Ticker

6/recent/ticker-posts

प्रेस युनियनले भव्य रूपमा मनायो वार्षिकोत्सव

लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनले आफ्नो रजत महोत्सवको समापन सहित २६औं बार्षिकोत्सव भव्यरुपमा मनाएको छ । श्रमजिवी पत्रकारका पेशागत तथा भौतिक सुरक्षा लगायतका हक, हितका लागि क्रियाशिल हुदै आएको युनियनले यो वर्ष पनि यिनै मुद्दाहरुलाई प्राथमिकतामा राख्दै कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनको रजतमहोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दे महामन्त्री कोइरालाले दोस्रोचरणको स्थानीय तह निर्वाचन, संविधान संशोधन तथा संसदको गतिरोध अन्त हुने विश्वास व्यक्त गर्नुभयो । 
नेपाली काँगे्रस केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले नेपाली काँग्रेसको नेतृत्वमा सहमतीय सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान लेखनमा सहयात्री दल नेकपा एमालेलाई सरकारमा आवद्ध गराउनुपर्ने बताउँदै प्रेसलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । 
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले लोकतन्त्रको स्तर परीक्षण गर्ने मुख्यकडी त्यसदेशको प्रेस कति जिम्मेवार छ भन्ने विषय हो भन्दै त्यसको परीक्षण गरिने बताउनुभयो ।  उहाँले नेपाली काँग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जानकारी दिँदै नेपालको राजनीति परिवर्तनमा नेपाली प्रेसको मुख्य भूमिका रहेको चर्चा गर्नुभयो । 
सांसद रामहरि खतिवडाले सत्तामा जानु पूर्व प्रेसलाई उपयोग गर्ने र सत्ताप्राप्त पश्चात नेपाली प्रेसको विकासमा बेवस्था गर्ने संस्कारले पत्रकारिता पेसामा युवाको अरुची बढ्दै गएको धारणा राख्नुभयो । सूचना आयोगका आयुक्त किरण पोख्रेलले अनुसन्धानमूलक नीतिगत भ्रष्टचारका सत्य तथ्य प्रमाणित समाचार सम्प्रेषण गर्ने पत्रकारको खडेरी पर्दे गएको सङ्केत गर्नुभयो । 
नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले उत्तेजना, आवेग र भावनामा नभइ सत्यतथ्यमा आधारित भई कलम चलाउनुपर्ने बताउनुभयो । युनियनका अध्यक्ष बद्री सिङ्देलले प्रेस युनियन श्रमजीवी पत्रकारको मुद्दामा अडकिरहेको बताउँदै युनियन मर्यादित, व्यावसायिक र जिम्मेवार पत्रकारको संस्था रहेको उल्लेख गर्नुभयो । 
नेपाल प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । २०४८ साल जेठ १३ गते स्थापना भएको युनियनको ७३ जिल्लामा शाखा छन् भने १३ हजार पत्रकार युनियनमा आबद्ध छन् । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ ९आइएफजे० को सदस्यता लिने नेपालको पहिलो पत्रकारको संस्था हो । 
नेपाल प्रेस युनियनको २६ औँ स्थापना दिवसमा आयोजित रजतमहोत्सव समापन समारोहलाई युनियनका संस्थापक सदस्य रमेश तूफान, वरिष्ठ पत्रकार हरिहर विरही ऋषि धमला, शिव लम्साललगायतका व्यक्तिले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो ।

Post a Comment

0 Comments