Ticker

6/recent/ticker-posts

पुनःनिर्माण प्राधिकरणको वेबसाइटमा पुनःनिर्माण भएका घरको गलत तथ्यांक

काठमाडौ, चैत ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेबसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्यांक राखिएको छ ।
प्राधिकरणको वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको संख्या ४१ हजार ३११ छ ।
यो संख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । प्राधिकरणको वेबसाइटमा‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्यांक आवरण पृष्ठमै छ । प्राधिकरणका प्रवक्ता यामलाल भुसाल नै त्यति घर नबनेको बताउँछन् । उनले भनेः‘वेबसाइटमा गलत तथ्यांक छ, त्यति घर बनेका छैनन्, अब त्यसलाई हटाइन्छ ।’
सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्यांकअनुसार निर्माण सम्पन्न घरको संख्या दुई हजार चार सय ८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए ।
‘आजसम्म निर्माण सुरु भएको घर संख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारिस गरिएकाको संख्या पाँच हजार ७३०, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको संख्या ३३९ छ ।’
मन्त्रालयअन्तर्गत् जिल्ला–जिल्लामा खटिएका इन्जिनियरले एकाइमा पठाएको तथ्यांकअनुसार हालसम्म १६ हजार ५१५ पीडितले अनुदान पाउनुअगावै घर निर्माण सम्पन्न गरेका छन् । मन्त्रालयको यो तथ्यांकसँग प्राधिकरणको वेबसाइटमा राखिएको तथ्यांक मिल्दैन ।
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका करिब ९ लाख घर पुनःनिर्माण गर्न सहयोग गर्ने उद्देश्यले गठन गरिएको प्राधिकरणले तथ्यांकमै बनाएको देखाएर पीडितको घर नबन्ने खतरा बढेको प्रभावित जिल्लाका स्थानीयवासीको गुनासो छ ।

Post a Comment

0 Comments