Ticker

6/recent/ticker-posts

४९ दलले बुझाए आधिकारिक हस्ताक्षर

काठमाडौं, चैत । स्थानीय तह निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका मधेसवादी दलहरु सक्रिय भएर चुनावमा होमिन थालेका छन् । आगामी बैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनमा उमेदवारलाई टिकट दिने आधिकारिक हस्ताक्षर बुझाउन उनीहरु निर्वाचन आयोग पुगेपछि चुनावमा उनीहरुको सक्रियता झल्किएको हो ।

 संविधान संशोधन नभएसम्म चुनावमा नजाने बताइरहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पनि उमेदवार छनोट गर्दा प्रमाणिकरण गर्ने आधिकारिक हस्ताक्षर बुझाएको छ ।

त्यसैगरी पार्टीकै चुनाव चिन्ह प्रयोग गरेर निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग राख्दै संसद बाहिरका ६४ दलको आन्दोलनको नेतृत्व गरिरहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीले पनि प्रमाणिकरणका लागि हस्ताक्षर बुझाएका छन् ।

स्थानीय तह निर्वाचन ऐनको दफा १८ को उपदफा १ बमोजिम आयोगले सम्बन्धित दलको तर्फबाट उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्ताखतको नमुना आयोगले बुधबार चैत ३० सम्म माग गरेको थियो ।

ऐनअनुसार सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समिति वा प्रदेश समितिको पदाधिकारीले प्रमाणित गरी आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ । 

निर्वाचन आयोगको कानुन शाखाका अनुसार मंगलबार दिउँसोसम्म नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय फोरम, फोरम लोकतान्त्रिक, नयाँ शक्ति पार्टी लगायत ४९ दलले हस्ताक्षर प्रमाणिकरण गर्ने व्यक्तिको विवरणसहित हस्ताक्षर बुझाएका छन् । 

आयोगमा हस्ताक्षर प्रमाणिकरण गर्ने व्यक्ति तोकेर उपेन्द्र यादवले हस्ताक्षर गरेको पत्र पठाएको उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले भने हस्ताक्षर बुझाएको कुरा अस्वीकार गरेका छन् । उनले भने,  “हामीले आयोगमा दल दर्ता गरेका छौं । तर त्यसपछि कुनै विवरण बुझाएका छैनौं ।” केही दलले मंगलबार बुझाए पनि केही दलले बुधबार पनि हस्ताक्षेर बुझाउने तयारी थालेको बुझिएको छ । 

Post a Comment

0 Comments