Ticker

6/recent/ticker-posts

नक्कली जग्गाधनी बनाएर २० करोडको जग्गा कौडीको भाउमा बिक्री

काठमाडौ, पुस ।
ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँभन्दा बढी पर्ने जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ।
 सो कार्यमा उनीहरूलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। सो समूहले वास्तविक जग्गाधनीलाई थाहै नदिई सो जग्गा बिक्री गरेको थियो।
प्रहरीले नक्कली जग्गाधनी खडा गरी सो जग्गा बिक्री गरेको आरोपमा ललितपुरका मालपोत अधिकृत मीनबहादुर भट्टराईलाई पक्राउ गरेको हो। उनी काठमाडौं मालपोतमा हुँदा २०६६ सालमा सो जग्गा बिक्री भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत अधिकृत भट्टराईलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। ब्युरोको प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालका अनुसार भट्टराईले २०६६ सालमा काठमाडौं मालपोत कार्यालयमा कार्यरत रहँदा चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नाममा रहेको जग्गा किर्ते गरी इटहरीका देवेन्द्र थापा र झापाका नगेन्द्र कार्कीलाई १ लाखमा बिक्री गरेका थिए।
कार्कीले जग्गाधनी लोकेन्द्रको भतिजा नाता पर्ने जीवनराज पाठकको नाममा किर्ते नागरिकता बनाएर जग्गा पास गरेका हुन्। प्रहरीले देवेन्द्र र लोकेन्द्रलाई पनि पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार मालपोतका शाखा अधिकृत भट्टराईसँगको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा हात पारेका हुन्। जग्गा हात पारेलगत्तै थापा र कार्कीले नेचुरल फ्लाओर एन्ड हर्बल कम्पनीको नाममा ४९ लाख रुपैयाँमा बेचेका थिए।
ब्युरो प्रमुख सिलवालका अनुसार हाल सो जग्गामा भौतिक संरचना निर्माण भइसकेको छैन। पीडितले जग्गा सकुशल फिर्ता पाउनेछन्।


Post a Comment

0 Comments