Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी

काठमाण्डौ, १३ बैशाख । एकजना छोराछोरी हुर्काउन धौधौमान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षिया अविवाहिता आमा गोमा गुरुङ्गले ८ जना छोराछोरी हुर्काइरहेकी छिन भन्दा अनौठो लाग्छ । नलागोस पनि कसरी, जसले विहे नै नगरी एकैपटक ८ छोराछोरीलाई माया र कर्म दिइराखेकी छिन भन्दा ।

त्यतिमात्रै होइनगोमाले अरु १७जना छोराछोरीलाई पनि उचित शिक्षादिक्षा दिएर हुर्काईसकेकी छिन । उनले हुर्काएर शिक्षा र रोजगारी पाएपछि समाजमा पुर्नस्थापित भएका छोराछोरीमध्ये केहीका त नातिनातिना पनि भईसकेका छन् ।

अविवाहित गोमाजस्तै लक्ष्मी लिम्बु पनि त्यस्तै आमा हुन जसले आफु विहे नै नगरी यतिखेर ९ छोराछोरीकी आमा बनेर उनीहरुलाई हुर्काईरहेकी छिन् । गोमा र लक्ष्मी जस्तै अर्की आमा लक्ष्मी घिमीरेको कथाभने अलि फरक छ । विहेको अर्थ नै नबुझ्ने १३ वर्षे केटाकेटी उमेरमा गाउँमा विहे गरेको एक वर्षमै पति गुमाएर शहर छिरेपछि  उनी अहिले ८ छोराछोरीकी आमाबनेकी छिन् । यसअघि उनले १७जना छोराछोरीलाई हुर्काई, बढाई र पढाईसकेकी छिन् । 

उता अर्काे घरकी आमा सीता गिरी त्यस्ती आमा हुन, जसले समाजमा आफ्नै कोखबाट जन्मेका दुई छोराछोरीको साथै आफ्नो नयाँकर्म घरका ९ जना छोराछोरीको रेखदेख र स्याहारसुसार गरिरहेकी छिन् । 

गोमा गुरुङ्ग, लक्ष्मी लिम्बु, लक्ष्मी घिमीरे र सीता गिरी मात्रै होइन यतिखेर एसओएस वालग्राम सानोठिमीका १६ वटा घरका १६ जनाआमा र ८ जना काकी त्यहाँ आश्रीत १६० छोराछोरी स्याहार्न खटिईराखेका छन । उनीहरुजस्तै मुलुकभरीका १० वटा एसओएस वालग्रामका१ हजार २ सय छोराछोरीलाई स्याहार्न, रेखदेख गर्दै उनीहरुलाई सवल र सक्षम बनाउन १२८ जना आमा र ७५ जना काकी अहोरात्र  खटिईराखेका छन् । यसबाहेक वालग्रामबाट विद्यालय शिक्षा सकीडेरामा बसेर पढीरहेका अरु ६०० छोराछोरी पनि तिनै आमाको प्रत्यक्ष निगरानीमा छन् ।

भलै कुशल आमाको जिम्मेवारी निर्वाह गरेवापत वालग्रामले उनीहरुलाई विभिन्न सेवा सुविधा र पारिश्रमिक दिन्छ । त्यो भन्दा बढी ति आमाहरुले आफ्नो जीवनको उत्पादनशिल उमेर र वैशाँलु समय तिनै छोराछोरीका लागि भनेर त्याग गर्दै आएका छन् ,जुन निश्वार्थ र अतुलनीय छ ।

प्राकृतिक प्रकोप लगायत विभिन्न कारणले आफुलाई जन्मदिने बाबुआमा गुमाएका तिनै साना केटाकेटीलाई आमाको माया दिएर स्याहार सुसार गर्ने, हेरचाह र रेखदेख गर्दै दिनरात नभनी उनीहरुको शिक्षा,स्वास्थ्य, पढाईलेखाईमा चासो दिने ती आमाहरुप्रति मातातिर्थ औंशीको अवसरमा नमन छ ।

विभिन्न जाति, धर्म, समुदाय, परिवार र रहन सहनबाट आएका१० जना त्यस्ता केटाकेटीलाई वालग्रामको एउटा घरमासंगै राखेर उनीहरुको मनोविज्ञान बुझ्दै समान व्यवहारका साथ मिलाएर एकैठाउँमा राखेर हुर्काउन, बढाउन र पढाउन सक्नु वालग्रामकी आमाको मुख्य विशेषता हो ।

