Ticker

6/recent/ticker-posts

स्थानीय निर्वाचनमा २६ दलले पुरानै चुनाव चिह्न पाउने

काठमाडौ, चैत ।
स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिह्न पाउने भएका छन् । साथै २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको छ ।
संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ ।
संसदमा एक सिट भएको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिसकेको छ । नेपाः राष्ट्रिय पार्टी भने आयोगमा दर्ता नै नभएको आयोगले जानकारी दिएको छ ।
बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मतपत्र छपाई सुरु गरेको छ । आयोगले डेढ करोढ बढी मतपत्र छाप्ने छ र यो काम पूरा गर्न करिब ४२ दिन लाग्ने अनुमान छ ।
‘मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण गर्दा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेका मतसंख्याको आधारमा मतपत्रमा निर्वाचन चिह्न को क्रम निर्धारण गर्नेछ ।’ निर्वाचन आयोगले भनेको छ ।
यस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न हुनेछ । दोस्रो नम्बरमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न परेको छ । यसअघि निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार चुनाव चिह्नको क्रम निर्धारण गर्दथ्यो ।

Post a Comment

0 Comments