Ticker

6/recent/ticker-posts

नेपालगञ्जको स्थिति तनावग्रस्तः प्रहरीद्वारा हवाइ फायर

नेपालगञ्ज, चैत । 
नेकपा एमालेको मेची–महाकाली अभियानको क्रममा बाँके जिल्लामा पर्ने गुलरिया– नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले दावी गरेको छ ।
तर, मधेसी मोर्चाका नेताहरुले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको दावी गरेका छन् । नेपालगञ्जमा आयोजित एमालेको कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्नेमात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ ।
उक्त सडक खण्डमा मोर्चाका कार्यकर्ताले आमसभामा भाग लिन हिँडेका एमाले समर्थकलाई बाटो अवरुद्ध पारेपछि तनाव उत्पन्न भएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको मेची–महाकाली अभियान आज बाँके पुगेको छ । मधेसी मोर्चाको बन्दकाबीच एमालेले नेपालगन्जमा  शक्ति प्रदर्शन गरेको छ । मोर्चाले एमालेलाई महेन्द्र राजमार्गबाट भित्र पस्न नदिने भन्दै बन्द आह्वान गरेको छ । तर एमालेको सभाका लागि बाँकेका गाउँगाउँबाट कार्यकर्ताहरु सभास्थल भेला भएका छन् ।
गाउँबाट मान्छे नेपालगञ्ज आउन नदिन मोर्चाले ठाउँ ठाउँमा अवरोध सिर्जना गरेको एमाले केन्द्रीय सदस्य एबं बाँके २ का सांसद दिनेशचन्द्र यादवले बताए । एमालेको प्रदर्शनमा सहभागी मुस्लिम, मधेसी र थारु समुदायका समर्थकहरु आ–आफ्ना सांस्कृतिक झाँकी सहित नेपालगन्ज आइपुगेका छन् ।
मोर्चाका नेता तथा पूर्वमन्त्री इस्तियाक रायका अनुसार बन्दका क्रममा गाडीमा मान्छे राखेर ल्याउन खोजेकाले एउटा बस जलाइएको छ । आफ्ना कार्यकर्ताहरु जयसुर, सिमलारी, राँझा, गुनाहा लगायका स्थानमा अवरोधका लागि राखिएको रायले बताए ।
एमालेको सभास्थल कारकाँदो क्षेत्रमा पनि मोर्चा कार्यकर्ता रहेको उनले बताए । प्रहरीले कार्यक्रमस्थल सडक बिभागको मैदानलाई चारैतिरबाट सुरक्षा घेरामा राखेको छ ।

Post a Comment

0 Comments