Ticker

6/recent/ticker-posts

नेपाली कांग्रेसद्वारा चैत १० गते केन्द्रिय समिति बैठक आह्वान

काठमाडौ, चैत ।
सत्तारुढ दल नेपाली कांग्रेसले सप्तरी घटना, स्थानीय चुनाव, संविधान संशोधन लगायतका विषयमा छलफल गर्न चैत १० गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले स्थानीय तहको निर्वाचनको तयारीका लागि पनि पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पार्टी सभापतिसँग माग गर्दै आएका थिए । पौडेल पक्षले राजदुत नियुक्तिमा समेत बेवास्ता गरेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना गर्दै आएको थियो ।
यसैबीच,सत्तारुढ नेपाली कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संविधान संशोधन विधेयक तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन् । सरकारले अहिले पास गर्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय चुनावपछि मात्र संविधान संशोधन विधेयक अघि बढाउने प्रस्ताव अघि सारेको छ । र, संशोधन विधेयक संसदको नियमित कार्यसूचीमा समेत पर्न छाडेको छ ।
तर, मधेसी मोर्चाले संशोधन नभई चुनाव हुन नसक्ने बताएपछि कांग्रेस शीर्ष नेताहरुले पार्टीका तराई मधेसका सांसदहरुसँग छलफल गरेका थिए । संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेसका तराई मधेसका सांसदहरुले स्थानीय चुनाव अघि नै संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।
राप्रपा अध्यक्ष कमल थापा आफैं सरकारमा आएकाले उसले पनि समर्थन गर्ने भन्दै सांसदहरुले अब संशोधनको पक्षमा दुई तिहाई पुग्ने विश्वास व्यक्त गरे । अर्का सांसद रामकृष्ण यादवका अनुसार संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने प्रक्रिया अघि बढाउने र निर्धारित मितिमै चुनाव गर्नुपर्ने सबैको धारणा थियो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेः‘हामी स्थानीय चुनाव गराउन चाहन्छौं र संविधान संशोधन पनि गर्छौं ।’ संशोधन पास गराउन दुई तिहाई पुग्छ त भन्ने प्रश्नमा देउवाले भनेः‘हेर्नुस् न पुगिहाल्छ नि ।’

Post a Comment

0 Comments