विगत ४२ वर्षदेखि यस्ता वालवालिकाको लागि काम गर्दै आएको विश्वव्यापी संस्था एसओएस वालग्रामको पहिलो घर एसओएस वालग्राम सानोठिमी र त्यसपछि क्रमशः स्थापना भएका वालग्रामहरु जोरपाटी,  इटहरी, रामबजार र छोरेपाटन पोखरा, सुर्खेत, चितवन, लुम्विनी, काभ्रे र कैलालीमा गरि १० वटा वालग्राममा आश्रीत १ हजार २०० वालवालिकालाई तिनै आमाले रेखदेख गर्दै आएका छन् ।

‘छोराछोरी र आमा सहितको परिवारहरु’ नै एसओएस वालग्रामको सिद्धान्त हो । संसारका १ सय ३४ मुलुकमा यसै सिद्धान्तमा रही एसओएस वालग्राम स्थापना भएको हो । वालग्राममा आमा पहिलो जिम्मेवार अभिभावक हुन । आमाको अनुपस्थितिमा काकीले आमाको भूमिका निभाउँछिन् । आमा, काकी र परिवारका छोराछोरीको सम्पूर्ण आर्थिक पाटो भने सम्वन्धित वालग्रामले हेर्छ ।

त्यसो त एसओएस वालग्राममा आमा या काकी बन्न त्यति सजिलो छैन । कम्तिमा १० कक्षासम्म पढेका, अविवाहित, पति गुमाएका, एकल या परित्यक्त महिलालाई छनौट गरि उनीहरुलाई २ वर्षसम्म सैद्धान्तिक र व्यवहारिक तालीम दिएपछि मात्रै शुरुमा काकी (प्रशिक्षार्थी आमा) र उनीहरुले छोराछोरी हुर्काउन सक्ने खुवीका आधारमा आमा नियुक्त गरिने प्रावधान रहेको एसओएस वालग्राम सानोठिमीका बाबा (निर्देशक) खगेन्द्रकुमार नेपाल बताउनुहुन्छ । केटाकेटी हुर्काउन सक्ने खुवी, वालमनोविज्ञान, सहनशिलता लगायतलाई मध्यनजर गरी आमाको नियुक्ति गरिने व्यवस्था छ ।

छोराछोरी हुर्काउँदै ६० वर्ष उमेर पुगेका या आमा भएर सेवा गरेको ३० वर्ष पुरा भएर सेवानिवृत्त भएका ती आमालाई वाँचुञ्जेलसम्म बस्नका लागि एसओएस वालग्रामले अलग्गै घर बनाइदिएको छ, जसलाई सेवानिवृत्त आमाको घर अर्थात रिटायर्ड मदर्स हाउस भनिन्छ । नेपालको पहिलो एसओएस वालग्राम सानोठिमीको स्थापनाको ४२ वर्ष अवधिमा त्यस्ता सयौं छोराछोरी हुर्काएर सेवानिवृत्त भएका १६ जना आमाहरु त्यस घरमा बसिराखेका छन भने सेवानिवृत्त भएपछि केहीआमाहरु आफ्नो आफ्नो पुख्र्यौली घरमा फर्केका छन् । अन्य वालग्रामबाट समेत सेवानिवृत्त भएका ५२ जना आमालाई वालग्रामले बाँचुञ्जेल आवास, सम्पूर्ण औषधिउपचार खर्च र पेन्सनको व्यवस्थागर्दै आएको छ । आमाहरुले आफ्नो जीवनभरी छोराछोरीलाई गरेको माया,रेखदेख, हेरचाह र निभाएको जिम्मेवारीलाई पैसामा तुलना गर्न नसकिने एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्ग बताउनुहुन्छ ।

दोस्रो विश्वयुद्धमा आमाबाबु गुमाएका सयौं वालवालिकाको उद्धार गर्दै अष्ट्रियाका प्रा.डा.हर्मन माइनरले एसओएस वालग्रामको अवधारणा अघि सारेका थिए, जुन अहिलेसम्म सार्थक रहेको छ । हाल संसारभरी हजारौं यस्ता वालवालिकाले आफ्नो आफ्नो दोस्रो घर (एसओएस वालग्राम) मा गुणस्तरीय स्याहार, सम्मान र शिक्षादिक्षा पाईरहेका छन् ।

SOS=Save Our Soul, CV=Children Village,

SOS FounderPro.Dr.Hermann Gmeiner-Austria



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply