Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

- वसन्तप्रकाश उपाध्याय
देख्न बाँकी एउटै दृश्य थियो– त्यो पनि देखियो । बर्दीधारीका सुन तस्करीपछि ‘ककपिट’को अपराध भेटियो । जल, स्थल र आकाशमा पनि छताछुल्ल रहेछ अपराधको सुवर्ण कारोबार ।


किड्नी झिक्ने डाक्टरका कथा पुराना भए अब । बादी र प्रतिवादी दुबैसँगको गठजोडको कालो कोटे ‘सिलोक’ भट्याउनु परेन अब । समाचार व्यापारमा लिप्त सम्पादकहरुको ‘नकाव’ त उहिल्यै खोलिएको हो । एम्बुलेन्सको तस्करी नौलो छैन यहाँ । शायद देख्नु  पनि पर्ला एकदिन झण्डावाल गाडीको डिक्कीबाट गाँजा र अफिम बरामद भएको परिदृश्य ।


ओरालो पनि कति झर्नु ? धुँवा–धुलोले खोक्रो भइसकेको छ फोक्सो । गिदीले स्वच्छ समाजको निर्माण गर्ने हो । अब त त्यही गिदीमा पनि गोबर ‘भरिन’ लागेछ । बाँकी के छ ? यस्तै प्रश्न उठ्छ मनभरि ।

बाँकी सबैको ‘हृदय’ मरिसकेको रहेनछ । अस्ति भर्खरै दीपक क्षेत्रीको बर्बर–जर्जर पीडा पोखिँदा धेरै मनहरु ‘आर्द’ भए । एक्लो र एकांगी हुँदै गइरहेका दीपकको ९८१८२२६२२७ नम्बरको मोबाइलमा साथ र सहयोगका सन्देश देखिए । ‘खाता’ थिएन उनीसँगै बैंकको । तैपनि धेरै ‘नाता’ जोडियो ।

चारैतिर निस्पट्ट ‘अँध्यारो’ साम्राज्य फैलिए पनि थोरै उज्यालोले आशा जगाउँदो रहेछ । हावाहुरी बेजोडले चल्दा अत्यास लाग्छ हामीलाई । नवनिर्माणका खातिर विगार्नै पर्दोरहेछ–पुरातन संरचना । कहाँ गर्छन् र ! सबैले बरिष्ठताको बकबक मात्रै । काम गर्ने ‘गगन’ले थुप्रिएका ‘गन्धकी’ हटाउँदै स्वस्थ–सत्प्रयत्न गरिरहेकै छन् ।

ठ्याक्क हाम्रो मानसिकता छ– कि दालमा ‘नून’ नपुगेको देख्ने नभए कि दालमा ‘नून’ चर्को भएको टिप्पणी गर्ने । अतिवादको प्रेमले हामी उस्तै परेमा अपराधीलाई पनि दूधले नुहाइदिन्छौं । अनि मन नपरे पूर्वाग्रहको रागमा ‘सेतो’लाई ‘कालो’ भन्न पछि पर्दैनौं । 

चन्द– सिलवाल–अर्याल पात्रगत प्रवृत्ति मात्रै हो । अन्यथा नक्साल भगवतीले धेरै देखेकी छिन् भक्तजनको भेषमा लम्पसार परेका त्याज्य नामहरुको कर्तुत । यहाँ केवल समस्या छ– ‘यथार्थ’ देख्ने बुझ्नेहरु मूर्तिवत बस्नु परिरहेछ । जसका कारण ‘फ्याउरा र स्यालहरु’ले  मच्चाइरहेछन् ‘हुइँया’ ।

‘ओहो ! फेरि हावाहुरी चल्यो ! जहीतहीँ पात पतिङ्गर उडेको देख्नुभयो । अब यस्तो नसोच्नुस् । थोरै दृष्टिकोण बदल्नुस् र भन्नुस्ः ‘तपाई–हाम्रो अडान र अस्तित्व ‘हावाहुरी’ जस्तो बन्न सक्यो भने पात पतिङ्गरहरु आफै पछि लाग्छन् ।’

=============================
=============================

लेखेर केही नै हुँदैन त ?
‘आखिर यही हुनु र भोग्नु रहेछ । त्यही भोगिरहेछु ।’ मसिनो स्वर निकाल्दै कलाकार दीपक क्षेत्रीले भने ।
विगतमा एउट दमदार आवाज, जीवन्त अभिनय र खाइलाग्दो शरीर भएका कलाकारको रुपमा मैले चिनेका दीपकसँग आजको भेटमा त्यो भन्दा छुट्टै अवस्था थियो । ५६ वर्षे शरीरसँग सेता– कपाल, चाउरिएका गााल र थकित भोगाइ मात्रै थियो । मैले भनेः ‘थाक्नु भयो कि गल्नु भयो ?’

