Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउन अब केहि दिन मात्रै बाकी छ । त्रिभुवन विश्व विद्यालय र यस अन्र्तगतका क्याम्पसहरुमा चुनावी माहौलले चरम रुप लिएको छ । विगत आठ वर्षदेखि हुन नसकेको स्ववियु चुनाव हुने भएपछि विद्यार्थीहरुमा चुनावको चहलपहल बढ्नु स्वभाविक हो ।
राजधानीको मुटु मानिने घण्टाघरमा रहेको त्रि–चन्द्र कलेजमा पनि चुनावी माहौल उत्कर्षमा छ । त्रि–चन्द्र कलेजमा यसपटकको स्ववियु निर्वाचनमा एक ऐतिहासिक काम हुँदैछ । त्रिचन्द्र कलेजले यसपटक स्ववियु सभापतिमा महिला उम्मेद्वार पाएको छ । जुन यसअघि कहिल्यै सभापतिमा महिला उम्मेद्वार पाएको थिएन् । यो इतिहासको रचना गर्दैछिन् गीता गुरुङले । गीता गुरुङ नेपाल विद्यार्थी संघको तर्फवाट त्रि–चन्द्र कलेज स्ववियु निर्वाचनमा सभापतिको शसक्त उम्मेद्वार देखा परेकी छन् ।

उमेरले कलिलै भएपनि सभापतिकी उम्मेद्वार गीता राजनीतिमा सक्रिय भएको धेरै वर्ष भईसकेको छ । त्रि–चन्द्र क्याम्पस विएस्सीमा अध्ययनरत दुर्गम जिल्ला सोलुखुम्बु स्थायी घर भएकी गीता कक्षा नौ मा अध्ययनरत हुँदा नै जनकल्याण उच्च मावि सोलुखुम्बुको नेविसंघ ईकाई अध्यक्ष र त्यसपछि नेविसंघ सोलखुम्बु जिल्लाको उपाध्यक्ष भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छन् ।

प्रस्तुत छ,नेपाली विद्यार्थी संघको केन्द्रिय सदस्य समेत रहेकी त्रि–चन्द्र कलेज स्ववियु सभापतिकी उम्मेद्वार गीता गुरुङसंग गरिएको संक्षिप्त कुराकानीः

१.स्ववियु चुनावको गतिविधि के भईरहेको छ ?
– स्ववियु निर्वाचन हुने निश्चित भईसकेपछि चहलपहल निक्कै बढेको छ । चुनाव हुन्न कि भन्ने आशंका थियो तर चुनावी प्रक्रिया नै अगाडी बढेपछि अब आशंका रहेन । म पनि चुनावी गतिविधितिर लागिरहेकी छु ।

२.कलिलै उमेरमा तपाई कसरी राजनीति तिर आकर्षित हुनुभयो ?
– हो । म कक्षा नौ मा अध्ययन गर्दा औपचारिक रुपले नै राजनीतिमा सरिक भए । नौ कक्षा पढ्दा देखि नै ईकाई सभापति भए । मेरो परिवार राजनीतिमा सक्रिय छ । यसकारण पारिवारिक वातावरणले मलाई राजनीतिमा ल्यायो । दोस्रो,जुन समाजमा रहेका सामाजीक विकृति र विसंगतिहरुलाई अन्त्य गर्न,हटाउन राजनीतिक नेताहरुको,अगुवाहरुको भुमिमा प्रत्यक्ष देखे । राजनीतिले मात्र समाजका विकृति हटाउन सक्छ भन्ने मेरो मानसपटलमा बस्यो,यसले मलाई राजनीतिमा लाग्न प्रेरित गर्यो ।

