । खुँवा र पासोले माछा मारेर जैविक चक्र बचाइरहेका र चलाइरहेकै थिए हिजो मुलुकका माझीहरुले । अहिले करेन्ट लगाएर माछा होइन समग्र जीवात्मा–सखाप पार्ने मनोवृत्तिले देश–दुनियाँ विगारिरहेका छन् । तैपनि तैँ चुप् मैँ चुप् मा हेरिरहेछौं । 

फेसबुकबाट साभारः

Post a Comment

0 Comments