Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

– वसन्तप्रकाश
उत्तरी भेगको भन्सारबाट दक्षिण झरेर डुम्रे पुगेपछि म पूर्वतिरको काठमाडौ लागेको हुँ । मसँग डुम्रेबाट पश्चिम पोखरा लाग्ने बाटो पनि थियो । मैले रोजें– काठमाडौं । मुग्लिन पुगेर गाडी रोकिँदा मसँग दुई स्वादमध्ये एउटा रोज्नुपर्ने अवस्था आयो– ‘शाकाहारी कि मांसाहारी ।’ मैले मूल्य हेरिन र अभ्यस्त स्वाद उन्मुख नै भएँ । केही घण्टाको यात्रापछि नौबीसेमा फेरि रोजाइका दुई पाटा देखिए– तातो कि चिसो ? यी दुई पेय बीचबाट मैले तातो चिया रोजें । र, काठमाडौं छिरें ।
कलिलो उमेरमा गतिलो नम्बरको प्रमाणपत्र थियो मसँग । सुनिएको अस्कल, टिसी अथवा पुल्चोकको इञ्जिनियरिङ पढ्नुपर्छ भन्थे सबै । तर मलाई चण्डोलबाट ‘विक्रम टेम्पु’ चढेपछि पुगिने रत्नपार्क छेउछाउबाट कहाँ कसरी जाने पत्तो थिएन । लगभग म दिमाग भएको ‘दुनियाँ’ थाहा नभएको प्राणी थिएँ । अचेलको स्वरुपमा घरपरिवार भएका तर समय नपाएका शहरीया छोराछोरी जस्तै कसैको साथ नपाएको अवस्थामा थिएँ । केही बुझेपछि मैले ‘डेरा’ लिएँ । बाटाघाटा थाहा पाएँ । खासमा चाहिने मार्गनिर्देश पाइँन र ‘मानविकी’ पढ्न थालें ।
पढाइ र भोगाइमा अनेकन मोड आए । थुप्रै बाटाहरु देखिए । दोबाटोसम्म जिन्दगीले एउटा गन्तव्यतिर उन्मुख गराउँथ्यो । यद्यपि चौबाटोको जाउलाखेल होस् या नयाँ बानेश्वरको मध्यभाग, त्यहाँ मैले चिडियाखानाको पशु यात्रामा पुग्नबाट रोक्दै आएँ र आइरहेको छु । र, यही क्रममा यतिखेर म नियतिको धर्मपथमा छु । धर्मपथको यात्रा बडो कठिन छ । अधर्मीहरुको विगविगी र साम्राज्य फैलावटमा सत्य बाँच्न कति गाह्रो छ, त्यो बूढो पीपलबोटलाई थाहा हुनुपर्छ । पीपलबोटले पत्रपत्रिकाको समाचार व्यापार देखेको छ, अपार मान्छेका दौडधूप नियालेको छ, अनि पीपलबोटले थाकेका र सुस्ताएकालाई छहारी दिएको छ । 

...............................................................
मानविकीको पढाइले ‘माननीय–कमाइ’को भिल्ला र कटेज नदिने पत्तो थियो मलाई । रत्नराज्यको रंगमञ्चबाट इन्द्रेणी अपेक्षाका स्वप्न मूर्त नहुने जानकारी थियो मलाई । म मानवीय सत्यका बाटा र पाटामा रम्न चाहन्थें । यो ‘तान्त्रिक’  शहरले खोजेको चीज दिन्छ भन्थ्ये मान्छेहरु नभन्दै मैले खोजेको र रोजेको लक्ष्य र अभिष्ट भेटेँ । मैले उच्छवासका ‘कविता’ खोजें, त्यो पाएँ । मैले विदुर र विधवा सत्यमा सेतो खुशीको ‘कथा’ चाहें, त्यसलाई मैले ग्रहण गर्न कुनै आइतबार कुर्नु परेन । गीत–गजल, मुक्तक जीवन विम्बका द्योतक ठान्दै त्यसैमा आफूलाई घुलन गराएँ । अनि यस्तै भयो आवाजविहीनको दमित सोच, शैली र सिद्धान्तको ‘समाचार’ खोज्दाखोज्दै मेरो ‘आकार’ र ‘प्रकार’ बदलियो ।
हो रहेछ, जीवन जुन आयाम र आयतनमा फैलन चाहे पनि उसको उद्भव र उत्सर्ग कस्तो छ ? त्यसैले नै धेरै अर्थ राख्दो रहेछ । यसअर्थमा मैले मेरी आमा र पिताजीबाट जे–जस्तो आड, भरोसा र अभ्यर्थना पाएँ, त्यसैले मलाई यो यात्रामा अविचलित तुल्यायो । पिताजीलाई अहिले पनि थाहा छैन् मेरो पदीय चिनारीको ‘कार्यकारी सम्पादक’को मर्म र धर्म । मैले के पढें, कति पढें ? त्यसको लेखाजोखा र सांगोपांगो मापन गर्नुहुन्न उहाँ । पिताजी भन्नुहुन्छ ः ‘जीवन चर्चित होइन, चलायमान हुनुपर्छ ।’ उहाँको ठहर छ – ‘थेग्रिने’ मानसिकता मोटो शरीरमा ‘बोसो’ जस्तै हो ।’
