Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, चैत । आउँदो वैशाख ३१ गते स्थानीय तहको चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाको उम्मेद्वार चयन गर्न ठूला दलले आन्तरिक तयारी तीव्र पारेका छन् । काठमाडौंको जित–हारले समग्र राष्ट्रिय राजनीति नै तरंगित हुने भएकाले यहाँको मेयर बन्न विशेष गरी तीन ठूला पार्टीभित्र उम्मेद्वार बन्न होड पनि सुरु भइसकेको छ ।  ३२ वटा वडा भएको महानगरमा दुई लाख ७४ हजार चार सय ३८ मतदाता छन् भने तीन सय ७९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

२०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका पिएल सिंहले काठमाडौंको मेयरमा बाजी मार्नुभएको थियो भने २०५४ को चुनावमा एमालेका केशव स्थापित विजयी हुनुभएको थियो । १९ वर्षपछि वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । काठमडौंका नौवटा निर्वाचन क्षेत्रको मुख्य मुख्य भाग महानगरभित्र पर्दछ । २०७० सालको चुनावमा नौमध्ये आठवटा क्षेत्रमा कांग्रेस र एउटा मात्र एमालेले जितेको थियो ।

आउँदो स्थानीय चुनावमा कांग्रेसबाट मेयरको उम्मेद्वार बन्ने आकांक्षीमा ६ जनाभन्दा धेरै छन् । स्वास्थ्य मन्त्री रहेका कांग्रेसका युवा नेता गगन थापाको नाम सर्वाधिक चर्चामा रहे पनि उहाँले आफू उम्मेद्वार नबन्ने बताउनुभएको छ । काठमाडौंबाटै निर्वाचित उद्योगमन्त्री समेत रहेका नविन्द्रराज जोशीको चर्चा पनि मेयरमा उत्तिकै छ । त्यस्तै भीमसेनदास प्रधान, तीर्थमान डंगोल, राजुराम जोशी, नरोक्तम वैद्य, प्रतिमान रञ्जितलगायका कांग्रेस नेताहरुले पनि उम्मेद्वारीका लागि सक्रियता बढाएका छन् । उपमेयरमा भने पूर्व महामन्त्री प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको नाम निश्चित भइसकेको कांग्रेस कार्यकर्ता बताउँछन् । उपत्यकामा सिंहको प्रभाव बलियो भएकाले उहाँ पक्षीय नेताहरुले नै टिकट पाउने सम्भावना छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट पनि उम्मेद्वार बन्ने आकांक्षी धेरै नै देखिएका छन् ।  एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि सचिव योगेश भट्टराईको नाम सबैभन्दा बढी चर्चामा छ । राजनीतिक प्रभाव र व्यवस्थापनका हिसाबले जटिल काठमाडौंको उम्मेद्वार एमालेले केन्द्रीय नेताहरुबाटै बनाउने संभावना प्रवल छ ।

शाक्य र भट्टराईबाहेक नेताहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, सानु श्रेष्ठ, वसन्त मानन्धर, बिना श्रेष्ठको नाम पनि चर्चामा छ ।  २०५४ सालमा एमालेका तर्फबाट मेयर जितेर माओवादी केन्द्र हुँदै अहिले फेरि एमालेमै फर्किएका केशव स्थापितलाई उम्मेद्वार बनाउनु पर्ने आवाज पनि उठिरहेको छ ।
त्यस्तै सत्तारुढ दल नेपाकपा माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार बन्न चाहनेको संख्या कांग्रेस र एमालेको तुलनामा कम देखिएका छन् । माओवादीबाट पोलिटब्युरो सदस्य एवं महानगर इञ्चार्ज सर्वोत्तम डंगोल, ३ नम्बर प्रदेशका इञ्चार्ज हितमान शाक्य, हिमाल शर्माको चर्चा भइरहेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुत्री रेणु दाहालले पनि काठमाडौंमा उम्मेद्वारी दिने बहस भए पनि उहाँको मतदता नामावली चितवनमा भएको कारण उहाँले काठमाडौंमा उम्मेद्वार बन्न पाउने छैनन् । माओवादी निकट स्रोतका अनुसार डंगोल र शाक्यमध्ये एकजनाले टिकट पाउनेछन् । त्यस्तै राप्रपाले केन्द्रीय सदस्य राजाराम श्रेष्ठलाई टिकट दिने निश्चित बनेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply