Ticker

6/recent/ticker-posts

एसएसबीद्वारा मारिएका गौतमको राजकीय सम्मानका साथ अन्त्यष्टि

कञ्चनपुर, फागुन ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । मृतक गौतमको शवयात्रामा हजारौ नागरिक सहभागी भएका छन् । गत बिहीबार मृत्यु भएका गौतमको शवयात्रा उनको गृहनगर पुनर्वास नगरपालिका हुँदै कञ्चनपुरको दोदा नदी किनारमा पुगेको थियो । र त्यहाँ उच्च सम्मानका साथ उनको अन्त्येष्टि गरिएको छ ।
पुनर्वास नगरपालिकाको आनन्दबजारको नेपाल–भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर ज्यान गुमाएका गौतमलाई सरकारले शहीद घोषणा गरेको छ ।
सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको शवयात्रा धनगढीको डोके बजार, एलएन चोक, चौराहा, त्रिनगर भन्सार नाका हुँदै कञ्चनपुरको पुर्नवास नगरपालिकामा पुगेको थियो । पुनर्वास नगरपालिकाको आइबीआरडीमा अन्तिम श्रद्धाञ्जली दिएपछि ६५ विगास्थित दोदा नदी किनारमा पुर्‍याइएको छ । त्यहाँ नेपाल प्रहरीले ११ तोपको सलामी दिएको छ ।
उनको शव राखिएको गाडिलाई फूलमालाले सजाइएको थियो । र राष्ट्रिय झण्डा राखिएको थियो । गाडीको अघिल्तिर गौतमको फोटो राखिएको छ । शव यात्रामा हजारौ नागरिकको सहभागिता थियो । शवयात्रामा सहभागीहरुले बीर शहिद अमर रहुन्, शहिद गोविन्द गौतम जिन्दावाद लगायतका नारा लगाएका थिए ।
शवयात्रामा कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरु, सरकारी उच्च कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत हजारौं नागरिक सहभागी थिए ।
तर, गौतमको मृत्यु भएपछि सम्भावित घटनालाई रोक्न स्थानीय प्रशासनले पुनर्वास नगरपालिकामा लगाएको निषेधाज्ञा आइतबार पनि जारी हुँदा शवयात्रामा सहभागी हुन समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

Post a Comment

0 Comments