Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताएका छन् । फागुन २६ गते कञ्चनपुरको पूनर्बासमा भारतीय सुरक्षा फौजको आक्रमणमा परी मृत्यु भएका गोविन्द गौतमका पक्षमा ज्ञापनपत्र बुझाउन आएको माओवादी केन्द्रको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले कुनै पनि हस्तक्षेप स्वीकार नहुने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भनेः‘कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो । घटना घटेलगत्तै भारतीय दूताबासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कार्वाहीका लागि निर्देशन दिएको छु । परराष्ट्र मन्त्रालयले लगातार कुटनीतिक सम्वाद गरिरहेको छ ।’
दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री दाहालले भनेः‘ नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन ।’ घटनाको बारेमा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताए । उनले गोविन्द गौतमलाई शहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ । परिवारलाई तत्काल १० लाख राहत र गौतमका २ छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरेको प्रधानमन्त्रीले जनाकारी दिए । घटनाको गम्भीर रुपले छानविन हुने र दोषीमाथि कारवाही हुने उनले प्रष्ट पारे ।
माओवादी केन्द्र सात नम्वर प्रदेशका ईन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा गोविन्द गौतमलाई राष्ट्रिय शहिद र सम्मान गर्न, मृतकका परिवारलाई ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निशूल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनि सजाय गर्न, गोविन्द गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।
यसैबीच, कञ्चनपुरमा  भारतीय सीमा सुरक्षा बलको गोली लागी नेपाली नागरिकको ज्यान गएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन्। सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
टेलिफोनमा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। दोवलले भारत सरकारको छानबिन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवम् मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव भएका जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री  दाहालसँग अनुरोध गरेका थिए।
टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री दाहालले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए। प्रधानमन्त्रीले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए। टेलिफोनमा प्रधानमन्त्रीले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कारबाही हुने नेपालको अपेक्षा रहेको बताए।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply