Ticker

6/recent/ticker-posts

विराटनगरलाई हराउँदै धनगढीले जित्यो उपाधि

काठमाडौं– पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढीले सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । धनगढीमा शनिबार भएको फाइनलमा शरद भेषवाकरको टिम विराटनगर किंग्सलाई ६२ रनले पराजित गर्दै चौराहाले उपाधि चुम्न सफल भएको हो ।
अञ्चल प्रहरी कार्यालयको मैदानमा चौराहाले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर १८ ओभर १ बलमा अलआउट हुँदै ९७ रनमा समेटियो ।

विराटनगरका लागि प्रनित थापा मगरले २७ तथा अमित श्रेष्ठले २६ रन जोडे । त्यस्तै विराटनगरका दिपेन्द्र सिहं एरी र अनिल शाहले समान १३ – १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको न जोड्न सकेनन् । टिम चौरहाका लागि सुशन भारीले ३ तथा शौरभ खनालले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

तर, टिम चौराहाको सुरुवात भने खराब रह्यो । दुई ओपनर ब्याट्सम्यान राजु रिजाल र अनिल मण्डललाई मात्र ४ रनको स्कोरमा गुमाएको चौरहालाई कप्तान पारस खड्का, आरिफ शेख र अमरसिंह राउटेलाले उकासेका थिए । दुवैले पाँचौ विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । आरिफले ३० बलमा ५४ रनको अर्धशतकीय पारी खेले ।
कप्तान पारस खड्का आउट भएपछि क्रिजमा आएका अमरसिंह ३१ रनमा अविजित रहे । त्यस्तै कप्तान पारस २९ रन जोड्दा पृथु बास्कोटा र सौरभ खनालले समान १४–१४ रन जोडे । ओपनर रिजाल सुन्य रनमा आउट हुदा अर्का ओपनर मण्डल पनि २ रनमा पेभेलियन फर्किए । विराटनगरका सुशील कंडेलले दुई तथा जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टले समान १–१  विकेट लिए ।

उपाधिसँगै टिम चौराहाले १५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उप–विजेतामा चित्त बुझाएको विराटनगरले ७ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगिताको सुरुवाती ३ खेल गुमाएको पारसको टिम चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा मुस्किलले स्थान बनाएको थियो । त्यसपछि लगातार जित निकाल्दै चौराहाले उपाधि जित्न सफल भयो ।

चौराहाले एलिमिनेटरमा काठमाडौँ गोल्डेन्स र दोश्रो क्वालिफायरमा रुपन्देहीलाई पराजित गरेको थियो । यता, लिगको दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएको विराटनगरले पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनमा चैत २८ गतेबाट सुरु भएको चौथो संस्करणको डीपीएलमा ६ टोलिको सभागिता रहेको थियो ।

Post a Comment

0 Comments