Ticker

6/recent/ticker-posts

स्ववियु चुनाव फागुन १४ मै

काठमाडौ, फागुन ।
प्रमुख तीन दल तोकिएको मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गर्न सहमत भएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली,बिवीका पदाधिकारी र विद्यार्थी संगठनका नेतृत्वबीच बुधबार विहान बालुवाटारमा भएको छलफलमा फागुन १४ मै चुनाव गर्नु पर्नेमा सहमति भएको हो ।
बैठकपछि नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले भनेः‘आन्तरिक कार्यतालिका अलिकति प्रभावित भएको छ । यसलाई विश्वविद्यालयले मिलाउँछ तर, निर्धारित मितिमा चुनाव गरौं भन्ने सहमति भएको छ ।’
छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतालार्इ आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए ।
अध्यक्ष महरले अगाडी भनेः‘स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताए ।
एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिए ।
स्ववियु चुनाव फागुन १४ लाई तय भएको छ । तर, विप्लव माओवादीले चुनावको विरोध गर्दै आएको छ । उसले स्ववियु निर्वाचन अवरुद्ध पार्न विभिन्न क्याम्पसमा तालाबन्दी गरेको छ ।

Post a Comment

0 Comments