Ticker

6/recent/ticker-posts

बाग्मती सफाई अभियानको २ सय औँ हप्ता पुरा,प्रधानमन्त्रीदेखि शीर्ष नेता पनि सफाई अभियानमा

काठमाडौ, फागुन ।
बाग्मती सफाई महाअभियानले २ सय हप्ता पुरा गरेको छ । बाग्मती सरसफाइ अभियानको दुईसय हप्ता पुगेको अवसरमा शनिवार बाग्मती पदयात्रा गरिएको छ । वि.स. २०७० जेठ ५ गतेदेखि शुरु भएको बाग्मती सफाई महाअभियानलाई थप प्रभावकारी र सशक्त बनाउन सफाईको २ सय हप्ता पुगेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्म बाग्मतीको किनारामा पदयात्रा गरिएको हो ।
यस्तै,२ सय औं हप्ता पुगेको अवसरमा बाग्मती नदी किनाराका १८ ओटा स्थानमा एक साथ सफाई तथा जनचेतनामुलक कार्यक्रम गरिएको छ । बाग्मती पदयात्राको अवसरमा आज आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बाग्मती सफाई अभियान राष्ट्रिय एकता,सांस्कृतिक र जनतामा उब्जिएका विसंगति सफाई गर्ने अभियानको रुपमा रहेको बताए । उनले बाग्मती सफाईले देशभरीको फोहोर सफाई गर्ने उच्च भाव जन्मिएको धारणा राखे ।
प्रधानमन्त्री दाहालले मुलुकको राजनीतिलाई सफा गर्न बाग्मती सफाई अभियान जस्तै स्थानीय तहको चुनाव सम्पन्न गर्न अभियान सुरु गर्नुपर्ने बताए । समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव डा.सोमलाल सुवेदीले बाग्मती सफाई अभियान मुलुकको प्रतिष्ठासंग र सभ्यतासंग जोडिएको भन्दै अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता औंल्याए । समारोहमा १० बँुदे राष्ट्रिय सफाई घोषणा पत्र समेत सार्वजनिक गरिएको थियो ।
पदयात्रा तथा सफाई अभियानमा आज प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरु समेत सहभागि भए । अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सहभागि भए ।
पदयात्रा तथा सफाईमा शीर्ष राजनीतिक नेता,मुख्य सचिव,नेपाल सरकारका सचिव तथा अन्य कर्मचारी,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्कुल तथा कलेजका विद्यार्थी,विभिन्न संघसंस्थाहरु,कलाकार लगायतको सहभागिता रहेको थियो । यसअघि २८ चैत्र २०७१ मा एक सय हप्ता पुगेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्म करिब २८ किलोमिटर लामो मानव सांग्लो बनाइएको थियो ।

Post a Comment

0 Comments