Ticker

6/recent/ticker-posts

नेपाल–चीन संयुक्त सैन्य तालिम शुरु

काठमाडौं,  बैशाख ।  नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सोमबारदेखि संयुक्त सैन्य तालिम शुरु हुँदैछ । नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो ।
नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ । तालिमको नाम ‘सगरमाथा फ्रेन्डसिप २०१७’ दिइएको छ । १२ वैशाखसम्म संयुक्त सैन्य तालिम हुनेछ । यसअघि २८ माघका लागि तालिम तय भएको थियो । नेपालको तयारी नपुगेकाले तालिम सरेको हो । नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा तालिम आयोजना भएको नेपाली सेनाले जनाएको छ । चीनले आफ्नो वार कलेजमा नेपाली सेनालाई बर्सेनि चार सिट छुट्याएको छ । नेपाली सेनालाई भारतले एक, अमेरिकाले दुई, बंगलादेश, मलेसिया, क्यानडा र पाकिस्तानले एक–एक सिट दिँदै आएका छन् ।
छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा नेपालमा पनि तालिम हुन लागेको नेपाली सेनाले जनाएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम गर्न लागिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अरू बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’ संयुक्त तालिम गर्ने विषयमा नेपाल र चीनका सैन्य अधिकारीबीच पुस पहिलो साता नै सहमति भएको थियो ।
चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताएका थिए । ‘आपसी सम्मान, समानता, आपसी लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामी काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ,’ प्रवक्ता यानले भनेका थिए ।

Post a Comment

0 Comments