उनले भनेः ‘थोरै सुस्ताएको छु मित्र !’

चालीस सालको सेरोफेरोमा मैले चिनेको हुँ उनलाई । जतिखेर उनी पाँचतारे होटल अन्नपूर्णमा काम गर्दथ्ये । टाई–सुटमा ‘ट्वाक्...ट्वाक्...’ हिड्ने दीपकलाई दरवारमार्गको बैंग्लोर कफी हाउसमा कुरिरहेका हुन्थ्ये कैयौं अहिलेका नमी–दामी कलाकारहरुले । कफी र टफीदेखि साँझपखको रमझम र चियर्सको बील तीर्ने काम दीपकबाटै हुन्थ्यो । मैले विगत सम्झाउँदै वर्तमानको ‘समस्यामा’ सोधेँः ‘कुरो कहाँ विग्रियो दीपकजी ?’ उनले ग्लानिपूर्ण जवाफ दिएः ‘मैले ‘पैसा र समय दुबै चिन्न सकिँन ।’

एक हजार चार सय साठी दिनभन्दा बढी भएछ दीपकले पाँच लाखको समस्या व्यहोरेको । घाँटीभित्र मासु पलाएपछि ‘अप्रेसन’ गर्नुपर्ने वाध्यतामा उनी छन् । ‘सम्भवतः त्यो क्यान्सर पनि हुनसक्छ ।’ उनले भन्दै गए । ‘मैले यो चार वर्षमा हजार दिन विना निद्रा बिताएँ । डेढ वर्षदेखि हरेक रात रुन्छु । शायद आँसु सकिएला मेरो । तर मैले पैसा जुटाउन सकिँन ।’
साथी छन् उनका केही संस्थाका सदस्य छन् उनी । आर्थिक सहायता बाँड्छ बेलावखत सरकारले । तर समाउने मान्छे नभएपछि दीपकको ‘प्रेस्कीप्सन’ले औषधि पाएको छैन । उनले सुनाए एउटा वेदना । सञ्चारमन्त्री थिए शेरधन । उनीसँग सहयोग ‘माग्न’ सिंहदरवार पुगेँ । आफू मगन्तेको लघुताभासमा त्यहाँ पुगेको बखत शेरधनले भनm् महा मगन्ते स्वरुपमा भनेछन्ः ‘सञ्चारसँग पैसा छैन, अर्थलाई लेखि पठाइदिन्छु ।’


३९ वर्षदेखि रंगकर्म, टेलिफिल्म, भिडियो फिल्म हुँदै पछिल्लो संस्करणमा ‘झोला’ चलचित्रका यी नायकले त्यसपछि आफ्नो समस्याको ‘बोरा’ बोकेर कही हिँडेका छैनन् । उनी भन्छन्ः ‘अब ‘बैरो’ परिवेशलाई म मेरो कथा सुनाउँदिन ।’

एउटा दिन थियो– उनी भएका आम्दान खर्चेर सक्दथे । यस्तैमा एकपटक उनले सडक छेउमा ‘माग्न’ बस्नेलाई एक हजार दिएछन् । ऊ लगायत साथीहरु अचम्ममा परे । अनि दीपकले भनेछन्ः ‘हामीसँग रह्यो भने त्यो अहिल्यै सकिन्छ । ऊ सँग रह्यो भने कम्तिमा उसलाई महिना दिन त पुग्छ ।’

एउटा ‘विन्दास’ शैली, पृथ्वी नामक चलचित्रका दमदार ‘खलनायक’ अनि तर्क र तथ्यमा तटस्थ भोगाइ वकालत गर्ने उनको आनीबानी मैले राम्ररी बुझेको छु । उनी भन्दै थिएः ‘हुन त मैले आफँैले तय गरेको बाटा हो यो । केही पाए पनि केही नभए पनि मैले मेरो ‘साधन’ छोड्न सक्दिँन क्यार !’

पीडाका ‘रात’ छन् । कहरका थुप्रै ‘वात’ छन् । घात–प्रतिघात र संघातका ‘साथ’ छन् । त्यसलाई कोट्याउँदैनन् उनी । ‘विधाता’सँग एउटै गुनासो छ– जुन दमदार–आवाजको परिचय दीपक क्षेत्रीको थियो । त्यो लुटिएको छ यतिखेर । भन्छन्ः ‘मैले आफ्नो आवाज नै विर्सिसकेँ वसन्तजी ।’

झ्वाट्ट भेटको भावुक परिवेश थियो यो । मैले भनेः ‘केही लेखौ है ?’उनले भनेः ‘तीसौं वर्ष भयो तपाइहरुले लेखिरहेको । लेखेर हामीलाई केही हुन्छ र भन्या ?’

‘लेखेर केही हुन्छ–हुँदैन ? ‘यो प्रश्न मैले छाडेँ सबैका लागि....।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply