Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सुकुम्वासी वस्तीमा मोवाइल एक्सरे र खकार परीक्षणका लागि जीन एक्स्पर्ट मेशीन सहितको स्वास्थ्यकर्मीको टोली तत्काल खटाउन आवश्यक  

- बलराम प्यासी  

Balram Pyasi
लगातार खोकी लागेको धेरै भईसक्यो, यसैका कारण दुबै आँखा गाडिएका छन् । उमेर २० वर्ष भनिएता पनि शरीरमा हाडछाला मात्रै छ, ६५ वर्षकी जस्ती देखिने । गोरखपुर घर बताउने ज्योति चौधरी आफ्नो १० महिने काखे वालकलाई दुध चुसाउँदै आधा हिन्दी मिसिएको नेपालीमा भन्दै थिइन ‘कहाँ जाँच्ने, पैसा पनि छैन, जाँच्ने ठाऊँ पनि मालुम छैन ।’  

उनीमात्रै हैनन गोरखपुरकै १७ वर्षकी रोशनी र २२ की काजलको पनि शारिरीक अवस्था उस्तै छ । छाती दुख्छ, खोकी लाग्छ, उमेरमा पोटिलो देखिनुपर्ने अनुहार र शरीर रगत सुकेको जस्तो कालो छ । उनीहरुकै भनाईमा धेरै बेर उभिन सक्ने क्षमता छैन, थकाई लागिहाल्छ ।  

आफुले सञ्चालन गर्दै आएको अनौपचारिक कक्षामा पढ्न आउने त्यस्ता लक्षण भएका विरामीको संख्या बढ्न थालेपछि डा.पुष्पा भट्टले तीनीहरुमध्ये केहीलाई बसभाडा र छातीको एक्सरे गर्दा लाग्ने शुल्कसमेत दिएर थप स्वास्थ्य जाँच गराउन शुक्रबार क्षयरोग अस्पताल पठाइन । एचआइभि एड्स विशेषज्ञको रुपमा लामो अनुभव बटुलेकी डा.भट्टले जडिबुटीको सुकुम्बासी टोलमा विगत ३ महिनादेखि सञ्चालन गर्दै आएको अनौपचारिक कक्षामा आएका उनीहरुलाई शुक्रबार आफैंले स्वास्थ्य परीक्षण गरेपछि ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा रिफर गरेकी थिइन् । 

उता मुलुक शुक्रबार अर्थात २४ मार्चमा सरकार र दातृ संस्थाले दिएको बजेट सक्दै विश्व क्षयरोग दिवस मनाइरहेको थियो । दिवस मनाउने क्रममा वक्ताहरु भन्दै थिए ‘उपचारमा नआईसकेका ९ हजार क्षयरोगीहरु खोज्नु अहिले सबैका लागि चुनौति बनेको छ,उनीहरुलाई खोज्नु यस क्षेत्रमा काम गर्ने सबैको जिम्मेवारी हो ।’  

त्यतिमात्रै होइन विश्व क्षयरोग दिवसको पुर्वसन्ध्यामा बुधबार टेकुमा आयोजना गरिएको नाममात्रैको पत्रकार सम्मेलन (जहाँ क्षयरोगबारे बुझेका र यसबारे कलम चलाइराखेका भन्दा भत्ता लिन आउने (प्रति पत्रकार १ हजार ५०० बाँडिएको) मा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्त भन्दै थिए ‘भेटिएका क्षयरोगीमध्ये ९० प्रतिशतलाई उपचार गरेर निको पार्न हामी सफल भएका छौं, हालसम्म उपचारमा नआएका अनुमानित ९ हजार क्षयरोगीलाई खोज्ने जिम्मा पत्रकारहरुको पनि हो ।’ 

एता सुकुम्वासी टोलमा भारतको गोरखपुरबाट आएका पुजा, रोशनी र काजल जस्तै सयौंको संख्याका भारतीय र नेपालकै संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापबाट ३ हजारभन्दा बढी नेपालीहरु कोटेश्वरको जडिबुटी र भक्तपुरको लौहकिल्थली मनोहरा खोलाकिनारको सुकुम्बासी टोलमा छाप्रो बनाएर बस्न थालेको निकै वर्ष भईसक्यो । शारिरीक रुपमा सक्षम व्यक्तिहरु दिनभरी ज्यालादारी काम गर्ने, रंगरोगन गर्ने, विजुली वायरिंग गर्नेदेखि विभिन्न काम गरेर दैनिकी गुजारि राखेका छन् । सास नै फेर्न कठिन हुनेगरि एकपछि अर्काे जोडेर पुराना जस्तापाता बटुलेर बनाइएका छाप्राहरुमै कसैले कुखुरा, हाँस र सुंगुर समेत पालेका छन भने कसैले त्यँहिभित्रै रक्सीका भट्टी र खाजा होटेलसमेत चलाएका छन ।  

उनीहरुमा न त क्षयरोगबारे थाहा छ, न अरुरोगबारे नै । बेस्सरी ज्वरो आयो, रुघाखोकी लाग्यो, लडेर हातगोडा भाँचियो या अतिसार नै भएपछिमात्रै उनीहरु अस्पताल जानेगरेका रहेछन, अन्यथा नजिकैको मेडिकल जानु या जडिबुटीतिर निःशुल्क स्वास्थ्य शिवीर भयो र सित्तैमा औषधि पाइयो भने मात्रै उनीहरु जचाउँन जाने रहेछन । नभए रोगलाई लुकाउनु उनीहरुको वाध्यता र लापरवाही उनीहरु प्रायःको विशेषता रहेछ ।  

जडिबुटीको सुकुम्वासी टोलमा मात्रै नभई बागमती, विष्णुमती, मनमती, टुकुचालगायत राजधानीका खोलाकिनारमा अव्यवस्थित सुकुम्वासीको रुपमा गुम्सिएर बसेका २० औं हजारको संख्यामा बसेका सुकुम्वासीका विचमा न त राज्य पुग्नसकेको छ न उनीहरुको स्वास्थ्यप्रति अहिलेसम्म कोही सचेत र जिम्मेवार देखिएका छन । सुकुम्वासीहरु आफु बसेको टोल नजिकैका बस्ती, सडक चोक र गल्लीहरुमा दैनिकजसो काम गर्न, माग्न, सुंगुर, कुखुरा र हाँस काटेर मासु बेच्न, किनमेल गर्न जाने गरेका भेटिन्छन । जसले गर्दा उनीहरुमा लक्षण देखापरेको क्षयरोगजस्तै अरुवा सरुवारोग पनि अन्य स्वस्थ व्यक्तिहरुमा सरीरहेको छ । सरकारले अब बन्ने स्वास्थ्यनीतिमा क्षयरोगीले समयमै उपचार गरि आफ्नो रोग निको पार्नुपर्ने अन्यथा रोग लुकाएर स्वस्थ व्यक्तिलाई सारेमा दण्डित हुनुपर्ने समावेश गर्दैछ ।  

मुलुकभरी यतिखेर ४४ हजार नयाँ क्षयरोगी रहेको सरकारी तथ्यांक छ । गतवर्ष पत्ता लागेको भनिएका ३४ हजारसमेत पुराना र नयाँ गरी ८० हजार क्षयरोगी भएको अनुमान गरिएको छ । तर अनुमान गर्ने मात्रै हो, न यसको कुनै आधार छ, न मापदण्ड नै । क्षयरोग, क्षयरोगीको वर्तमान संख्या,अवस्था, निको हुने, सर्ने र यसबाट मर्नेहरुको यकिन संख्या पत्ता लगाउनका लागि सरकारले अहिलेसम्म क्षयरोगको प्रारम्भिक सर्वेक्षण अर्थात टिबि प्रिभिलेन्स सर्भे गर्नसकेको छैन । न त नयाँ क्षयरोगी हुनसक्ने शहरका यस्ता भीडभाडयुक्त वस्ती र सुकुम्वासी टोलमा क्षयरोगको चेतना फैलाउन सकेको छ ।  

यस्तो भीडभाडयुक्त सुकुम्वासी वस्तीमा मोवाइल एक्सरे र खकार परीक्षणका लागि जीन एक्स्पर्ट मेशीन सहितको स्वास्थ्यकर्मीको टोली तत्काल खटाई वस्तीभित्र क्षयरोग लुकाएर बसेका हजारौं क्षयरोगीहरुलाई सोही ठाउँमै नियमितरुपमा डट्स विधिबाट उपचार गर्ने कार्यमा सरकार किन पछाडि परेको ? 

नेपालमा क्षयरो रोकथाम, नियन्त्रण र जनचेतना जगाउनका लाग भनेर विभिन्न शिर्षक र उपशिर्षकमा गरि करीव ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि उत्पातनमूलक कार्यमा २५ प्रतिशत बजेट खर्च हुन सकेको छैन । अनि क्षयरोग दिवस होस या पत्रकार सम्मलेनमा होस् उपचारमा नआएका ९ हजार क्षयरोगी खोज्ने जिम्मा अरुलाई दिएर आफु पन्छिनु कतिको जायज हो ? सरकारी ओहोदामा बस्नेहरुले नै जानुन, बुझुन । 

(लेखक, नेपालमा नमुनाको रुपमा डट्स कार्यक्रम लागु भएको वर्ष सन् १९९६ देखि क्षयरोगको बारेमा लेख्दै आएका र यसवापत सन् १९९९ मा ‘दीक्षादक्ष क्षयरोग स्वर्णपदक’ पाउने पहिलो र हालसम्मकै एकमात्र पत्रकार हुन । ) 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply