Ticker

6/recent/ticker-posts

अनलाइन निर्देशिकाप्रति प्रेस युनियनको गम्भिर आपत्ति

काठमाडौ, चैत ।
सरकारले जारी गरेको‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ प्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनले निर्देशिकाले स्वतन्त्र प्रेस नियन्त्रित हुने भन्दै फिर्ता लिन समेत माग गरेको छ ।
अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न ल्याइएको सो निर्देशिकाका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यतासँग बेमेल हुने युनियनले जनाएको छ ।
‘आमसञ्चार नीति–२०७३’ मा अनलाइन सञ्चारमाध्यम व्यवस्थापन र अनुगमनबारे उल्लेख भए पनि सो निर्देशिका ल्याउनु आफैंमा विरोधाभाषपूर्ण भएको युनियनको दावी छ ।
युनियनले शुक्रबार एक विज्ञप्तिमार्फत यसअघि गरेको विरोध तथा सरोकारवालाको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा आपत्ति प्रकट गरेको हो । प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐनअन्तर्गत जारी निर्देशिका अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वन्त्रता विपरित रहेको युनियनको ठहर छ।
‘न्यायिक परीक्षणबिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रक्रियामा हस्तक्षेप गर्नसक्ने जस्ता प्रावधान कायमै राखी आएको निर्देशिकाले यस क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रस्ट छ’ विज्ञप्तिमा उल्लेख छ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा सरकारले अनलाइनलाई नियन्त्रण गर्ने सोचबाट ल्याएको निर्देशिका खारेज गरी सबै सरोकारवाला सङ्घ संस्था समेतको सहभागितामा नयाँ व्यवस्थाका लागि माग गरिएको छ।

Post a Comment

0 Comments