Ticker

6/recent/ticker-posts

राष्ट्रिय क्षयरोग केन्द्रसंग यसको जवाफ छ ?

-बलराम प्यासी 
(विश्व क्षयरोग दिवस २४ मार्च अर्थात आउँदो शुक्रबारलाई लक्षित गरि राष्ट्रिय क्षयरोग केन्द्रले बुधबार टेकुमा आयोजना गरेको पत्रकार सम्मेलनमा राखिएका प्रश्नहरु जस्ताको तस्तै ।) 

१. झुठो तथ्यांक 
मुलुकमा क्षयरोगको अवस्था, मर्ने र स्वस्थ व्यक्तिमा सर्ने दर, निको भएकाहरुको अवस्था लगायतका बारेमा हरेक १०÷१० वर्षमा गर्नुपर्ने क्षयरोग प्रारम्भिक सर्वेक्षण (प्रिभिलेन्स सर्भे) अहिलेसम्म गरिएको छैन, अनि के को आधारमा क्षयरोगीको अनुमानित संख्या सार्वजनिक गरियो ? 

२. सर्भेको नाउँमा व्यापक आर्थिक हिनामिना 

सन् २०१५ देखि २०१७ भित्र गरिसक्नुपर्ने प्रिभिलेन्स सर्भे २०१७ को ३ महिना बितिसक्दा पनि किन शुरु भएन ? सर्भेको लागि भनि खरीद गरिएको ६५ हजार थान (भनिएको तर २५ हजारभन्दा बढी नल्याएको) टिसर्ट कति स्टोर दाखिला भयो ? ककसलाई बाँडियो ? यसबाहेक सर्भेका लागि भनी अरु के के खरीद गरियो ? 

३. सर्भेका गाडीको दुरुपयोग 

सर्भेको लागि खरिद गरिएका २ वटा टोयोटा ल्याण्डक्रुजरमध्ये  बा १ झ ६३८९ नम्बरको ल्याण्डक्रुजर जीप स्वास्थ्य मन्त्रीलाई र बा १ ग ११७८ नम्बरको ४० सिटे बस भरतपुर क्यान्सर अस्पताललाई के का आधारमा पठाइयो ? के यो कसैको निजी सम्पत्ति हो ? अनि सरकारी नम्बरप्लेटको मोटरसाइकल किन एनजिओको कर्मचारीलाई दिइयो ? 

४.तालीम र गोष्ठी धुलिखेलका महंगा होटेलमा किन ? 

राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा सुविधा सम्पन्न ३ वटा र सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रमा एउटा गरि ४ वटा ठुला सभाहल हुँदा हुँदै केन्द्रका सबै तालीम र गोष्ठीहरु किन धुलिखेलका महंगा होटेलहरुमा आयोजना गरियो ? 

५.केन्द्रको सुविधासम्पन्न डर्मिटरीको व्यापक दुरुपयोग 

केन्द्रमा हुने तालीम गोष्ठी र सेमिनारमा सहभागी हुन आउने विभिन्न जिल्लाका स्वास्थ्यकर्मीका लागि भनि जापान सरकारले केन्द्रको हातामा करोडौं रुपैयाँ खर्च गरि बनाईदिएको २४ सै घण्टा पानी र विजुलीसहितको सुविधासम्पन्न आवाशगृहमा किन कर्मचारीहरुको हालिमुहाली ? कोको कर्मचारीले आवाशगृह ओगटिरहेका छन । 

६. कर्मचारीको जिम्मेवारी वाँडफाँडमा मनपरी  

केन्द्रमा वरियता, विशेषज्ञताको आधारमा कर्मचारी र चिकित्सकलाई अधिकार र कामको जिम्मेवारी नदिई के का आधारमा गलत कर्मचारीलाई अधिकार दिइन्छ ? कोही अधिकार विहीन, कसैलाई योजना, खरिद (प्रोक्योरमेण्ट) र प्रिभलेन्स सर्भेको जिम्मा ? अनि डिआर कोअर्डिनेशनको काम विशेषज्ञ चिकित्सकले गर्नुपर्नेमा के का आधारमा अनमिलाई ? बोकाले दाँई गर्ने भए गोरु किन चाहियो ?  