उठ्नासाथ जप–तप र व्यायामले स्फूर्त बन्नुहुन्छ पिताजी । शाकाहारी भोजनको सत्यमा उहाँले हामीलाई चाहिं कहिल्यै मांस–मदिराको अपहेलित दृष्टिकोणमा व्याख्या गर्नु भएन । कसैले भन्नुभन्दा आफैले व्यहोर्नुले नतिजा प्राप्त हुने दृष्टिकोण छ उहाँको । एकपटक मलाई पिताजीले सतीघाटको झोलुङ्गे पुलमा एक्लै हिंड्न सिकाउनु भएको म बिर्सन्न । पुल साह्रै हल्लिन्थ्यो । म डराउँथे पुल तर्न । मलाई पिताजीले एकपटक एक्लै पुल तराएपछि घाटपारि पुग्नासाथ भन्नुभयो– ‘डर, त्रास र अत्यास आफू आफैले आफ्नु मनबाट हटाउन सक्नुपर्छ छोरा ।’ पुल तर्नुसँगै साढे दुई घण्टा जति हिंड्नुपर्दथ्यो ‘स्कूल’ पुग्न । करिब एक घण्टा त बाक्लो जंगलको बाटो थियो । त्यो पनि ठाडै उकालो । यी बाटाका विप्ल्याँटाहरुमा म आत्मभरोसाका अनेकन सपना साँच्दै हिड्थेँ । एक्लै हुँदा सती घाटको प्रसंगमा आफूलाई होम्थेँ ।
सती घाट ।
यो नाम र प्रसंगसँग मेरो पारिवारिक साइनो र मर्म छ । खासगरी मेरी जिजुआमा त्यही घाटमा ‘सती’ जानुभएकाले त्यसलाई सती घाट भनिएको होे । सती–सत्यको एउटा लामो कथानक छ । चन्द्रशमशेरले सती प्रथा उन्मुलनको घोषणा गरेलगत्तै जिजुआमा सती जानु भएको थियो । त्यसको लामो इतिहास र फेहरिस्त म सुनिरहेको हुन्थ्येँ । अहिले पनि कैयौं प्रसंगमा मान्छेहरुले सती–विम्बको प्रयोग गर्छन् । धेरैजसोले यस विम्वमा ‘सतीले सरापेको देश’ भनेको सुन्छु । मन कोक्याउँछ यस्तो सुन्दा । मेरी जिजुआमाले समर्पित–साथको उत्सर्गमा जसरी आफूलाई होम्नुभयो, त्यसको महत्वलाई विहङ्गम–दृष्टि विना मापन गर्न सकिंदैन । सत्य–निष्ठा र समर्पणले शितल अनुभूति नगरे मात्रै आगोले पोल्ने हो । मान्छे जब स्थूल शरीरको भोगाइमा सीमित हुन्छ तब मात्रै ऊ ऐय्या... आथ्यु गर्छ । भर्भराउँदो आगोको रापलाई बायु चेतनाले जित्नासाथ मोक्ष यात्रामा पुग्छन् मान्छेहरु । शायद जिजुआमा यही जिद्दी स्वरुपमा अग्निकुण्डमा होमिनुभयो र सती–सत्यपथमा हिंड्नुभयो ।
यही ओजिलो पारिवारिक विगतको चिनारीले मलाई सानैदेखि पृथक परिचय दिइरहेको थियो । घर अगाडि भर्खरै खोलिएको माध्यामिक विद्यालय छाडेर गोरखा पुग्नुको कारण र कर्म पनि यस्तै थियो । एकपटक मेरा पिताजीसँग भेट भएछ– गुरु हितराज पाण्डेको । मेरो तेज–पढाइको कुरा सुन्नु भएका हितराज गुरुले भेटमा भन्नुभएछ– ‘ल दाजु! अब जेठो छोरो मेरा जिम्मामा दिनुस् ।’
गुरुकुल, नैतिक शिक्षा र सामाजिक उत्तरदायित्वबाट दीक्षित पिताजीले हितराज सरलाई ‘वचन’ दिनुभयो । पिताजीको वचनका कारण म घरबाट धेरै पर पुगेँ । उमेर थिएन आफै पकाउने–खाने, भाँडा माझ्ने । तर परेपछि सिक्दै गएँ । मेरो हरेक भोगाइ, सिकाइ र बुझाइका साक्ष्य स्वरुपसँगै मार्गनिर्देशक हुनुहुन्थ्यो– हितराज गुरु ।
दिन विते । समयले कोल्टो फेर्दै गयो । विद्यालय र हितराज गुरुका प्रिय शिष्य बनेर मैले माविको पढाई सकेँ । सामाजिक आर्थिकदेखि राजनीतिक पाटो र परिपाटी बदलियो । एक दिन भेट भयो हितराज गुरुसँग सिंहदारबारमा । उहाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको कुर्सीमा हुनुहुन्थ्यो । म उहाँको अगाडि पट्टिको कुर्सीमा बसेर ‘जडवत्’ हेर्दै थिएँ । सोझो–सरल र नम्रविनोदी स्वभावका गुरु सामुन्ने खुल्न सकिरहेको थिइँन । उहाँले कुममा प्याट्ट पार्दै भन्नुभयो– ‘ ल भन ! के छ तिम्रो हालखबर । अनि पिताजी सञ्चै हुनुहुन्छ ?’
गुरुको अगाडि म थिएँ । उहाँले मेरो मात्रै कुरा गर्नुभएन । पिताजीलाई सम्झनुभयो । र, हामीले हाम्रा कुरालाई त्रिकोणीय आयममा धकेल्यौं । हितराज गुरुले फर्निचर विषयमा हामीलाई ‘अब्लिक’बाट ‘आइसोमेट्रिक’ स्वरुमा रेखांकनको तौर तरिका सिकाउनुहुन्थ्यो । गज्वब थियो त्यो प्रविधि र दृष्टिकोण । तीस डिग्रीमा खिचिएका रेखाहरुलाई पैतालीस डिग्रीमा हेर्ने र नदेखिएका भागहरुको ‘हिडन–लाइन’ तान्ने सूत्र । प्राविधिक पढाइमा ‘डष्टर’ बनाइयो । ‘पिर्का’ तयार पारियो । डेस्क र वेञ्च बनाउन सिकियो ।
मेरा हातहरुले ‘आरो’ समाएको थिएन त्यसअघि । काँटी र किलाको सन्तुलित आयामको पत्तो थिएन मलाई । पटक्कै नरिसाएर सिकाउनु हुन्थ्यो– हितराज गुरु । संयम, धैर्य र दोहो¥याइ ‘पराकाष्ठामा नपुगेसम्म उहाँ ‘चर्को’ सम्म बोल्नु हुँदैनथ्यो । बेलावखत झसंग हुन्छु म उहाँलाई सम्झँदा – यस्तो सादगी र सपाट मान्छे पनि कसरी जनयुद्धमा लाग्नु भयो होला भनेर ।
राजनीतिक मुद्दा, मर्म र मान्यताको चकमार्फत उहाँलाई कहिल्यै ‘र’ पनि लेख्नुभए  हामीबीच । काला कर्मको वोर्ड देखाएर उहाँ बरु ‘डष्टर’लाई गाली गर्नुहुन्थ्यो यदाकदा । उहाँ भन्नुहुन्थ्यो– ‘यो डष्टरलाई अक्षर देख्नै हुँदैन, मेटिदिइ हाल्छ ।’ पटक–पटक गुरुका मुखबाट यो सुनेका कारण मलाई अहिले पनि छोराछोरीले वोर्डमा मार्करले लेखेका कुरा मेट्न संकोच लाग्छ । हुन त हाम्रो संकोचले रीतिरिवाज, प्रचलन एवं पद्धति रोकिँदो रहेनछ ।
सम्झिरहनेछु– तिनै गुरु जसले पछिल्लो परिदृश्यमा आएर मुलुकको संघीय संरचनालाई गति दिन कुनै कसुर बाँकी राख्नु भएको छैन । अहोरात्र खटेर संविधान कार्यान्वयनको पक्षमा अहम् योगदान पु¥याउनु भयो । दुर्भाग्य, उहाँले छरेको उज्याले, उहाँले अघि बढाएको दृष्टिकोण र परिवेश डष्टरले अक्षर मेटेकै नियतिमा दौडिन पुग्यो । धेरै पछि सम्पर्क भयो उहाँसँग । उहाँमा किञ्चित पदीय मर्यादाबाट बाहिरिएको अनुभूति थिएन । उहाँ ‘राष्ट्रिय आवश्यकताको’ मर्मले आफू बाहिरिए पनि त्यसको कार्यान्वयन भए गर्व गर्ने बताइरहनुभएको थियो । उहाँ भन्दैहुनुहुन्थ्योः ‘मैले त तिमिहरुलाई होमवोर्क गर्न समय त दिन्थेँ मलाई त गरिसकेको होमवर्क पनि बुझाउन दिइएन । 

(नेपाल म्यागेजिनमा अाइतबार प्रकाशित निबन्ध )

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply