Ticker

6/recent/ticker-posts

उत्तर प्रदेश र उत्तराखण्डमा बिजेपीको ऐतिहासिक जित

नयाँदिल्ली, फागुन ।
केन्द्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने राज्य उत्तर प्रदेशको विधानसभा चुनावमा केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टीले बहुमत ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बिजेपीले उत्तर प्रदेशको सत्तारुढ पार्टी समाजवादी पार्टी र कांग्रेसको गठबन्धनलाई पछि पार्दै बहुमत ल्याएको हो । बिजेपीले उत्तर प्रदेशमा सन् १९८० पछि पहिलो पटक बहुमत ल्याएको हो । ४ सय तीन विधानसभा सिटमध्ये बिजेपीले तीन सय २५ सिट जितेको छ । सपा र कांग्रेसको गठबन्धनले ५४ सिट जितेको छ भने मायाबतीको बहुजन समाज पार्टीले १९ सिटमा जित हाँसिल गरेको छ ।
उत्तर प्रदेशको जितले प्रधानमन्त्री मोदीको ठूला दरका नोटमा लगाएको प्रतिबन्धले नागरिकको स्वीकृति पाएको रुपमा विश्लेषण गरिएको छ । यस्तै, उत्तराखण्डमा पनि बिजेपी विजयी भएको छ । ७० सिटका लागि भएको चुनावमा बिजेपीले ५७ सिट जितेको छ । यस्तै कांग्रेस ११ सिटमा विजयी भएको छ ।
पञ्जाब, मनिपुर र गोवामा भने कांग्रेस विजयी भएको छ । पञ्जाबको एक सय १७ विधानसभा सिटका लागि भएको चुनावमा कांग्रेसले ७७ सिटमा जितेको छ । त्यहाँ आम आदमी पार्टीले २० सिट जितेको छ । बिजेपीले भने मात्रै तीन सिटमा जित हाँसिल गरेको छ ।
मनिपुरमा ५८ सिटका लागि भएको चुनावमा कांग्रेस २६ सिटमा विजयी भएको छ । २१ सिटी जितेको बिजेपी दोस्रो दल बनेको छ । यस्तै गोवामा पनि कांग्रेस विजयी भएको छ । गोवाका ४० सिटमा कांग्रेस १९ सिटमा विजयी भएको छ । गोवामा बिजेपीले १४ सिटमा जित हाँसिल गरेको छ ।
पाँच वटा राज्यमा भएको विधानसभा चुनावमा बिजेपी बढी जनसंख्या भएका दुई महत्वपूर्ण राज्यमा विजयी भयो । त्यसमध्ये पनि उत्तर प्रदेशको जित बिजेपीका लागि निकै महत्वपूर्ण मानिएको छ ।
यसको प्रभाव सन् २०१९ मा हुने लोकसभा चुनावमा पनि पर्ने विश्लेषण गरिएको छ । कार्यकर्ताको कडा मेहनताका कारण जित हाँसिल गर्न सफल भएको भन्दै प्रधानमन्त्री मोदीले अब नागरिकको पक्षमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Post a Comment

0 Comments