३.तपाई त्रि–चन्द्र कलेज स्ववियु सभापति पदको लागि उम्मेद्वारी दिनुभएको छ । तपाईका एजेण्डा के हुन् ?
– हो । म त्रि–चन्द्र कलेज स्ववियुको सभापतिमा उम्मेद्वारी दिँदैछु । मेरो चुनावी एजेण्डा यसप्रकार छन्ः 
 (क) त्रिचन्द्र कलेजलाई शैक्षिक,प्राज्ञिक थलो बनाउने
(ख)कलेजमा महिलामैत्री वातावरण निर्माण गर्ने
(ग)विद्यार्थीको समस्यालाई ध्यानमा राखी कलेज प्रशाशनलाई चुस्त र पारदर्शी बनाउने
(घ) त्रिचन्द्र कलेज जुन रुपले गुण्डाहरुको कलेज,अनावश्यक राजनीतिकरण भएको कलेज,पढ्ने वातावरण नभएको कलेज भनेर बद्नाम भएको छ यी आरोपहरुलाई गलत साबित गर्ने गरी कलेजलाई नमुना कलेजको रुपमा विकास गर्ने, यी र यस्तै शैक्षिक तथा प्राज्ञिक एजेण्डाहरु मैले विद्यार्थीहरु माझ प्रस्तुत गरेकी छु ।

४.विद्यार्थी राजनीतिलाई कसरी अगाडी बढाउनुपर्छ भन्ने दृष्ट्रिकोण छ तपाई को ?
– विद्यार्थी राजनीति सधै तोडफोड गरेर,सडक आन्दोलन गरेर र राजनीतिक विषयबस्तु मात्र उठाएर चल्दैन् । यी विषयबस्तु उठाएर धेरै पटक विद्यार्थी राजनीतिक आन्दोलन भईसकेको छ । विद्यार्थी राजनीतिक आन्दोलन सफल पनि भईसकेको छ । अब विद्यार्थी राजनीतिले बाटो परिर्वतन गर्नुपर्छ । विद्यार्थी राजनीतिको शाख जोगाउन अब मुलुकको शैक्षिक,आर्थिक र सामाजीक रुपान्तरणतिर विद्यार्थी राजनीति केन्द्रित हुनुपर्छ ।

५.कलेजमा राम्रो वातावरण निर्माण गर्नको लागि कलेजमा सक्रिय अन्य विद्यार्थी संगठनहरुलाई कसरी सहमत अर्थात व्यवस्थापन गर्नुहुन्छ ?
– कलेजलाई नमुना कलेज निर्माण गर्न अन्य विद्यार्थी संगठनहरुको पनि सहयोग अतिआवश्यक पर्छ,यो कुरामा म स्पष्ट छु । सबै संगठनहरुसंग मिलेर काम गर्छु । उनीहरुका सकारात्मक कुराहरुलाई पनि ग्रहण गरेर कार्यान्वयन गर्नतिर मेरो जोड रहन्छ । यस्तै,कलेजको शैक्षिक वातावरणलाई उत्कृष्ट बनाउन आफ्ना एजेण्डाहरुमा अन्य संगठनहरुलाई पनि सहमत गराउँछु ।

६.अन्त्यमा कलेमा अध्ययनरत विद्याथीहरुलाई के भन्न चाहनुहुन्छ ।
– विद्यार्थी साथीहरुलाई स्ववियु निर्वाचन भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्न आग्रह गदर्छु । मरिसकेको स्ववियु जिवित हुँदैछ,त्यसैले सभ्य र भव्य रुपमा स्ववियु निर्वाचन सम्पन्न गरेर स्ववियुको सुनौलो इतिहास जोगाउनुपर्छ । विद्यार्थी बौद्धिक वर्गको हो,त्यसैले संगठनको मुल्याङ्कन गरेर राम्रो विद्यार्थी संगठनलाई आफ्नो अमुल्य मत दिन आग्रह गर्दछु ।

अहिले उत्कृष्ट अबसर आएको छ । यो अवसरलाई गुमाउनुहुन्न । किनकी त्रिचन्द्र कलेजले अहिलेसम्म स्ववियुमा महिला सभापति पाएको छैन् । राष्ट्रपति,सभामुख,प्रधानन्यायाधि छन् स्ववियु सभापति महिला किन नहुने ? महिलाले पनि स्ववियु सभापति हाक्न सक्छ भन्ने सकारात्मक शन्देश दिन चाहन्छौ ।

महिला लाईनमा बसेर भोट हाल्न मात्र होइन् स्ववियु सभापति भएर स्ववियु चलाउन पनि सक्छन् भन्ने शन्देश दिन आवश्यक छ । त्यसैले यो अवसर हो । अवसरलाई खेर नफाल्न म त्रि–चन्द्र कलेजमा अध्ययनरत सम्पुर्ण साथीहरुलाई विनम्रताका साथ अपिल गर्दछु ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply