Ticker

6/recent/ticker-posts

एमालेको मेची महाकाली अभियान चितवनमा....

चितवन, फागुन ।
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिबार मकवानपुरबाट चितवनमा पुगेको छ । बिहान हेटौंडाको हुप्रचौरबाट अघि बढेको अभियान टोलीलाई राजमार्गका मनहरी लगायतका बजारमा स्थानीय एमाले कार्यकर्ताले स्वागत गरेका छन् ।
टोली चितवन प्रवेश गर्दा लोथरमा सोही क्षेत्रबाट निर्वाचित सांसद तथा एमाले नेता सुरेन्द्र पाण्डे, जिल्ला अध्यक्ष कृष्णभक्ता पोखरेलसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए । लोथरबाट अघि बढेको एमालेको र्‍यालीले करीव १२ किलोमिटर राजमार्ग ओगटेको प्रहरीले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार हेटौंडामा कम्तिमा १० किलोमिटर राजमार्ग एमालेको अभियानका गाडी,मोटरसाइकल र अन्य सवारी साधनले ढाक्नुपर्ने निर्देशन दिएबमोजिम एक घर एक साधनका हिसाबले चितवनबाट सहभागी जुटेको एमाले श्रोतले जनाएको छ ।
प्रत्येक घरबाट मोटरसाइकल र सवारी साधनसहित मानिसहरु अभियानमा थपिँदा एमालेको र्‍यालीमा दश हजार भन्दा बढीको सहभागिता रहेको एमाले श्रोतको दावी छ । र्‍यालीको नेतृत्व एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल लगायतले गरेका छन् ।
भण्डारा हुँदै नारायणी नदी किनारामा पुगेर जनसभा हुने एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले बताए ।
नारायणगढको जनसभापछि सबैभन्दा ठूलो आमसभा नवलपरासीको कावासोतीमा तयारी भइरहेको एमालेका ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले बताए । कावासोतीमा ५० हजार मान्छेको सहभागितामा मेची महाकाली अभियानको सभा हुने उनले बताए ।

Post a Comment

0 Comments