केन्द्रका चिकित्सकहरु आन्दोलित
भक्तपुर– स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेर स्यावासी कमाउँदै आएका स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अनियमितामा चुर्लुम्म डुबेको आरोप लागेका राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका निर्देशक डा.विकाश लामिछानेलाई कारवाही नगरी काखी च्यापेपछि उनको छविमा औंला ठडिन थालेको छ भने भ्रष्ट निर्देशकमाथि कारवाही नभए केन्द्रका स्वास्थ्यकर्मीहरु नै अब आन्दोलनमा उत्रिने तयारीमा जुटेका छन ।
आफ्ना साँहिला ससुरा डा.केदार नरसिङ्ग केसीको कुरा सुनेर र उनीमार्फत नै मन्त्री थापाले नर्देशक डा.लामिछानेलाई जोगाउन लागेको केन्द्रका कर्मचारीहरुले आरोप लगाएका छन् । हाकिम फेर्नको लागि सो केन्द्रका ७५ प्रतिशत असन्तुष्ट कर्मचारीहरुले ३ पटक सम्म सप्रमाण विभागित मन्त्रीकहाँ डेलिगेशन जाँदासम्म मन्त्री थापाले दुईमहिना बितिसक्दा पनि निर्देशक डा.लामिछानेलाई कारवाही गरि अन्यत्र सरुवा गर्नुको साटो अहिलेसम्म काखी च्याप्नुलाई आर्थिक लेनदेनको कुरासंग दाँज्न थालेका छन् केन्द्रका कर्मचारीहरु ।
केन्द्रका निर्देशक डा.लामिछानेको राम्रा भन्दा नराम्रा पक्ष र गल्ती कमजोरीहरु प्रमाणसहित पाउँदा पनि मन्त्री थापाका साँहिला ससुरा डा.केसीका कारण मन्त्रीले डा.लामिछानेलाई कारवाही गरेर मन्त्रालयमा सरुवा गर्न नसकिएको बुझिएको छ । त्यतिमात्रै नभई यतिखेर डा.लामिछानेलाई कारवाही गरे स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने उनको सपना चकनाचुर हुने भएकोले निर्देशक लामिछानेलाई जोगाउन लागेको बताइन्छ ।
मन्त्री थापाका साँहिला ससुरा डा.केसी र निर्देशक डा.लामिछाने समकक्षी भएको र डा.केसीले डा.लामिछानेसंग पदको दुरुपयोग गर्दै विदेश भ्रमण गरि अनियमित तरीकाबाट केन्द्रबाट भ्रमणभत्ता लिएको केन्द्रका कर्मचारीहरु बताउँछन् । डा.केसी यतिखेर केन्द्रीय कारागारमा कार्यरत छन् । पछिल्लोपटक निर्देशक डा.लामिछानेको अनियमितताको बारेमा पत्रपत्रिका र अनलाइनहरुमा आएको समाचारलाई लिएर डा. केसीले निर्देशक डा.लामिछानेसंग उनलाई बचाउने नाउँमा आर्थिक लाभ लिएका समेत केन्द्रका असन्तुष्ट कर्मचारीहरुले आरोप लगाएका छन ।
निर्देशक डा.लामिछानेले केन्द्रको अधिकाँश बजेट अनावश्यक सामान खरीद, अनुगमन, निरीक्षण र सुपरिवेक्षण र केन्द्रको रंगरोगनमा मात्रै सकेर करोडौ रुपैयाँ आर्थिक हिनामिना गरेकोबारे स्वास्थ्य मन्त्रालय र अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानवीन गरि निर्देशनात्मक कारवाहीको लागि सुझाव दिँदापनि अहिलेसम्म निर्देशक डा.लामिछानेलाई कारवाही र उनको सरुवा नहुनुमा यसलाई मन्त्री थापाको इमान्दारिता माथि नै प्रश्नचिन्ह खडा गरेको छ ।
एकहप्ताभित्र निर्देशकको सरुवा नभए उनी मातहतका चिकित्सक, र अन्य स्वास्थ्यकर्मीहरु आफुहरु केन्द्रमा काम गर्न नसक्ने जनाउँदै आफ्नै सरुवाको लागि संयुक्तरुपमा केन्द्रका कर्मचारीहरु मन्त्रालय जाने तयारीमा लागेका छन् ।
0 Comments