Ticker

6/recent/ticker-posts

फेरी सर्यो निर्वाचनको मिति........

काठमाडौ, जेठ ।
सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले ओपचारिक रुपमा मिति सार्ने निर्णय गर्नेछ । प्रधानमन्त्रीको सरकारी निवाश  बालुवाटार स्रोतले मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै असार १४ गते चुनाव सार्ने निर्णय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिति सार्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार परामर्श गरेका थिए । ‘मुस्लिम समुदायको चाडका कारण निर्वाचन केही दिनलाई सार्ने निर्णय भएको छ ।’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने ।
जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार ९ मा सारेको थियो । मुस्लिम समुदायका केही अगुवाहरूले मंगलबार प्रधानमन्त्री दाहाललाई भेटी रमजान पर्व १३ गते सकिने भएकाले त्यसपछि चुनाव राख्न आग्रह गरेका थिए । उक्त भेटघाटमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँगको परामर्शमा आवश्यक निर्णय लिइने बताएका थिए ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले रमजानलाई मध्यनजर गर्दै सरकारले दोस्रो चरणको मिति केही दिन पर सार्ने विषयमा आयोगसँग परामर्श लिएको बताए । प्रधानमन्त्रीले मागेको परामर्शमा सकारात्मक परामर्श दिइएको जानकारी आयोगले विज्ञप्तिमार्फत दिएको छ ।
बालुवाटारमा भएको प्रधानमन्त्री–आयोग पदाधिकारी भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिसमेत उपस्थित थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका अन्य आयुक्तहरू सहभागी थिए ।
७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर १, २, ५ र ७ का ४६१ गाउँपालिका–नगरपालिकामा निर्वाचन बाँकी छ । प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा पहिलो चरणमा वैशाख ३१ मा निर्वाचन सम्पन्न भएर भरतपुर महानगरपालिकाबाहेक सबैको परिणाम आइसकेको छ ।

Post a Comment

0 Comments