७. व्यापक आर्थिक हिनामिना 

चालु आर्थिक वर्ष ०७३०÷७४ को आठ महिना बितिसक्दा पनि सीमित कर्मचारीलाई फाइदा हुने अनावश्यक खरीद, मर्मत संभार र रंगरोगनको काम बाहेक क्षयरोग रोकथाम र नियन्त्रणको एडभोकेसी र अरु कार्य किन शुन्य ? सरकारले दिएको ८० करोड ३७ लाख बजेट केका लागि हो ? 

८.जिन एक्स्पर्ट मेशीन खरिद 

क्षयरोगीको खकार परीक्षण गर्ने अत्याधुनिक जिन एक्स्पर्ट मेशीन मुलुकभरी ३१ वटा रहेकोमा पुर्वाञ्चलमा मात्रै ५ वटा प्रयोगवीहिन अवस्थामा थन्किँदा फेरि किन १० वटा जिन एक्स्पर्ट मेशीन खरिद गर्न खोजिएको ? 

९.कार्यक्रमको अनुगमनमा मनपरी  

क्षयरोग कार्यक्रमको निरीक्षण, सुपरिवेक्षण र अनुगमनको निहुँमा केन्द्रका सीमित कर्मचारी सुगम जिल्लाहरुमा मात्रै पटक÷पटक ५ देखि १० दिनको भ्रमण भत्ता बनाउने र सकभर अनुगमनमा नगई हवाई भाडा, होटेल खर्च केन्द्रबाट असुल्दा पनि प्रशासन किन मौन ? केन्द्रको बजेटमा अनुगमनमा गएपछि प्रतिवेदन दिनु आवश्यक छैन ? केन्द्रका पटकपटक दोहोरिने कर्मचारीले मासिक २।३ पटक गएका भ्रमण आदेशको प्रशासनमा किन रेकर्ड भेटिँदैन ? एनजिओका कर्मचारीहरु के को आधारमा भ्रमण आदेश र भूक्तानि लिन्छन ? अर्काेकुरा सोलुखुम्बु, हुम्ला, बाजुरा, कालिकोट, रुकुम, रोल्पा, मनाङ्गलगायतमा पनि अहिलेसम्म क्षयरोग कार्यक्रमको अनुगमन नभएको ? त्यहाँ क्षयरोगी छैनन ? 

१०. विदेशका गोष्ठी र सेमिनारमा मनपरी 

क्षयरोग विशेषज्ञ र यसक्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मी मात्रै सहभागी हुनुपर्ने विदेशका तालीम, गोष्ठी र सेमिनारहरुमा किन मन्त्री, मन्त्रालयका कर्मचारी, जेलका डाक्टर, निर्देशकका आफ्ना मान्छे र गैरविशेषज्ञलाई मात्रै पटकपटक सिफारिस गरिन्छ ?  

११. छातीरोग अस्पतालको निर्माण किन बन्द ? 

हरेक वर्ष रातो कितावमा बजेट विनियोजन भई विगत ४ वर्ष अघिदेखि प्रकृयामा रहेको तर हालसम्म पनि निर्माण कार्यले गति नलिएको छातीरोग अस्पतालको प्रगती कति भयो ? यसमा पनि विभिन्न वहानामा आर्थिक हिनामिना भएको आशंका गरिएको छ । ठिमी नगरपालिकाले अस्पताल निर्माणमा किन शिलवन्दी गर्दैछ ? 

१२. डिआर टिबीको नतिजा ओरालो लाग्दै  

२ वर्षे डट्स प्लस उपचारबाट डिआर टिबीका बिरामीको निको हुने दर किन घट्दो क्रममा छ ? जबकि निको हुने दर ६० प्रतिशतभन्दा माथि हुनुपर्नेमा अहिले त्यो संख्या घटेर ४० प्रतिशतभन्दा तल झरेको छ । मर्ने विरामीको तथ्यांक किन वास्तविक र सत्य भेटिँदैन ?  

