Ticker

6/recent/ticker-posts

मधेशी मोर्चाका नेतालाई फकाउँदै देउवा

काठमाडौ, फागुन ।
सत्तारुढ कांग्रेसले असन्तुष्ट मधेसी मोर्चाका नेताहरूलाई मनाउने प्रयास थालेको छ । पदाधिकारी, पूर्वपदाधिकारीसहितका वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकले संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको भोलिपल्टै सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् ।
स्थानीय तहको चुनाव घोषणाप्रति असन्तुष्टि जनाइरहेको मोर्चाको घटक तमलोपा अध्यक्ष ठाकुरसँग देउवाले संविधान संशोधनका लागि पहल गर्ने भन्दै सरकारलाई दिएको समर्थन फिर्ताको अडानबाट पछाडि फर्किन आग्रह गरेका हुन् । साथै, संशोधनका लागि आफूहरू लागेको जानकारी गराउँदै निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए ।
देउवाले देशलाई राजनीतिक निकास दिनकै लागि कांग्रेस, माओवादी, मोर्चा र राप्रपासहितको सरकार बनेको भन्दै संविधान संशोधनका पक्षमा कांग्रेस दृढ भएर उभिने आश्वासन ठाकुरलाई दिएका थिए ।
तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरूको बटमलाइन भए पनि मुख्य दलहरू जिम्मेवार नभएको बताएका थिए ।‘तपाईंहरू संविधान संशोधन गर्नुपर्छ भन्नुहुन्छ, तर वातावरण बनाउनुहुन्न । हाम्रो बटमलाइन नै संविधान संशोधन हो,’ ठाकुरले भनेः‘संविधान संशोधन गरेपछि राजनीतिक वातावरण बन्छ । संविधान संशोधन नभईकन अब हामी सरकारलाई समर्थन गर्न सक्दैनौँ ।’
उनले समर्थन फिर्ताको अल्टिमेटम नै सरकारलाई दिएको समर्थन फिर्ता भएको दाबी गरे ।
यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै उनले निर्वाचन स्थगितको मागसमेत गरे । सप्तरीमा राज्यले अत्याचार गरेको, हिंंसाबाट दबाउन खोजिएको भन्दै यस्तै भए तराईमा गम्भीर अवस्था आउने चेतावनी उनले देउवालाई दिए ।
ठाकुरले राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेअनुसारको स्थानीय तहको संख्याले जनसंख्याका आधारमा तराईको प्रतिनिधित्व नभएको असन्तुष्टि व्यक्त गरेका थिए । उनको भनाइपछि देउवाले राजनीतिक सहमति जुटाएर जाँदा फेरि पनि स्थानीय तहको संख्या बढाउन सकिने भन्दै ठाकुरलाई आश्वस्त पार्न खोजेका थिए । राजनीतिक वातावरण बनाएर आफू यसका लागि पहल गर्न तयार भन्दै देउवाले ठाकुरलाई मनाउन खोजेका थिए ।

Post a Comment

0 Comments