Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

- बसन्तप्रकाश उपाध्याय

यही दिन र परिवेश । मात्र फरक एक्काइस वर्षअघि गोरखाबाट फुकिएको थियो आशा अपेक्षा र भरोसाको सशस्त्र बिगुल । अहिले चाहिँ सबै भरोसाहरूका ‘हावा बेलुन’ फुटेका छन् र गिज्याइरहेको छ सिंहदरबार सत्ताको चँदुवाले माओवादीहरूलाई । केही कुरा कथा जस्तो लाग्छ । केहीमा सिद्धान्त र व्यवहार बीचका मिल्दै नमिलेका उपकथाहरू देख्न सुन्न र पढ्न पाइन्छन् ।

धेरै सन्दर्भहरू त लथालिङ्ग र भताभुङ्ग छन् । जनसत्ताको स्वप्न बीजमा ‘माओवाद’ भित्र क–कसका के–के कमजोरी रहे ? त्यो जानून्– प्रचण्ड, बाबुराम, किरण र विप्लव कामरेडहरूले नै । तर, बुझिएको सत्य यहाँ सर्वहाराहरूले आफ्नो अधिनायकत्व स्थापित गर्नु त कता हो कता ? उल्टो सर्वहाराहरूले एक छाकको आहारा पनि पाएनन् ।
अजेय वैभव र वर्चस्व देखियो सशस्त्र द्वन्द्वको नाममा सुमार्गीहरूको । सत्य र सद्भावको गार्गी रूपमा बेचेर कुदाउनु कुदाए लेखराजहरूले रुकुमेली र रोल्पालीलाई ।

पञ्चायतकालीन मन्त्री बाबुको मेख मार्न हुर्किएकी हिसिला म्याडमले क्रिम पाउडर नपोतेको देखर दङ्ग फुरुङ्ग थिए प्युठाने र बझाङ्गे महिला योद्धाहरू । एक सुरमा र लयमा जहीँतहीँ गाउँथे उनीहरू ‘कोही त भने जहाजमा हरर…।’ वास्तवमा तत्परिवेशले धेरै दम्भी र ढाँेगीलाई ‘साइज’मा ल्याएको सुनिन्थ्यो । ढिके नुनसँग कतिपय जुवाडेहरू तास निल्न बाध्य थिए ।

मांस मदिराका भट्टीहरूले जड्याहालाई लर्खरिँदै हिड्ने छूट दिएको थिएन । सामाजिक न्याय अनुप्राणित हुनेहरू अन्याय देख्दा भन्दथे ः ‘अहिले माओवादी आउँछन् अनि थाहा पाउलास् ।’ दिन बिते । समय घर्कियो । वर्ष फेरियो । मुठ्ठीभरका माओवादी ‘प्लाटुन’मा परिवर्तन भए । प्लाटुन कमाण्डरहरूको आज्ञा अह्रोटमा मर्न–मार्न तयार ‘सिपाही’हरूसँगै शिष्य थपिए । उत्कर्षमा माओवाद नपढेकाहरूले समेत ‘खाओवाद’को दौडधूपमा लाग्न सकेनन् ।

रोमाञ्चक प्रसंगहरू सुनिन्थ्यो । प्रचण्ड कामरेडको एउटा फोटो र कृष्णभिरको अर्को फुटेजले रंग तरङ्ग ल्याउथ्यो । लगभग कब्जामा थियो मुलुक माओवादी आन्दोलनको नाममा । राजधानी र शहर केन्द्रीत सत्ता–शासन त्रास र सन्त्रासमा सम्साँझै ढोका थुन्थ्यो । आखिर कहाँ हरायो त्यो मर्यादा र मर्म ? प्रश्नहरू उठिरहेका छन् यतिखेर ।
हो, माओवादी आन्दोलन हिंसाको तरवार बोकेर स्थापित त भयो ।

तर, यसले परिवर्तनलाई संस्थागत गर्ने प्रतिवद्धताको कलममा समर्पणको मसी भरेन । भूमिगतकालीन अत्यासको व्यापार गरेका नेताहरूले सार्वजनिक हुनासाथ ‘एैय्याश’को बाटो र नीति अख्तियार गरे । प्रचण्ड प्यास र लालसा ‘रेड–ब्ल्याक हुँदै ब्लू लेभल’ उन्मूख भयो । हज्जारौं हज्जार योद्धाहरूले बगाएको रातो रगत उनलाई गन्हाउन थाल्यो । नीति र नेतृत्वको नाममा डाक्टर बाबुराममा आधुनिक पृथ्वीनारायणको भूत सवार बन्यो । गुरु भनेर मख्ख पारिएका मोहन वैद्यले ‘गोरु–नियति’ मा हठवाद जोत्न थाले । चंख–चतुर नारायणकाजीले माओवाद र माक्र्सवादको सौन्दर्य फाट्टिएको दाँतलाई तार लगाएर बिर्सिए ।

ठूला र ठेकेदार मतिहीन भएपछि प्यादा र प्युसाको के कुरा गर्ने ? बाटो सफा गर्दै हिँड्थे क्यार ! एकताका वाईसीएलका गणेशमान र सागरहरू । विचरा उनीहरूले बाटो सफा गर्दागर्दै ‘घडेरी’ देखे । घडेरीपछि घर बनाउने सूत्र थाहा पाए । लाजिम्पाट दरबारमा प्रकाशबाबु ‘ल्यापटप’चलाउँदै ‘भिडियो च्याट’ गरेको देखेपछि उनीहरूलाई सहयोद्धाको तिघ्रामा ‘प्याट्टप्याट्ट’ गर्न कसले रोक्ने ? सांस्कृतिक विचलनसँगै सामाजिक स्खलनले माओवादीलाई ‘खाओवादी’को नवीन संस्करणमा पु¥यायो ।

फेरि आजै देखियो– केही हूलहरूले समाइरहेका रहेछन् नौलो जनवादी रटानको ‘विप्लव–कार्ड’ । चार दिनअघि काठमाडौं छिरेका भए उनीहरूका नांगा खुट्टा र आङले थाहा पाउने थियो माघे काठमाडौंको ठिहीँ । तर फागुन लागेर सूर्य उत्तरायण भएपछि गर्मिएको सडकमा उनीहरूले देखाइरहेछन् सामन्तवादविरुद्धको आक्रोश । लाग्छ यस्तो, अझै पत्तो छैन उनीहरूलाई नारा र यथार्थको विभेद ।

जेहोस् धान्ने हो एउटा परम्परा, फेरि केही हूलले धानिरहेका छन् ‘जनयुद्ध दिवस’ नामको खेलो–फड्को । थाहा छैन आजैको दिन र परिवेशमा कहाँ–कहाँ के–कस्ता स्वप्न व्यापारले यो दिवस मनाइएको छ । तर राजधानीमा देखिएको यो पारा हेर्दा भन्नैपर्छ– टुँडिखेलबाट सिंहदरबार नपुगुञ्जेलसम्म मात्रै यी राता टोपी देखिने हुन् ।
साभारः मिडिया एनपी

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply