Ticker

6/recent/ticker-posts

अनुमति नलिइ मदिरा र सुर्ती चुरोट बेच्न प्रतिबन्ध

काठमाडौ, चैत ।
सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था मंगलबारदेखि लागू गरेको छ ।
मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११ (६) मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न सक्ने कानुनी व्यवस्था भएबमोजिम सरकारले यस्तो निर्णय गरेको हो ।
उक्त दफा बमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिएर सूर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ ।
फागुन मसान्तभित्र दर्ता गर्ने निकायमा दर्ता नभई र इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना टाँस्नुपर्नेछ ।
अब दैनिक अन्य उपभोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्नका लागि सरकारले हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ ।
नयाँ व्यवस्थाका बारेमा प्रचारप्रसार कम भएकाले बिक्री इजाजतपत्र लिनुपर्ने जानकारी धेरैलाई छैन । कतिले इजाजतपत्र लिए भन्नेबारे जानकारी नआइपुगेको मन्त्रालयले जनाएको छ । अहिले हरेक स्थानमा सुर्तीजन्य पदार्थ चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सार्वजनिक रुपमा बिक्रीवितरण हुँदा महिला र बालबालिकाको स्वास्थ्यमा समेत गम्भीर असर परेको भनी बिक्रीवितरण व्यवस्थित गर्न मन्त्रालयमा गुनासो आइरहेको थियो ।

Post a Comment

0 Comments