Ticker

6/recent/ticker-posts

निर्वाचनको मिति घोषणाबारे प्रधानमन्त्रीले परामर्श थाले

काठमाडौं, माघ । निर्वाचन मिति घोषणाको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बद्ध निकायसँग परामर्श थालका छन् । स्थानीय निकायको चुनावको मिति घोषणाका लागि अन्तिम तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकारसँग छलफल गरेका हुन्।
कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिक्ता रमन श्रेष्ठलाई राजधानीको बालुवाटारस्थित सरकारी निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति र संविधान संशोधन विधेयकबारे परामर्श गरेका हुन् । आज अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा प्रस्ताव लैजाने तयारी भएपछि प्रधानमन्त्रीले त्यसको कानुनी बाटोबारे छलफल थालेका हुन् ।
छलफलमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशसरण महत, सहरी विकासमन्त्री अर्जुनरसिंह केसी पनि सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री महतसँग विभिन्न मुलुकमा राजदूत नियुक्तिमा भइरहेको ढिलाइबारे छलफल गरेका थिए ।
संसदीय समितिले चाँडो राजदूत नियुक्ति प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि मन्त्री महत परराष्ट्र सचिव शंकरदास बैरागीसहित बालुवाटार पुगेका हुन् । अहिले १३ मुलुकमा राजदूतविहीन छ । प्रधानमन्त्रीले बिहीबार बिहान अर्थ सचिव शान्तराम सुवेदी र गर्भनर चिरञ्जीवी नेपालसँग समेत पछिल्लो आर्थिक अवस्थाबारे छलफल गरेका थिए ।
यसअघि प्रधानमन्त्रीले बुधबार स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदहरुसँग परामर्श गरेका थिए । सत्तारुढ दलका प्रमूख नेताहरुको उपस्थितिमा प्रधानमन्त्रीले संविधानविदहरुसँग परामर्श गर्नुभएको छ । परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविदहरुसँग राय माग्नुभएको थियो । त्यस क्रममा संविधानविदहरुले सरकारले तोकेको मापदण्ड र कार्यदेश अनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएका थिए ।

Post a Comment

0 Comments