१३. डिआर टिबी रोगीप्रति भेदभाव 

डिआर टिबीका रोगीप्रति किन भेदभाव ? कोही होस्टेलमा बसेर तालीम र खाना वाहेक मासिक ६ हजार पाउने, कोही डिआर सेन्टरमा नियमित गएर औषधि खाँदा मासिक २ हजारमात्रै पोषणभत्ता र यातायात खर्च पाउने ? त्यसमा पनि डिआर भएर मरिसकेको बिरामीको नाउँमा पनि पोषण भत्ता बाँडिरहेको भन्ने कुरामा कति सत्यता छ ? 

१४.अनुगमन टोलीको छड्के निरीक्षण 

केन्द्रका निर्देशकको अनुमति र मिलोमतोमा प्रिभिलेन्स सर्भेको नाउँमा खरीद गरिएका टिसर्टमा भएको आर्थिक हिनामिना, केन्द्रमा महिला कर्मचारी नियुक्ति, सरकारी गाडीको दुरुपयोग लगायतका विषयमा स्वास्थ्य मन्त्रालयका उपसचिवको टोलीले हालै गरेको छड्के निरीक्षणको बारेमा जानकारी खोइ ? 

१५. म्याद गुर्ज्रेको ७ लाखको भिटामिन 
कमिशनको खेलमा केन्द्रले सेती अञ्चल अस्पताल लगायत सुदुर पश्चिमका अन्य केन्द्रमा करीव ७ लाख रुपैयाँ बराबरकोे भिटामिन बि लङ्ग क्याप्सुल गत जनवरीदेखि एक्स्पायर भइसकेता पनि विरामीहरुलाई बाँडीराखेको बारे सत्यतथ्य सार्वजनिक गर्नुपर्छ ।  

१६. केन्द्रको ओपिडी सेवा र स्वास्थ्य सूचना 
अन्त्यमा केन्द्रमा स्वास्थय परीक्षणका लागि आउने विरामीले किन १२ बजेदेखि वहिरंग सेवाको टिकट पाउँदैनन ? उनीहरुलाई स्वास्थ्य सूचना दिने काम किन बन्द ? विरामीका लागि सूचना र मनोरन्जन दिन भनी खरीद गरिएको टेलिभिजन किन सँधै बन्द ? केन्द्रले दिँदै आएको एलर्जी सेवा किन बन्द ? लगायत थुप्रै जिज्ञासा ।  

अन्त्यमा, क्षयरोगको ब्याक्टेरियासंग लड्दै आएको केन्द्रलाई अघि बढ्न अवरोध गरिरहेका केन्द्रका भाइरससंग लड्न केन्द्रको रणनीति के छ ?  

उपरोक्त १६ वटा प्रश्नको जवाफ मध्ये स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले अस्पताल निर्माण कार्य साढें दुईवर्षभित्र हुने आश्वासन दिए भने केन्द्रका निर्देशक डा.शरच्च्न्द्र वर्माले यी १६ बुँदा आफ्नो र केन्द्रको लागि अनुसन्धानको विषय भएकोले यसको जवाफ केही दिनपछि दिने बताए । केन्द्रका तथ्यांक अधिकृत अनिल थापाले धुलिखेलमा गोष्ठी गर्दा सफल हुने बताएर प्रिभिलेन्स सर्भेको बारेमा केही कुरा राखेका थिए ।  

(लेखक, नेपालमा नमुनाको रुपमा डट्स कार्यक्रम लागु भएको वर्ष सन् १९९६ देखि क्षयरोगको बारेमा लेख्दै आएका र यसवापत सन् १९९९ मा स्वर्णपदक पाउने पहिलो पत्रकार हुन) 

Post a Comment

0 Comments