Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

–दिपा आलेमगर
एकिकृत मगरात स्वायत्त प्रदेश स्थापनाको साझा अभियानमा लागौं । नेपाल मगर संघको ३५ औं स्थापना दिवस भव्यताका साथ सफल पारौं । भन्ने मूल नारा बोकेको नेपाल मगर संघले फागुन १५ मा देश विदेशमा मगर एकताको दिवस भव्यरूपमा मनाएकाे छ । 

विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै एकताको मालामा गांस्ने दिन हो मगर दिवस । मगर स्थापना दिवस ।  त्यति मात्र नभई यो दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगर एकता सधैं कायम रहिरहोस् भन्ने उद्देश्य बोकेर अगाडि बढेको छ ।

आफ्नै मुख्यौली थातथलो जातीय भूमि (मगरात), मगर जातीयले बोलिने तीन वटा मातृभाषा (ढुट, खाम वा पाङ र काइके),मगर जातीको धर्म (प्रकृति पुजक, बौद्ध) मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली मगर समुदायमा छ । जसलाई नेपालका आदिबासी मुलबासी मंगोल वा मगर जाती समुदायको रुपमा चिनिदै आएको छ । 

आफ्नो मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै आएको छ । नेपालमा रहेका विभिन्न जातजातिहरुको आ आफ्नै पहिचान र अस्त्तिव बोकेको छ जसलाई दिर्घकालिन पहिचान दिन र राष्ट्रको पहिचान बनाउन आज सबै जातजातिहरु आफ्नो जातीलाई सचेत बनाउदै संगठीत हुंदै गईरहेको छ । जसमा मगर समुदाय पनि एक हो । जसले आफ्नो जातीय पहिचान र इतिहासलाई राज्यको निर्णायक तहमा पुर्याउन खोज्दैछ । 

नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिहरु मध्ये सबै भन्दा ठूलो संघ नेपाल मगर संघ हो । जसको आफ्नै पहिचान छ । जसले नेपालको आर्थिक, राजनीतिक, तथा समाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा टेवा पुराउंदै आएको छ । 

मगर जातीको विशेषता भनेको सोझो, मेहनती, इमान्दारी, देशभक्ति, कर्मठ, विश्वासीलो हुन्छन् । नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगरहरु नै जनसंख्या भएको ठूलो समुदाय हो । मगरहरुको थर तथा उपथरहरु अन्य गैरमगरहरु संग मिल्ने र मिलाउने भएको हुंदा जनगणनाले सही तथ्यांक दिन नसकसको अवस्था हाम्रो सामु जगजाहेर छ । यस विषयमा गहिरिएर अन्धयनन अनुसान्धान हुनुपर्छ तर हुन सकिराखेको छैन । जसको यर्थातता भन्नु पर्दा जनसंख्यामा पनि राजनीतिकरण भएको घटना हाम्रा अगाडि धेरै छन् । 

मगर समुदाय किन मगर दिवस मनाउंदै आइरहेका छन् भन्ने बारेमा कतिपय नयां पिढि होस् या त बास्तविक सूचना देखि टाढा रहेका मगर समुदायले नबुझेका हुनाले पनि मगर दिवसलाई मगर समुदायको चाडको रुपमा लिनु पर्छ भन्ने कुरा मगर समुदायमा सुनिन आउंछ । तर फागुन १५ मगर समुदायको चाड नभएर मगर समुदाय एकजुट भएको दिन हो । जुन दिन मगर समुदायको एकता भएको दिन भनेर बुझ्नु आवश्यक छ । तर जनसंख्याको आधार यति ठूलो मगर समुदायलाई आफ्नो दिवसको बारेमा जानकार नहुंदा यस दिवसलाई चाडपर्वको रुपमा बुझिरहेको अवस्था छ । मगर जातीको आफ्नै पहिचान भएको चाड मागे सकराती हो जुन चाडमा मनाउंदा प्रकृति पुजन गरिन्छ । बनजंगलमा पाहिने कन्दमुल, सखरखण्ड, गेडागुडी खाने गरिन्छ किन कि हामी मगर जाती प्रकृति प्रेमि छौ र प्रकृतिको छत्रछायामा हुर्किए आज यो अवस्थामा आईपुगेका छौ । त्यसैले पनि मगर समुदायको मुख्य चाड भनेकै मागे सकराती पर्व हो । जसकालागि नेपाल सरकारले राष्ट्रिय चाडको घोषणा गरी विदा समेत दिएको छ । सम्पूर्ण जातीले आफ्नो चाडपर्वलाई रमाईलो संग मनाउन पाउ भनेर अन्य जातजातिलाई आर्थिक सहयोग गरे झै मगर समुदायलाई पनि आफ्नो राष्टिय चाड बनाउन बर्षेपिच्छे माघे सकराती पर्व मनाउंदा सरकारले ५ लाख भन्दा बढी रकम प्रदान गर्दै आएको छ । यो हाम्रो समुदायकोलागि खुशीको कुरो हो । यसरी आफ्नो चाडपर्व खुशी साथ मनाउन पाउनु पनि मगर संघको स्थापना र एकताको सन्देश हो । 

त्यसैगरी मगर दिवस मनाउनुको मुख्य कारण के हो त भन्ने विषयमा मगर समुदाय र गैरमगर समुदाय, शुभचिन्तक र आम नेपालीहरुलाई चांसोको विषय पनि बन्दै आएको छ । कतिपयले यो दिवसको बारेमा राम्रो संग बुझेका छन् भने कतिपयले यो दिवसको बारेमा बुझ्न खोजिरहेका छन् विषयत यो दिवस मनाउनु मगर जातीको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउंदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो । जसले गर्दा समग्र देशको विकासले गति लिनेछ । मगर संघको सांगठानिक इतिहास हेर्दा वि.सं. १९९७ सालमा प्रवास दार्जलिङदेखि सुरु भएको हो । तर संघको औपचारिक स्थापना भने वि.सं. २०३८ सालमा भएको हो । जसले मगर दिवस मनाउंदै आज ३५ औं मगर दिवस विश्वभर मनाउदैछ । 
राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात वि.सं. २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउंमा क्या.पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो ।

 त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गरयो । यसरी म्याग्दीको औलो गाउंमा हर्कजीत पुनमगरको अध्यक्षतामा मगरहरुको हकहितकालागि एउटा समिति गठन भएको मगर इतिहासविद्धहरु बताउंछन् । त्यसपछि वि.सं. २०१४ सालमा तनहुंमा जिने आलेमगरको सहयोगमा वृहत कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०२८ सालमा मुलुकभरबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीहरुलाई एकजुट गर्दै बाग्लुङ्ग जिल्लाका खिलध्वज श्रीसमगरको संयोजकत्वमा लाङघाली परिवार संघ खोलेको पाइन्छ । त्यसपछि डा. हर्षबहादुर बुढामगरको अध्यक्षतामा वि.स. २०३६ सालमा लाङघाली परिवार संघ गठन गरियो । मगर इतिहासविद्धका अनुसार वि.सं. २०३८ सालमा बुटवलमा केन्द्रीय भेला गरी हेम बहादुर पुनमगरको अध्यक्षतमा नेपाल लाङघाली परिवार संघको प्रथम तदर्थ समिति गठन भयो । त्यसपछि २०३९ साल फागुनको १४,१५मा तनुहंको दमौलीमा प्रथम केन्द्रीय महाधिवेशन गरियो । जुन महाधिवेशनले हेमबहादुर पुनमगरलाई अध्यक्ष चयन गरिएको थियो । 

यसरी मगर संघको सांगठनिक रुपमा परिवर्तन आउंदै गर्दा वि.सं. २०४२ सालमा नेपाल लाङघाली परिवार संघको नाम परिवर्तन गर्दै नेपाल लाङघाली संघ हुंदै दोस्रो महाधिवेशन सम्पन्न भएको पाइन्छ । जुन महाधिवेशनबाट कविराज पुनमगरलाई अध्यक्षमा चयन हुनुभएको थियो । त्यसैगरी वि.सं. २०४२ सालमा मानध्वज रानामगरको अध्यक्षतमा तेस्रो महाधिवेशन गरियो । २०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य संगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि.सं. २०४८ सालमा नेपालका पूर्व मन्त्री एवं आदिबासी जनजातिका वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी “नेपाल मगर संघ”मा नामाकरण गरियो । 

यसरी लाङघाली परिवार संघबाट नेपाल मगर संघमा आईसक्दा देश र विदेशमा रहेका मगर समुदायलाई एकिकृत, संगठीत र संरक्षीत गर्न गठन भएको मगर संघलाई आज आएर फागुन १५को बार्षिक रुपमा मगर समुदायको जन्म भएको दिवसको उपलक्ष्यमा मनाउन थालिएको हो । यसरी मगर संघको मूल उद्देश्य र लक्ष्य लाई आत्मासाथ गर्दै जातीय चेतना, जनजागरण, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण, संबद्धन र कला जीवनप्रतिको खोजी, समाजिक विकासका कार्यशैली, कार्यदिशा र कार्ययोजनाको थालनीहरु मगर समुदायले गर्दै आइरहेको छ । 

त्यसैगरी इतिहासविद् एमएस थापामगरको भनाईअनुसार नेपालका मूलबासी नै मगरहरु हुन भनेर किटान गरेकाछन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिला नेपालमा धेरै मगर राज्यहरु थिए र कालीगण्डकीदेखि दांया अथवा पूर्वतिर १२ वटा र बांया पश्चिमतिर १८ वटा मगर राज्यहरु थिए । जुन राज्यहरुलाई १२ मगरात र १८ मगरात भन्ने गरिन्थ्यो । ति राज्यहरुमध्ये धेरै शक्तिशाली राज्यहरु पाल्पा र गोर्खा थिए । जुन राज्यहरुमा मगर राजाहरु थिए । ति समयमा राजा, मन्त्री, भारदार, निजामति कर्मचारी सेना तथा सरकारी निकायहरुमा सबै मगरहरुको पहुंच थियो । जुन समय मगरहरु भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचानहरु अपार शक्तिको रुपमा स्थापित थियो । 

जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण तथा १०४ वर्षे राणा शासनकालमा मगरहरुको हकअधिकार, भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचान गुमराह शून्य स्थितिमा परिणत भयो । धेरै धनि मगरहरु तथा राज्यका विभिन्न निकायका वरिष्ठ पदाधिकारीहरु गैरमगर जातीहरुमा पयालन भए । जसले गर्दा मगरहरुको हकअधिकार र पहिचान शून्य स्थिति र अझै भयावह स्थिति सिर्जना हुनगयो । यसरी २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापित भयो त्यसपछि केही बुद्धिजिवि मगरहरुले सा–सानो झुण्डमा संगठीत हुंदै गएर आज मगर संघ मात्र होइन मगर संघको भातृसंघ पनि गठन भएको छ । 

जसमा नेपाल मगर विद्यार्थी सघ, नेपाल मगर महिला संघ, युवा संघ, मगर भूपु सैनिक संघ, मगर लेखक, संघ, मगर रेडियोकर्मी संघ, मगर चलचित्रकर्मी संघ, नेपाल मगर बौद्ध सेवा समाज, विभिन्न सम्पर्क तथा समन्वय समिति, भाषिक, साहित्यिक, धार्मिक, सामाजिक, सांस्कृतिक संघ जस्ता मगर संघसंगै सम्बन्धीत निकायहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै यी संघहरु क्रियाशील रहेका छन् । यसरी मगर जातीले आफ्नो गुमेको र गुमराह गरिएको मौलिक अधिकारलाई स्थापित गर्न मगर दिवस मनाउंदै आइरहेको छ । जसको नतिजाले र संगठनले गर्दा आज राज्य समेत मगर समुदायको आवाजलाई सुन्न बाध्य भइरहेको छ । एक दिन मगर समुदायको भावना, आवाज र पहिचानलाई राष्ट्रियता दिनेछ । 

नयां संविधानमा अझ पनि मगर समुदायले उठाएको मूल मुद्धालाई राज्यले पाखा लगाउने काम भईरहेको यस बारेमा राज्य गम्भीर हुन जरुरी छ । यदि राज्यले मगर समुदायले माग गरेको पहिचानको मुद्धा वेवास्ता गरेर अगाडी बढ्छ भने त्यसको नतिजा भविष्यमा राम्रो हुनेछैन । नयां संविधानले नेपाली जनताको केही भावना समेटेपछि जनताले चाहेको पहिचानको अस्त्तिवलाई अहिलेपनि पाखा लगाउने काम भएको छ । तर पनि नयां संविधानमा जहांनियां राणाशासनको अन्याय र अत्याचार विरुद्ध धावा बोल्दै आम नेपालीको रक्षाका निम्ति आफ्नो शरीरलाई बलिदानी दिने नेपालकै प्रथम सहिद क्याप्टेन लखन थापामगरलाई भने १३९ वर्ष पछि राज्यले नेपालकै प्रथम सहिद भनेर घोषणा गरेको छ । 

यो सम्मानकालागि नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधान मन्त्री सुशील कोइरालालाई मगर समुदायले सधैं सम्झीरहनेछ । त्यति मात्र होइन वर्तमान सरकारले समेत हुलाकी टिकटमा लखनको फोटो लागेर अझ सम्मान दिएको छ । आजको यो उप्लब्धी भनेको हिजो दिनमा मगर दिवस जन्माएर निरन्तर आफ्नो अधिकार र पहिचानलाई जोगाउन हाम्रा अग्रजहरु अहोरात्र आन्दोलनमा खटिएर राज्यलाई दवाव दिएपछि पाएको उपब्लधी हो । त्यसैले नेपाल एउटा बहुजातीय, बहुधर्म, बहुसंस्कृति र पहिचानले भरिएको देश हो यहां सबै जातजाती, समुदायको समान अस्त्तिव हुनुपर्दछ । 

राज्यले सबैको भावनालाई समान गर्दै अघि बढ्नु पर्दछ । ताकी एकल ढंगले, एकल जातीले र सम्पन्नवादीहरुको सोंचले बनाएको संरचनाले मात्र देश र आम नेपाली जनताको भविष्य सुनिश्चित हुंदैन भन्ने बुझ्नु पर्दछ । साथै देश विदेशमा रहनु भएका आम मगर समुदाय र नेपाली आमा बुवा, दाजुभाई दिदीबहिनी मित्रजनहरुलाई मगर दिवसको सार्थकतालाई पुरा गर्न हातमा हात र कांधमा कांध दिई सफल बनाउनकोलागि शुभकामना व्यक्त गर्दछु । धन्यवाद । 

(दिपा आलेमगर नेपाल मगर विद्यार्थी संघ केन्द्रीय निवर्तमान अध्यक्ष एवं नेपाल मगर संघ केन्द्रीय सदस्य हुन् ।)

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. जानकारीमुलक लेख छ, कलम चलाउदै जानू हाेला धेरै धेरै शुभकामना

    ReplyDelete